काठमाडौँ, १ असार । सरकारले नेपाल टेलिकमको सेवालाई थप प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदारी भित्र्याउने काम अगाडि बढाएको छ ।
यसका लागि सूचना तथा सञ्चार मन्त्रालयले टेलिकमको ३० प्रतिशत स्वामित्व रणनीतिक साझेदारीलाई दिने तयारी गरेको सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।
व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा सांसदहरुद्वारा सोधिएको जिज्ञासामा मन्त्री डा रिजालले भन्नुभयो, ‘रणनीतिक साझेदारीका लागि हामी प्रस्ताव आह्वानको तयारी गरिराखेका छौँ, आएका प्रस्ताव अध्ययन गर्छांै र उत्कृष्ट प्रस्तावसँग सम्झौता गर्छांै ।’
टेलिकममा रणनीतिक साझेदारी दिने युगको माग हो, यसले टेलिकमको सेवालाई चुस्त बनाउन सहयोग पु¥याउँछ उहाँले भन्नुभयो । मन्त्री डा रिजालले नेपाल टेलिकमबिनाको दूरसञ्चार सेवा कल्पना गर्नसम्म पनि नसकिने चर्चा गर्दै यसको सेवालाई गुणस्तरीय र चुस्त बनाउन पहिलो प्राथमिकता दिएको जानकारी दिनुभयो ।














प्रतिक्रिया