२८ आश्विन २०८३, बुधबार

कर्मचारीको तलबमा नयाँ प्रस्ताव

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa

काठमाडौं, २० जेठ । अर्थ मन्त्रालय बजेको अन्तिम तयारीमा जुटिरहँदा कर्मचारीहरू तलब बृद्धिको उत्सुकतामा छन् । यही बेला ट्रेड युनियनहरूले भने नयाँ प्रस्ताव राखेका छन् । सोमबार बसेको अन्तरट्रेड युनियन सञ्जालको बैठकले एक दिनको तलब बराबर एक ग्रेडको व्यवस्था लागु हुनुपर्ने प्रस्ताव राखेका हुन् । विभिन्न सात वटा ट्रेड युनियनको बैठकले सरकारसमक्ष यस्तो माग राख्ने निर्णय गरेको हो ।

नेकपा एमाले निकट ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनको बिजुलीबजारस्थित कार्यालयमा बसेको बैठकले एक दिनको तलब बराबरको ग्रेडको सिष्टम लागू गर्न माग गरेको हो । जसअनुसार अधिकृत तहको तलब मासिक ८ सय रुपैयाँ बढ्दछ ।

एक दिनको तलब अनुसार एक ग्रेडको प्रावधान बैज्ञानिक हुने संगठनका अध्यक्ष पुन्य ढकालले बताए । यस बाहेक सरकारले कर्मचारीलाई गैह्रमौदिक सेवा सुविधामा ध्यान दिनुपर्ने उनको भनाई छ । कर्मचारीलाई सुधार गर्नका लागि तबल बृद्धिमा भन्दा अन्य सेवा सुविधामा ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘माग्न जानेलाई सरकारले हात नै काटिदिने गरेको छ,’ उनी भन्छन्, ‘यसरी प्रशासन सुधार गर्छु भनेर हुँदैन, पहिला सुविधा दिनुपर्ने त्यसपछि कर्मचारीलाई काम र अनुशासनमा कडाई गर्नुपर्छ ।’
बजेट आउने बेला ट्रेड युनियनहरूले सरकारले दबाब दिने गरको छन् । गत वर्ष सरकारले सबैलाई एक हजारका दरले महंगी भत्ता दिने निर्णय गरेको थियो । यो वर्ष पनि तलब बढाउने भन्दा सेवा सुुविधा तथा भत्ता बढाउने तयारी भइरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ ।

हुन निजामती सेवा नियमालीमा मुख्यसचिवको अध्यक्षतामा कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिको व्यवस्था गरिएको छ । अर्थसचिव र सामान्य प्रशासन सचिव सदस्य रहने सो समित सधैं निष्क्रिय हुने गरेको छ ।

उता सोमबार गृह मन्त्रालयले ३८ जना अधिकृतको सरुवा गरेको छ । सधैं विवादमा पर्ने एयरपोर्ट अध्यागमनमा २२ जना नयाँ अधिकृतलाई पठाइएको छ । एक हप्ता तालिम दिई फ्रेस अधिकृतहरूलाई पठाइएको हो । यसअघि कर्मचारीका लागि सर्वाधिक आकर्षक रहेको अध्यागमन पछिल्लो समय त्यहाँ जान कर्मचारी नमान्ने अवस्था छ । सुरेश सुवेदी, सुनिता अधिकारी, लोकराज बोहोरा, कृष्ण प्रसाद सापकोटा, केशवप्रसाद उपाध्यय, नवीन पोखरेल, सन्तोष श्रेष्ठ, पुष्कर राना, प्रदीप परियार, नारायण अर्याललगायतका कर्मचारीलाई विमानस्थल अध्यागमन पठाइएको हो ।