सोलुखुम्बु । सगरमाथा अञ्चलस्तरीय एकल डान्स स्टार प्रतियोगिताको उपाधि उदयपुर कटारीका विजय दनुवारले हात पारेका छन् ।
शुक्रवार साँझ अबेर सदरमुकाम सल्लेरीमा सम्पन्न डान्स स्टार प्रतियोगिताको फाइनल राउन्डबाट दनुवार प्रथम भएका हुन् । त्यस्तै सोलुखुम्बुका सारिका तामाङ फ्रस्ट रनर अफ र सोलुखुम्बुकै अनुसा राई सेकेन्ड रनर अफ भए । अनुसा राई नौ वर्षीया बालिका हुन् । प्रतियोगितामा सोलुखुम्बुकै कुवीरधन राईले सान्त्वना स्थान हात पारे ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हात पार्नेले क्रमशः रु एक लाख पाँच हजार, रु ५५ हजार, रु ३५ हजार र रु १० हजारका साथमा सिल्ड र प्रमाणपत्र प्राप्त गरे । प्रथम हुने दनुवारलाई आयोजक फ्रेन्डसिप युथ क्लबका पूर्व सल्लाहकार सदस्य डिबी नेपालीले अफ्नो खर्चमा तीन महिने प्रशिक्षणका लागि भारत पठाउने उद्घोष गर्नुभयो ।
प्रतियोगिताका विभिन्न छनोट चरणबाट उत्कृष्ट १० मा पर्न सफलबीच हिजो फाइनल प्रतिस्पर्धा भएको थियो । उत्कृष्ट १० मा सोलुखुम्बुका आङदावा शेर्पा, रिञ्जि शेर्पा, उदयपुरका इन्द्र तामाङ, सोलुखुम्बुका विनिता कुलुङ, पुष्पा खालिङ, सुस्मा राई र प्रकाश कार्की रहेका थिए ।
फ्रेन्डसिप युथ क्लब, सोलुखुम्बुको आयोजनामा गत माघ ७ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल राउन्ड सगरमाथा दिवसका अवसरमा गत बिहीबार सुरु गरी शुक्रवार साँझ अबेर सम्पन्न भएको हो ।











प्रतिक्रिया