मोसुल (इराक), २८ जेठ । इराकको दास्रो ठूलो सहर मोसुललाई इराकी सशस्त्र विद्रोही समूहले मङ्गलबार नियन्त्रणमा लिएपछि त्यहाँ बसोवास गरिआएका बासिन्दा भाग्न थालेको खबर छ ।
सो सहरलाई हतियारधारीहरुले नियन्त्रणमा लिएका थिए । इराकी सरकारले पनि सो सहरको अधिकांश भूभाग विद्रोहीको नियन्त्रणमा गएको भन्दै त्यहाँ थप हिंसाको खतरा रहेको बताएको छ ।
गत शुक्रबारदेखि मोसुल सहरमा सुरक्षाकर्मी र आतङ्ककारीबीच झडप भएको थियो । सो झडपकै क्रममा मङ्गलबार उक्त सहर विद्रोहीले आफ्नो नियन्त्रणमा लिएको थियो ।
सयौंको सङ्ख्यामा रहेका हतियारधारीले रकेट, ग्रिनेडलगायत प्रयोग गरेको बताइएको छ । उनीहरुले प्रान्तीय सरकारको प्रमुख कार्यालयलाई मङ्गलबार बिहानै कब्जा गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
बुधबार प्राप्त समाचारअनुसार सो क्षेत्रबाट पाँच लाखको सङ्ख्याका स्थानीय नागरिक भागेर अन्यत्रै गएका छन् । उक्त स्थानमा थप हिंसा हुने अशङ्कामा उनीहरु भागेको बताइएको छ ।
इराकी राजधानी बग्दाददेखि ४०० किलोमिटर उत्तरमा पर्ने मोसुल सशस्त्र आतङ्ककारी समूहले नियन्त्रणमा लिएको भन्दै इराकी प्रधानमन्त्रीले इराकमा सङ्कटकालीन अवस्थाको घोषणा गर्नुपर्ने माग गर्नुभएको छ ।
उहाँले सो सहरमा भएको विद्रोहीको कब्जासँगै देशमा अन्यत्र पनि हिंसा मच्चिन सक्ने भन्दै आपतकालीन अवस्थको घोषणाका लागि माग गर्नुभएको हो ।
उहाँको सो प्रस्ताव इराकी संसदमा रहेको छ । त्यस विषयमा कुनै निर्णय नभएको सरकारले जनाएको छ । प्रहरी स्रोतले सो सहरलाई उनीहरुले कब्जामा लिएर मङ्गलबारदेखि नै उनीहरुको सशस्त्र समूहका सदस्यको सङ्ख्या बढाइरहेको जनाएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन समूहका अधिकारीहरुले बुधबार पनि सो सहरबाट इराकी नागरिक भाग्ने क्रम जारी रहेको भन्दै यसका कारण अर्काे समस्या आउनसक्ने बताएका छन् ।
सो सहरबाट निस्किएका नागरिकहरु इराककै अर्काे कुनै सहरमा रहेका छन् वा शरणार्थीका रुपमा बाहिरिएका छन् भन्ने बारेमा भने सो संगठनले केही बताएको छैन ।
मोसुलमा प्रान्तीय राजधानी निनवेहका सुन्नी समूदायसँग आबद्ध आतङ्ककारीको बलियो प्रभाब रहेको बताइन्छ । सो सहरमा विगतमा पनि समय समयमा सुरक्षाकर्मी र विद्रोहीबीच झडप हुने गर्दथ्यो । रासस / सिन्ह्वा














प्रतिक्रिया