गोलबजार (सिरहा), २५ जेठ । मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)ले विभिन्न मधेसवादी नेताहरुसँग छलफल गरी पार्टीमा प्रवेश गराउने वातावरण बनाउने निर्णय गरेको छ । सिरहाको लहानमा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
सो पार्टीले मधेसवादी नेतालाई पार्टीमा भित्र्याउन केन्द्रिय सदस्य गजाधर यादवको संयोजकत्वमा सात सदस्य समितिसमेत गठन गरेको छ । समितिका सदस्यहरुमा केन्द्रीय नेताहरु मो मुस्ताक, सूर्यनारायण यादव, वैजनाथ यादव, दीपेन्द्र यादव, नेत्रविक्रम साह र शङ्करप्रसाद चौधरी छन् ।
बैठकबाट केन्द्रीय नेताहरुले कम्तीमा ५० जनाको दरले अनिवार्य रुपमा पार्टीको सदस्यता प्रदान गर्नसमेत निर्णय भएको केन्द्रीय सदस्य खेमनारायण यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीलाई मजबुत बनाउन केन्द्रीय नेताहरुलाई कडा परिश्रम गर्नसमेत निर्देशन भएको छ ।”
यस्तै पार्टीले युवा फोरम गणतान्त्रिक र विद्यार्थी फोरम गणतान्त्रिकको केन्द्रीय समितिलाई भङ्ग गरी केन्द्रीय सदस्य खेमनारायण यादवलाई युवा फोरम गणतान्त्रिकको संयोजक र दीपेन्द्र यादवलाई विद्यार्थी फोरम गणतान्त्रिकको संयोजक पदमा नियुक्त गरेको छ ।
यस्तै फोरम गणतान्त्रिकले विधानको हित विपरीत कार्य गरेको भन्दै वरिष्ठ नेता राजलाल यादव, महासचिव शशि कपुर मियाँ, सल्लाहकारद्वय, हजारी साह र विष्णु यादव, केन्द्रीय सदस्यहरु अब्दुल सलाम, कुशेश्वर यादव, पवन महतो, राजेश गुप्ता, प्रथमलाल यादव, श्यामसुन्दर साह, रोशन झा, सुधीरनाथ पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ । राजलाल यसअघि नै पार्टी परित्याग गरी उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा प्रवेश गरी केन्द्रीय सदस्य भइसक्नुभएको छ भने अन्य नेताहरु विभिन्न पार्टीमा प्रवेश गरिसकेका छन् ।
बैठकले केन्द्रीय सदस्यमा श्यामनन्दन शर्मा (सुनसरी), भागवत यादव (सप्तरी), सरिता यादव (सिरहा), देवनन्दन राय यादव (महोत्तरी) र रवीन्द्रराय यादव (सर्लाही)लाई नियुक्त गरेको छ भने केन्द्रीय सल्लाहकारमा जामुन यादव (सुनसरी), रेणुकुमारी मण्डल (धनुषा) र रामपुकार साह (भक्तपुर)लाई नियुक्त गरेको छ ।














प्रतिक्रिया