२९ आश्विन २०८३, बिहिबार

एमालेमा वैचारिक रुपान्तरण बाँकी : खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalanath

काठमाडौँ, २५ जेठ । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले पार्टीमा संगठनात्मक सुधार भए पनि सोचे जति वैचारिक रुपान्तरण हुन नसकेको बताउनुभएको छ ।

एमालेका पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेद्वारा लिखित ‘नीति, नेतृत्व र नैतिकता’ शीर्षक पुस्तकको आइतबार लोकार्पण गर्दै अध्यक्ष खनालले नवौँ राष्ट्रिय महाधिवेशनले पार्टीलाई वैचारिक–राजनीतिक पुनर्गठन गर्दै एकता र सहमतिको सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “ पार्टीको आठौँ महाधिवेशनयता झन्डै एक लाखको हाराहारीमा पार्टी सदस्य बढेका छन् तर वैचारिक रुपान्तरणमा त्यति प्रगति हुन सकेको छैन, यसको कारण खोजेर अघि बढ्न आवश्यक छ ।” उहाँले अहिले पनि पार्टीले दक्षिणपन्थी र उग्रवादीसँग वैचारिक सङ्घर्ष गरिरहनुपरेको जनाउँदै समुन्नत पार्टी निर्माण नभएसम्म त्यो लडाइँमा विजय प्राप्त नहुने बताउनुभयो ।

पार्टीका पोलिटब्युरो सदस्य प्रदीपकुमार ज्ञवालीले पार्टीभित्र वैचारिक रक्षाको प्रश्न गम्भीर बन्दै गएको बताउँदै पुरानो पुस्ताले नेतृत्व हस्तान्तरण गर्न सक्नुपर्नेमा जोड दिनुभयो । अर्का पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङले पनि पार्टीमा अब नयाँ नेताको परीक्षण हुन आवश्यक रहेको बताउनुभयो ।

पुस्तकका लेखक न्यौपानले एकै व्यक्ति पटक पटक नेतृत्व र महत्वपूर्ण जिम्मेवारीमा बस्नु अनैतिक हुने धारणा राख्नुभयो । न्यौपानेले ४५ वर्षको राजनीतिक जीवनका अनुभवका क्रममा विभिन्न समयमा लेखिएका १४ रचनालाई समावेश गरी पुस्तक तयार गरेको एमालेका केन्द्रीय प्रचार विभाग सचिव सूर्य थापाले जानकारी दिनुभयो ।