२८ आश्विन २०८३, बुधबार

समाचार विवादले पाकिस्तानको जियो च्यानल बन्द, करोडौं जरिवाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

GeoNews-Ban-Pakistan

इस्लामाबाद, २३ जेठ । पाकिस्तानमा मुलुकको सबैभन्दा लोकप्रिय टेलिभिजन च्यानल जियो न्युज तथा इस्लामाबादमा प्रमुख गुप्तचर संस्थाबीच एक प्रमुख पत्रकारलाई गोली हानिएको विषयमा विवादपछि यस च्यानलको प्रसारण शुक्रबार स्थगन भएको छ ।

सरकारी सञ्चार नियमक संस्थाले एक विज्ञप्ति प्रकाशन गरी यस संस्थाको अनुमतिपत्र १५ दिनका लागि स्थगन गरिएको र यसले एक करोड रूपैयाँ जरिवाना तिर्नुपर्ने जानकारी दिएको छ ।

पाकिस्तान विद्युतीय सञ्चार नियमक प्राधिकरणले सर्वसम्मतिले उक्त निर्णय गरेको देखिएको छ भने यसलाई पर्यवेक्षकहरूले यस च्यानलले सबैभन्दा शक्तिशाली सैनिक संस्थाका विषयमा आलोचनात्मक रूपमा सामग्री प्रसारण गरेको भनी अभिव्यक्तिको स्वतन्त्रतामा प्रहार भएको ठानेका छन् ।

पाकिस्तानका एक ख्यातिप्राप्त समाचार प्रस्तुतकर्ताको बन्दरगाहयुक्त नगर कराचीमा गोली प्रहार भएपछि जियो न्युजले पाकिस्तानको इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) को पनि विरोध गरेको थियो ।

पत्रकार हमिद मिरलाई तीन पटकसम्म गोली हानिएको थियो तर उनको ज्यान जोगिएको छ । उनका परिवारले आईएसआईका प्रमुख जनरल जाहिर–उल–इस्लामले उक्त हत्याको प्रयास गरेको आरोप लगाएका छन् ।

मिरका भाइ अमिर मिरले हमिदले आक्रमणअगाडि आफ्नो ज्यान चुनौतीमा रहेको र केही कुरा भएमा आईएसआईका प्रमुख जिम्मेवार हुने बताएको जानकारी दिए ।

जियोले इस्लामको चिह्न तथा मिरका परिवारले लगाएको आरोप सहित आठ घण्टा कार्यक्रम प्रसारण गरेको थियो । उक्त कार्यबाट सेना क्रुद्ध भएको थियो भने प्राधिकरणमा उक्त च्यानल बन्द गर्न निवेदन दिएको थियो ।

मिरले शक्तिशाली गुप्तचर संस्था तथा सेनाको तनावग्रस्त दक्षिणपूर्वी प्रान्त बुलुचिस्तानमा हजारौँ व्यक्तिको अपरहणमा भूमिका भएको आरोप लगाएका थिए ।

विवादपछि जियो न्युजका मालिक जङ्ग मेडिया ग्रुपका धेरै पत्रकारले आफूलाई चेतावनी आएको गुनासो गरेका छन् ।

उर्दु दैनिक जङ्ग समाचारपत्रका एक क्षेत्रीय सम्पादकलाई सोमबार आफ्नो कार्यालयबाट बाहिर निस्कँदा नराम्रोसँग कुटिएको थियो ।

जियोले मे महिनामा बिहानको समयमा गीत तथा नाचको कार्यक्रम प्रसारण गथ्र्यो र यसलाई धर्म गुरुहरूले धर्मको विपरीत ठानी धार्मिक समूह पनि यस संस्थाको विरोधमा रहेको देखिएको थियो ।

­यस समूहले यी दुवै विषयमा माफी मागेको छ र यसले आफूलाई बन्द हुनबाट जोगाएको छ । तर पनि यो संस्थाको प्रसारण स्थगन भएको छ ।

पानिस्तानमा सन् २००२ देखि निजी च्यानलहरूलाई अनुमति दिइएको छ र त्यहाँ आमसञ्चारको स्वरूपमा विस्तार हुनाका साथै आलोचनायुक्त समाचार प्रसारण हुन थालेका छन् ।

आमसञ्चार मुलुकको राजनीतिक दलका विषयमा समाचार दिन स्वतन्त्र भए पनि सबैभन्दा शक्तिशाली सैनिकको विषय संवेदनशील विषय ठानिन्छ । पाकिस्तानको इतिहासमा सेनाले करिब आधा समय शासन गरेको छ ।

सन् २०११ मा सलिम साहजादले पाकिस्तानी सेना तथा अल–कायदाबीच सम्बन्ध भएको लेखेपछि उनको शव राजधानी इस्लामाबादनजिकै फेला परेको थियो ।

अधिकारवादी समूहले पाकिस्तान पत्रकारका लागि विश्वमा सबैभन्दा डरलाग्दो मुलुक भएको ठानेका छन् ।

रिपोर्टर्स विथआउट बोर्डर्सले गत वर्ष पाकिस्तानमा सात पत्रकारले आफ्नो ज्यान गुमाएको जानकारी दिएको छ । रासस / एएफपी