बेइजिङ, ७ असार । चीनको तनावग्रस्त क्षेत्र सिन्जयाङमा शनिबार केही व्यक्तिले एक प्रहरी कार्यालयमा विस्फोट गराएपछि प्रहरीले चलाएको गोलीका कारण १३ व्यक्तिको मृत्यु भएको जानकारी क्षेत्रीय अधिकारीहरूले दिएका छन् ।
चीनको सुदूर पश्चिमी स्रोतसम्पन्न व्यापक क्षेत्रमा मुसलमान उइघुर आदिवासी अल्पसङ्ख्यक बसोबास गर्छन् र त्यहाँ हाल हिंसात्मक आक्रमणका शृङ्खला देखा परेको छ ।
तियानसन क्षेत्रको सरकारी वेबसाइटमा आज उग्रवादीहरूले सिन्जियाङको कस्गर प्रशासकीय क्षेत्रको कारगिलिकमा सार्वजनिक सुरक्षा भवनमा एक कार दुर्घटना गराएको र प्रहरीले निर्णायक कारवाही गर्दा १३ उग्रवादीको मृत्यु भएको उल्लेख गरिएको छ ।
यस घटनामा तीन प्रहरी घाइते भएका तर कसैको पनि ज्यान नगएको समाचारमा उल्लेख गरिएको छ । यस विषयमा विस्तृत विवरण दिइएको छैन । समाचारमा आक्रमणकारीले एक वा एकभन्दा बढी विस्फोटक पदार्थ प्रयोग गरे वा गरेनन् भन्ने उल्लेख गरिएको छैन ।
सरकारले त्यहाँ एक वर्षअघिदेखि देखिएको आतङ्कवादलाई नियन्त्रण गरिने दृढता व्यक्त गरेको छ । हालका केही सातामा त्यहाँ उच्च तहमा आक्रमण भइरहेको छ ।
अधिकारीहरूले मे महिनामाको अन्त्यतिर सयौँ आपराधिक व्यक्तिलाई पक्राउ गरिएको वा उनीहरूमाथि कारवाही गरिएको बताएका छन् । पचपन्न व्यक्तिमाथि न्यायिक निर्णय भएका बताइएको छ ।
यस साता चीनमा आतङ्कवादी आक्रमणमा दोषी ठानिएका १३ व्यक्तिलाई मत्युदण्ड दिइएको छ । यसैगरी बेइजिङको तियाननमेन चोकमा कार दुर्घटना गराउने अन्य तीनलाई पनि मृत्युदण्डको निर्णय सुनाइएको छ । रासस–एएफपी














प्रतिक्रिया