धनगढी, २८ जेठ । कैलाली जिल्लाका दुई ठूला खानेपानी आयोजना चुनाको समस्याका कारण बन्द भएका छन् ।
आव २०५०\०५१ मा निर्माण भएको श्रीपुर गाविसको लालपुर खानेपानी आयोजना र बलिया गाविसको बलिया खानेपानी आयोजनामा चुनाको समस्या बढी देखिएपछि बन्द भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ ।
लालपुर क्षेत्रका तीन हजार ३०० घर धुरीलाई ७० धारामार्फत खानेपानी वितरण गर्ने लक्ष्यका साथ करिब रु ७१ लाखको लागतमा निर्माण गरिएको लालपुर खानेपानी आयोजनाको पानी वितरणमा प्रयोग भएको पाइपमा चुना जमेपछि सो आयोजना बन्द भएको कार्यालयका इन्जिनियर काशीनाथ भट्टले बताए ।
“सत्तरी धारामा पानी दिने लक्ष्य रहेकोमा चुना पाइपमा जमेपछि आठ दश वटा धाराबाहेक अरु धारामा पानी आउन बन्द भएको छ” भट्टले भने “यसको विकल्पका रुपमा नजिकैको पट्रेनी खोलाको पानी शुद्ध पारी केही घरधुरीमा वितरण भइरहेको छ ।”
यसैगरी आव २०५०/०५१ मा नै झण्डै ७५ लाखको लागतमा निर्माण भएको बलिया खानेपानी आयोजनाअन्तर्गत झन्डै ६५ वटा खानेपानीका धारा जडान भएकोमा पाइपमा चुना जमेको कारणवितरीत धारामध्ये अहिले तीन/चार धाराबाहेक सबै धारामा पानी आउन बन्द भएको छ ।
यो आयोजना बन्द भएपछि आ व०५९\०६० मा सञ्चालनमा आएको अर्को साना सहरी खानेपानी आयोजनाको निर्माण कार्य पछि अहिले बलिया क्षेत्रमा खानेपानीका करिब १५० धारा वितरण गरिएको छ ।
यो आयोजनाअन्तर्गत वितरीत सबै धारामा पानी आइरहेको भए पनि यसमा पनि चुनाको समस्या देखिएको इन्जिनियर भट्टले बताए । करिब सात करोडको लागतमा यो आयोजना निर्माण भएको बताइएको छ ।
कैलालीको चुरे क्षेत्रमा खानेपानीको स्रोत भएको खानेपानीमा चुनाको समस्या बढी देखिने गरेको छ । कम मात्राको चुनाले मानव स्वास्थ्यमा त्यति ठूलो असर नपुराउने भए पनि बढी चुनाको उपभोगले असर पुराउने बताइन्छ ।
जिल्लाको कुल जनसङ्ख्यामध्ये ८५ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा पुगेकोमा शुद्ध खानेपानी भने झन्डै ४८ प्रतिशत जनसङ्ख्याले मात्र उपभोग गर्न पाएको बताइएको छ ।













प्रतिक्रिया