२८ आश्विन २०८३, बुधबार

बेर्नामै फल्न थाल्यो सुन्तला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suntala-orange

खलंगा (बैतडी), २५ जेठ । बैतडीको मेलौलीमा एक कृषकले लगाएको सुन्तलाका स–साना बोटमै फल लाग्न थालेपछि उनी अचम्मित भएका छन् ।

मेलौली–२ का कृषक शंकर भट्टले लगाएको सुन्तलाको बेर्नाका स–साना बोटमै फूल फुल्ने र फल लाग्न थालेपछि उनी अचम्मित भएका हुन् ।

एक वर्षअघि उमारेका करिब दुई दर्जन बोटमध्ये केही बोटमा फूल फुलेका छन् भने कुनै बोटमा दानासमेत लागेका छन् । सुन्तलाका बोटहरुमा रिट्ठाका दाना जत्रै फल लागेपछि उनको खेतमा हेर्न आउनेहरुको सङ्ख्यासमेत बढेको छ ।

आफ्नो २० रोपनी जमिनमा सुन्तलाखेती गरेका भट्टले पहिलोचोटि बोटमा सुन्तला फलेको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख वीरबहादुर चन्दले कलमी गरेका बोटहरुमा कहिलेकाहिँ यस्तो हुने गरेको बताउनुभयो ।

पुराना रूखको हाँगामा कलमी गर्दा कहिलेकाहीँ सुन्तलाको दाना लाग्ने गरे पनि बीउबाट उमारेको बोटमा भने यसो नहुने उहाँले बताउनुभयो । बोटमा सुन्तला फल्न थालेपछि तुरुन्तै सार्नुपर्ने र फलेको सुन्तला टिपेर फाल्नुपर्ने चन्दले सल्लाह दिनुभयो ।

बीस रोपनी खेतमा साठी बोट सुन्तला र जुनार रहेको मेलौलीका कृषक भट्टले एक बोटमा एक हजारदेखि एक हजार ५०० सुन्तला फलाउने गरे पनि बजारको अभावमा त्यतिकै खेर जानेगरेको दुखेसो पोख्नुभयो ।