इस्लामावाद, ३१ जेठ । उत्तरपश्चिमी पाकिस्तानमा शनिबार बिहान भूकम्प गएको समाचार छ । स्थानीय सञ्चारमाध्यमहरुले सो समाचार सम्प्रेषण गरिरहेका छन् ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र खैबर पाक्थुन्कामा सो भूकम्प गएको हो । भूकम्प ६ रेक्टर स्केलको रहेको छ ।
पाकिस्तानको मेट्रोलोजिकल डिपार्टमेन्टले दिएको जानकारीअनुसार अफगानिस्तानको सीमा क्षेत्रसँग जोडिएको सो क्षेत्रमा शनिबार बिहान ९ बजे सो भूकम्प गएको हो ।
स्थानीय सञ्चारमाध्यमहरुले सो भूकम्पको धक्का पाकिस्तानका पेसावर, स्वात, मालाकान्दा र बाजुरलगायतका क्षेत्रमा महसुश गरिएको बताएका छन् ।
पाकिस्तान विश्वमै भूकम्पको जोखिम भएको देशमा पर्दछ । सन् २००५ मा पाकिस्तानमा गएको भूकम्पमा परी करिब ८० हजार नागरिकको ज्यान गएको थियो । रासस/सिन्ह्वा














प्रतिक्रिया