काठमाडौं, २६ जेठ । संविधानसभा बहिस्कार गर्दै आएको नेकपा–माओवादी र प्रमुख तीन दलबीच संविधान लेखनमा सहकार्य गर्ने सहमति भएको छ ।
सत्तारुढ दलसँग बार्तामा बस्न पटक पटक अस्वीकार गर्दै आएको नेकपा–माओवादी र कांग्रेस, एमाले तथा एमाओवादीबीच आज पहिलो पटक बैठक भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा नेकपा–माओवादीले गोलमेच सम्मेलनको आयोजना र राष्ट्रिय राजनीतिक सभाको प्रस्ताव गरिएको प्रबक्ता पम्फा भुसालले जानकारी दिइन ।
‘हामीले वर्तमान राजनीतिक समस्याको निकासका लागि गोलमेच सम्मेलन र संविधान निर्माणका लागि राष्ट्रिय राजनीतिक सभाको प्रस्ताव गरेका छौं’, उनले भनिन्, ‘अन्य दलले पनि हाम्रो प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् ।’
नेकपा–माओवादीले राखेका प्रस्तावमा चारै पार्टीले आन्तरिक परामर्श गरेर पछि अर्को बैठकमा पुनः छलफल गर्ने सहमति भएको छ ।
यसअघि प्रधानमन्त्री सुशील कोइरालाले नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यसँग गोलमेच सम्मेलनका लागि लचिलो बन्ने संकेत गरेका थिए ।
बैठक पछि एमाले सचिव विष्णु पौडेलले नेकपा–माओवादीले राखेका प्रस्ताव सकारात्मक रहेको बताए । उनले छलफलकै प्रक्रियाबाट नेकपा–माओवादीलाई पनि संविधान लेखनमा सहभागी गराउन सकिने गरी वार्ता सकारात्मक रुपमा अघि बढेको प्रतिक्रिया दिए ।













प्रतिक्रिया