२८ आश्विन २०८३, बुधबार

यसकारण विदामा बसे एसएसपी रमेश खरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-kharel

काठमाडौं, २० जेठ । अघोषित रुपमा निलम्बनमा परेपछि काठमाडौंका प्रहरी प्रमुख रमेश खरेल एक महिनाका लागि बिदामा बसेका छन् ।

प्रहरी प्रधान कार्यालयको छानविनमा रहेका खरेल प्रहरी मुख्यालयकै दबाबमा बिदामा बस्न बाध्य भएको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले खरेलको सरुवा प्रक्रिया अगाडि बढाएपनि निर्वाचन आयोगले आचारसंहितालाई कारण देखाउँदै सरुवा रोकिदिएको थियो । सोमबार मात्र निर्वाचन आयोगले खरेललाई पुरानै जिम्मेवारीमा फर्काउन गृह मन्त्रालयलाई निर्देशनात्मक पत्र समेत पठाएको थियो । तर, गृह मन्त्री वामदेव गौतम र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित उच्च पदस्थ प्रहरी अधिकारीहरु नै रुष्ट रहेका कारण खरेल बिदामा बसेका हुन् । यसअघि एसएसपीमा बढुवामा नपरेको बेलामा खरेल आफै बिदामा बसेका थिए । जतिबेला उनी काठमाडौंकै प्रहरी प्रमुख थिए ।

प्रहरीका डीआइजीहरु बढुवा हुन पैसाको सुटकेस बोकेर शक्तिकेन्द्र धाउँछन् भन्ने अभिव्यक्ति दिएका कारण खरेललाई प्रहरी प्रधान कार्यालयले सोधपुछका लागि भन्दै मुख्यालयमा तानेको थियो । डिआाइजी विज्ञानराज शर्माको संयोजकत्वमा गठित समितिले खरेलसँग उक्त अभिब्यक्तिका विषयमा बयान लिइसकेको छ । खरेलले आफूले सत्य बोलेको भन्दै झुटो ठहरे कारबाही भोग्ने बयान दिएका थिए । डीआइजी शर्मा संयोजकत्वको समितिले छानबिन प्रतिवेदन बुझाइसके पनि उनलाई के कारवाही गर्ने भन्ने विषयमा टुंगो लगाएको छैन ।

खरेललाई कारवाही गर्न लागिएको विरोधमा नागरिक समाज र राजनीतिकस्तरमै समेत विरोध भैरहेको छ । सत्य कुरा उजागर गर्दा इमान्दार अफिसर खरेललाई कारवाही गर्न खोजिएको भन्दै एकातिर आलोचना भइरहेको छ । अर्कोतिर, बर्दीमा रहेको प्रहरी अफिसरले नेता जसरी भाषण गर्दै हिँडन नहुने भन्दै खरेलको आलोचना पनि भइरहेको छ ।