२८ आश्विन २०८३, बुधबार

आक्रमणदेखि गाली र तालीसँग जुध्दै बद्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badri-Pangeni

ध्रुवराज अर्याल

लण्डन । दौरा सुरुवालमाथि कालो कोट अनि कालो जुत्ता । कालो भादगाउँले टोपी पनि । नेपाली पहिरनमा चिटिक्क सजिएका युवक मञ्चमा पुग्नेवित्तिकै सयौं दर्शकले खचाखच सिंगो हल नै तालीको गडगडाहटबाट गुञ्जियो । अनि सुरु भयो– अझै नि गणतन्त्र आ’को छैन है ! जनताले भने झै भाको छैन है…

गत दुई महिनाको अबधिमा बेलायतका विभिन्न शहरहरुमा यो दृश्य धेरैपटक दोहोरियो । लोकप्रिय गायक बद्री पंगेनीले २० भन्दा बढी छुट्टाछुट्टै कार्यक्रममा आफना हजारौं दर्शक श्रोताहरुमाझ यस्तै गीतहरु गाए । उनका गीतहरुमा सबै रमाए, उनी संगसंगै गाए अनी कम्मर मर्काए पनि ।

झण्डै १७ वर्ष लामो लोकदोहोरी गायनको करियरमा चार दर्जन बढी गीत गाइसके छन् बद्रीले । ससुरालीमा बोलको गीत हिट भएपछि उनले एकजना कुशल लोकदोहोरी गायकको पहिचान बनाएका थिए । त्यसक्रममा उनले गाएका अन्य गीतहरुले पनि दर्शक श्रोताका मन जितिरहे । तर, पछिल्लो समय उनले राजनीतिक चेतना र सामाजिक न्यायका आवाज बोकेका गीतहरु पनि गाए । जनवादी शैलीका यी प्रगतिशील गीतहरु पनि दर्शक श्रोताले उत्तिकै मन पराइदिए । त्यसपछि त अचेल बद्रीले अर्को थप चिनारी पनि पाए ‘जनताका गायक’ ।

जनताका गायक बद्रीलाई पनि जनताकै दुःख पीडाका गीत अनि सामाजिक शोषण तथा अन्यायविरुद्धकै गीतहरु गाउन बढी मन पर्दोरहेछ । भन्छन, ‘दोहोरी भन्दा सन्देशमुलक गीतहरु गाउँदा नै बढी आनन्द आउँछ, दर्शक श्रोताले पनि त्यही मन पराइदिएका छन् ।’

यसपटक बेलायतमा गरेका कार्यक्रमहरुमा पनि यस्तै गीतहरु नै उनको पहिलो रोजाइ बने । ‘अझै नि गणतन्त्र आ’को छैन है… भन्ने गीत त झन धेरै दर्शकले मन पराइदिए । तर, कतिपय ठाउँमा भने गणतन्त्रवादी गीत गाएको भनेर कसैले सामान्य विरोध पनि गरे । यही गीत गाएकै कारण विगतमा नेपाल तथा विदेशका विभिन्न ठाउँमा पनि उनलाई गालीगलौज र धम्की समेत आएको रहेछ । ‘कतिपटक त भौतिक आक्रमणको पनि प्रयास भयो, तर, जेसुकै भएपनि गाउन छोडिन ।,’ निकै दृढ भएर भने, ‘जबसम्म जनताले गणतन्त्रको अनुभुति गर्न पाउँदैनन, तबसम्म यो गीत गाइरहनेछु ।’

गत महिना बेलायतमा सम्पन्न महजोडीको महयात्रा काय्र्रक्रममा पनि गीत गाए बद्रीले । भिसाको समस्या भनेर गायिका अञ्जु पन्त नआएपछि खल्लो बन्न लागेको महयात्रालाई थप गुलियो बनाइदिए बद्रीका गीतहरुले । तर, आखिरीमा उनी आफैलाई भने त्यही महयात्रा एउटा तितो सम्झना बन्न पुग्यो । कार्यक्रम सम्पन्न भएपछि आयोजकले कलाकारलाई धन्यवाद दिन निकालेको वक्तव्यमा पनि उनको नाम समेत अटाएन । त्यसबाहेक कार्यक्रमकै दौरान गीत गाउँदा गाउँदै पनि समय अभाव भन्दै कैयौँपटक आयोजकले उनलाई बीचमै रोक्न लगाएको पनि उनलाई नमिठो लाग्यो । तर, पछि तिनै कार्यक्रम हेर्न आएका हजारौं दर्शकबाट पाएको अपार माया सम्झिए, अनि सबै तिता अनुभवहरु बिर्सिए ।

आफना गीतहरु गाउंदै विश्वका विभिन्न ३० देशमा बस्ने नेपाली दर्शक श्रोताहरुमाझ पुगिसकेका छन्, बद्री । विदेशमा बस्ने दर्शक श्रोताबाट पाउने माया र सम्मान नै उनलाई सबैभन्दा बढी अमुल्य लाग्छ । त्यसो त नेपालमा एल्बमको बिक्री शुन्य हुने आजको जमानामा विदेशका कार्यक्रम आर्थिक रुपमा पनि आकर्षक लाग्छन् उनलाई । ससुरालीमा एल्बमको बिक्रीबाट २५ लाख भन्दा बढी कमाएका उनले आफ्नै पछिल्लो एल्बमको बिक्रीबाट भने एक पैसा पनि पाएनन । आम्दानीका लागि नेपालभित्रका महोत्सव र नेपालबाहिर विदेशका कार्यक्रममै भर पर्नुपर्ने बाध्यता उनले सुनाए । त्यस्तै उनले लगानी गरेको काठमाडौंको निरमाया रोधी क्लबबाट पनि उनलाई केही आम्दानी भइरहेको छ ।

यसअघि सन् २००३ मा पनि सांगीतिक कार्यक्रम लिएर बेलायत आएका बद्रीको यसपटकको बसार्इँ भने अलि लामो रह्यो । कार्यक्रमकै शिलशिलामा पनि बेलायतका विभिन्न शहरहरुदेखि स्कटल्याण्डसम्म पुगे, उनी । आफ्नो दुई महिने बेलायत बसाई टुंग्याएर अर्को साता भने उनी नेपाल फर्किदैछन् ।