२८ आश्विन २०८३, बुधबार

कलेजबाट घुम्न जाँदा साथीले नै हत्या गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final-police

भक्तपुर, २० जेठ । प्रहरीले भक्तपुरको नगरकोटमा गत वैशाख २९ गते मृत्यु भएका प्रज्ज्वल कार्कीको हत्या भएको निष्कर्ष निकालेको छ ।

सो घटनाको छानबिन सकाउँदै प्रहरीले अभियुक्त काठमाडौँ धापासी–८ का मनिष लुईंटेललगायत आठ जनालाई सर्वस्वसहित जन्मकैद माग गर्दै सरकारी वकिलको कार्यालयलाई मुद्दा बुझाएको छ ।

अन्य अभियुक्तमा धादिङ दार्खा–४ का पञ्चबहादुर तामाङ, गोरखा च्याङ्ली– ८ का सोनु कुमाल, लमजुङ अर्चलबोट– ८ का प्रमोद मरहट्ठा, गोरखा ताप्ले– ८ का योगेन्द्र पोखरेल, नुवाकोट काउँले– ५ का मेयर मोक्तान, लमजुङ भोटेओडार– ८ का तेजबहादुर तामाङ र म्याग्दी राँखु– ८ का नारायण भण्डारी रहेका छन् ।

घटना विवरणअनुसार रेडन कलेज सामाखुसीमा १२ कक्षा अध्ययनरत नौ जना विद्यार्थीको समूह परीक्षा सम्पन्न भएको खुसियालीमा नगरकोट घुम्न गएका थिए । सो क्रममा तेलकोट पुगेर पौडी खेलेको र साँझ घर फर्कने र नगरकोट गएर बास बस्ने विषयमा विवाद भई आपसमा झगडा हुँदा अभियुक्त मनिषले प्रहार गरेको ढुंगाको चोटले गोरखा आरुचनौटे– ७ घर भई हाल काठमाडौँ सामाखुसी बस्ने वर्ष १८ का कार्कीको मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलासा भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अभियुक्तले सुरुमा कार्कीको मृत्यु भिरबाट लड्ने क्रममा ढुङ्गामा ठोक्किएर भएको बयान दिएका थिए । घटनापछि सोही समूहले भक्तपुर अस्पताल लगेपनि त्यहाँ उपचार हुन नसकेपछि मध्यपुर अस्पताल लगिएकामा अस्पतालले कार्कीलाई मृत घोषणा गरेको थियो । सो घटनापछि प्रहरीले तत्काल अस्पतालबाटै लुईंटेल र पञ्चबहादुरलाई नियन्त्रणमा लिएको थियो । घटनाको भोलिपल्टमात्र बाँकी अन्य छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पीडित पक्षले सँगै गएका आठ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएको थियो । अनुसन्धानको क्रममा प्रहरीले घटनामा प्रयोग भएको ढुङ्गासमेत फेला पारिएको र फरेन्सिक जाँचका लागि सो ढुङ्गा ल्याबमा पठाएको प्रहरीले जानकारी दिएको छ ।

पोस्टमार्टम रिपोर्टमा कार्कीको मृत्यु कुनै कडा वस्तुले बायाँ कानको पछाडिपट्टिको भागमा प्रहार गरेको र सो प्रहारको चोटले दिमागमा रगत जाम भई ब्रेन ह्यामरेज भएकाले मृत्यु भएको उल्लेख गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

घटनाको प्रकृति र स्थानीय बासिन्दाको भनाइअनुसार घटना भवितव्य नदेखिएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालिएको थियो । घटनाको मुख्य आरोपी लुईंटेल प्रहरी नायब उपरीक्षकका छोरा हुन् भने घटनामा आरोपीमध्ये एक प्रहरी सहायक निरीक्षकका छोरा रहेको बताइएको छ ।