काठमाडौँ, १८ जेठ । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले पार्टीको नवौं महाधिवेशनबाट एकताबद्धरुपमा नेतृत्व चयन हुने जिकिर गर्नुभएको छ ।
उपनिर्वाचनका लागि काठमाडौँ क्षेत्र नंं २ का एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठसँग आइतवार एमाले उपत्यका प्रचार विभागले यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष खनालले अहिले विभिन्न समूहगत उम्मेदवारी घोषणा भए पनि महाशिवेशनमा एकताका साथ नेताहरू प्रस्तुत हुने विश्वास व्यक्त गर्नुभयो ।
खनालले भन्नुभयो, “गुटबन्दीले पार्टी र देशको हित गर्दैन, महाधिवेशनको थलोमा गएपछि के कुन पदमा भन्ने थाहा हुन्छ र एकताका साथ नेतृत्व चयन हुनेछ ।”
उहाँले महाधिवेशका लागि प्रस्तुत गरिने दस्तावेजमा एकता भइसकेकाले नेतृत्वमा पनि सहमति हुने बताउनुभयो ।
काठमाडौं क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय तहबाट उम्मेदारी दिने निर्णय भएअनुसार सक्षम र उपर्युक्त पात्रको खोजीका क्रममा नेता श्रेष्ठलाई अघि सारिएकाले उहाँलाई विजयी गराउन अध्यक्ष खनालले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
विगतमा पार्टी शीर्ष नेता मनमोहन अधिकारी, मदनकुमार भण्डारी, विद्यादेवी भण्डारी र माधवकुमार नेपालसमेतले आफ्नो छाप छाडिसकेको सोे क्षेत्रमा केन्द्रीय सदस्य श्रेष्ठलाई जिताउन पार्टी मैदानमा उत्रिएको खनालले बताउनुभयो । अध्यक्ष खनालले उपनिर्वाचनमा एमालेको विजय हुनाले देशको सार्वभौमत्ता जोगाउने पार्टी फेरि पनि आफ्नो पार्टी भएको पुष्टि हुने उल्लेख गर्नुभयो ।















प्रतिक्रिया