लक्ष्मी काफ्ले
विर्तामोड, २६ जेठ । विश्वकप फुटबल सुरु हुन अब धेरै दिन मात्र बाँकी छैन । ब्राजिलमा बिहीबारबाट सुरु हुने यसपटकको फुटबल विश्वकपको उपाधि कसले उचाल्ने हो भन्नेमा अनुमान गर्न दर्शकलाई त्यति सहज छैन । यद्यपि धेरैवटा देशका समर्थक नेपालमा छन् । उनीहरु आफूले समर्थन गरेको टोलीले विश्वकपको उपाधि उचाल्ने कुरामा विश्वस्त छन् ।
ब्राजिलमा हुने यसपटकको विश्वकप फटबल सुरु हुन तीन दिन मात्र बाँकी छँदा नेपालमा पनि यसको ज्वरोले छपक्कै छोपेको छ । फुटबलप्रेमी युवा–युवतीहरु आफूले समर्थन गरेको राष्ट्रको जर्सी लगाएर हिँड्डुल गर्न थालिसकेका छन् । हाम्रो देशका अधिकांश फुटबल प्रेमी युवा जमातले विश्वकपमा तहल्का मच्चाइसकेका राष्ट्रहरुलाई नै समर्थन गर्ने गरेको पाइएको छ । खासगरी युवा जमातले फुटबलमा सनसनी मच्चाएका अर्जेन्टिना, ब्राजिल, जर्मनी, स्पेन, इङ्ल्याण्डलगायतका राष्ट्रहरु मन पराउँछन् । त्यसमा पनि अर्जेन्टिना, ब्राजिल र स्पेनका समर्थक बढी छन् ।
नेपालीहरु फुटबल विश्वकप हेर्न लालायित छन् । नेपाली समयअनुसार राति पौने दुई बजेबाट सुरु हुने खेल हेर्न विशेषतः युवाहरु उत्साहित छन् ।
विश्वकप सुरु हुन केही दिन मात्र बाँकी रहेको अवस्थामा आयोजक राष्ट्र ब्राजिलमा धमाधम मैत्रिपूर्ण खेल हुँदैछन् । फुटबलको महाकुम्भ मानिने विश्वकप फुटबल प्रतियोगितामा कुनै देश लगातार रुपमा छनौट भई सहभागि हुँदैछन् भने कुनै देश वर्षौपछि मात्र छनौट भएर विश्वकपमा सहभागी हुन पाएका छन् । बेल्जियमले वर्षौपछि विश्वकपमा फर्किएर पनि विश्वकपको उपाधि उचाल्ने दावी गरेको छ ।
विश्वकप हेर्नका लागि खासगरी टोल–टोलका युवाहरु मिलेर प्रोजेक्टर जडान गर्न लागिपरेका छन् । ग्रामीण भेगतर्फ भने स्थानीय क्लवहरुले प्रोजेक्टरमार्फत खेल हेर्ने व्यवस्था गरिदिएको बुझिएको छ ।
‘विश्वकपमा बाजी नराखौं’
बिर्तामोडका समाजसेवी जलकुमार गुरुङ फुटबल भनेपछि मरिहत्ते गर्छन् । झापाका विभिन्न स्थालमा आयोजना भइरहने फुटबल प्रतियोगितामा उनी पुगेकै हुन्छन् । अन्य जिल्लाको तुलनामा झापामा फुटबल खेलको आयोजना बढी हुने गर्छ ।
झापा जिल्ला फुटबल संघका अध्यक्षसमेत रहेका गुरुङ विश्वकप हेर्नका लागि तम्तयार छन् । गुरुङ विश्वकप मात्र होइन झापाका गाउँ–गाउँमा हुने फुटबल हेर्न तुरुन्तै पुगिहाल्छन् । ‘चार वर्षपछि आएको विश्वकपले संसारलाई नै फुटबलमय बनायो,’ गुरुङ भन्छन्– ‘कहाँ बसेर अनि कसरी फुटबल हेर्ने भनेर सबैले प्लान पनि बनाइसके ।’ विश्वकपले रमाइलो सँगसँगै विकृति पनि ल्याउन सक्ने हुँदा सचेत रहन गुरुङले आग्रहसमेत गरेका छन् । भन्छन– ‘विश्वकप हेर्दा बाजी राख्ने बानी राम्रो होईन । बाजीले आफ्नो ज्यान मात्र होइन, घरपरिवार पनि गुम्न सक्छ । विश्व नै फुटबलमय भइरहेका बेला सबैले सचेत हुन जरुरी छ । ’
आफूले तत्काल कुनै पनि टोलीलाई समर्थन नगरेको अध्यक्ष गुरुङले बताए । विश्वकपमा प्रदर्शनका आधारमा टोलीको समर्थन गर्ने उनको योजना छ ।
प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप फुटबल यसपटक ब्राजिलमा आयोजना भएकोमा उनी खुशी छन् । ब्राजिलले आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले भने– ‘यसपटकको फुटबल विश्वकप फुटबलकै राजधानी (ब्राजिल) मा हुँदैछ । विश्वकप फुटबल अन्य देशमा आयोजना हुनु र ब्राजिलमा आयोजना हुनुमा आकाश–जमिनको फरक छ ।’
झापामा विश्वकपमा आफ्नो प्रिय टिमका पक्षमा बाजी राख्ने प्रतिस्पर्धा नै चलेको छ ।














प्रतिक्रिया