सिरहा । सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री गृहमन्त्री वामदेव गौतमविरुद्ध गम्भीर प्रकृतिको कमेन्ट लेखेको भन्दै एक जना सरकारी हाकिम पक्राउ परेका छन् ।
गृहमन्त्रीको जेब्राक्रसबारे नयाँ पत्रिका दैनिकमा छापिएको तस्बिरमा फेसबुकमार्फत कमेन्ट लेखेका इलाका प्रसाशन कार्यालय लहानका प्रमुख (प्रशासकीय अधिकृत) राजुप्रसाद साहलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
वीरगञ्जका एसपी धीरजप्रताप सिंहले साहलाई ‘माथिबाट पक्राउ गर्न आदेश आएकाले पक्राउ गरी काठमाडौं पठाइएको’ बताए । उनलाई वीरगञ्जको घन्टाघर क्षेत्रबाट शनिबार साँझ ५ बजे प्रहरीले पक्राउ गरेको थियो । बारा जिल्ला पिपराडी ४ का साह करिब दुई वर्षदेखि इप्रका लहानमा कार्यरत छन्। शुक्रबार उनी कार्यालयमा बिदा लिई वीरगन्जस्थित घर गएका थिए।
गृहमन्त्रीले सडकको डोरी नाघेर सडक पार गरेको फोटो नयाँ पत्रिका दैनिकमा छापिएपछि चार दिन अघि प्रशासक साहले फेसबुकमा ‘सालेको पिछवाडामा गोली ठोकी दिनुपर्छ’ भनेर कमेन्ट गरेका थिए।
फेसबुकमा गरेको उक्त कमेन्टले स्थानीय तहमा तरंग ल्यादिएको थियो । स्थानीय पत्रकारहरुले चासो राख्दा पनि साहले आफूले कमेन्ट लेखेको स्वीकारेका थिए ।
‘उनले (गृहमन्त्रीले) जे पनि गर्न हुने, मैले लेख्न पनि नहुने ? गोली हानी त दिएको छैन नि!’- स्थानीय पत्रकार सन्तोष यादवले लिएको प्रतिक्रियाको अडियो रेकर्डमा साहले भनेका छन् ।
गृहमन्त्रालय मातहतकै राष्ट्रसेवक कर्मचारीले गृहमन्त्रीलाई गोली ठोकिदिनुपर्छ भन्ने समाचार स्थानीय साक्षी पोष्ट दैनिकले प्रकाशित गरेकै कारण अधिकृत साहले पत्रिकाको कटिङ समेत फेसबुकमा राखेर पत्रकारहरुलाई तथानाम गाली गलौज गरेका थिए ।
साहले गृहमन्त्रीका सम्बन्धमा गरेको कमेन्टप्रति गृह प्रशासनले चासो लिँदै यथार्थ छानबिन गर्न जिल्ला प्रहरी र प्रशासन कार्यालय सिराहालाई निर्देशन दिएको थियो।















प्रतिक्रिया