२८ आश्विन २०८३, बुधबार

इराकमा ४० भारतीय नागरिकको अवस्था अज्ञात

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indiaनयाँ दिल्ली, ४ असार । भारतका ४० जना नागरिकलाई इराकी द्वन्द्वग्रस्त सहर मोसुलबाट अपहरण गरिएको छ ।

इराकी उत्तरी सहर मोसुललाई आफ्नो नियन्त्रणमा लिने क्रममा ती नागरिकलाई अपहरण गरिएको हो । उनीहरुको अवस्था बुधबारसम्म पनि अज्ञात नै रहेको जनाइएको छ ।

मोसुलबाट अपहरित ती व्यक्ति इराकको निर्माण क्षेत्रमा कार्यरत मजदुर हुन् ।समाचारको पुष्टिगर्दै भारतीय विदेश मन्त्रालयले उनीहरुको खोजीका लागि कूटनीतिक प्रयास जारी राखिएको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले दिएको जानकारीअनुसार ती कामदारलाई हाल मोसुल सहर कब्जा गरेका इराकी विद्रोहीहरुले अपहरण गरेका हुन् ।

हाम्रा कयौं कूटनीतिक प्रयासका बाबजुद पनि हामी उनीहरुलाई सम्पर्कमा ल्याउन सकिरहेका छैनौँ र उनीहरुको अवस्था पनि अज्ञात नै रहेको छ– विदेश मन्त्रालयका प्रवक्ता सयीद अकबरुद्दिनले बताए ।

उनले ती व्यक्ति किन र कसले अपहरण गरेको हो भन्ने बारेमा पनि केही बताउन सक्ने अवस्था नरहेको पनि बताए ।

भारतले आफ्नो विदेश मन्त्रालयमा ती व्यक्तिको सूचना पाएमा खबर गर्नभन्दै एक कार्यालय स्थापना गरेको छ । तर बुधबार बिहानसम्म त्यस बारेमा कुनै सूचना नआएको बताइएको छ ।

त्यसैगरी इराकमा जारी रहेको द्वन्द्वको अवस्थाको अध्ययनका साथै अपहरित आफ्ना कामदारको बारेमा सूचना प्राप्त गर्नका लागि भन्दै भारतीय विदेश मन्त्रालयले एकजना दूत इराक पठाएको छ ।

इराकी राजधानी बग्दाददेखि ४०० किलोमिटर उत्तरमा पर्ने मोसुल सशस्त्र आतङ्ककारी समूहले नियन्त्रणमा लिएका छन् । त्यसपछि पनि अन्य दुई सहर उनीहरुको नियन्त्रणमा गइसकेका छन् ।

मोसुलमा प्रान्तीय राजधानी निनवेहका सुन्नी समूदायसँग आबद्ध आतङ्ककारीको बलियो प्रभाव रहेको बताइन्छ । सो सहरमा विगतमा पनि समय समयमा सुरक्षाकर्मी र विद्रोहीबीच झडप हुने गर्दथ्यो ।

इराकमा विद्रोह गरिरहेको इस्लामिक स्टेट अफ इराक एण्ड लिभेन्ट (आइएसआइएल) नामको जिहादी समूहले विगतदेखि त्यहाँ हत्या हिंसा मच्चाउँदै आएको छ ।
त्यसैगरी अर्काे एक समाचारअनुसार अमेरिकाले इराकमा सेना पठाउने भएको छ । उसले मङ्गलबार मात्र सो निर्णय गरेको हो ।

ती जिहादीहरुले केही समयमै इराकी राजधानी बग्दाद पनि कब्जा गर्ने जनाएका छन् । उनीहरुको सो योजना सम्भव नरहेको सरकारले जनाएको छ । एएफपी