२८ आश्विन २०८३, बुधबार

पार्टी अध्यक्ष बनेपछि प्रचण्ड र वैद्यसँग एकता पहल गर्छु : नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-Nepal

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको नेतृत्व गर्न आफू तयार रहेको बताउनुभएको छ ।

नेकपा एमालेको आसन्न नवौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित मध्यमाञ्चलस्तरीय भेलामा उहाँले पार्टीलाई बलियो बनाउन संगठन बलियो हुनुपर्ने र त्यसका लागि सक्षम नेतृत्व चयन गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत भइसक्नुभएका नेता नेपालले भन्नुभयो, ‘पार्टी हाँक्न र संगठन निर्माण गर्न वैचारिक हिसावले सक्षम नेता चाहिन्छ, आगामी महाधिवेशनबाट म पार्टीको नेतृत्व गर्न तयार छु ।’

नेता नेपालले अवको नेतृत्वले देशका सबै कम्युनिष्ट पार्टीलाई समेटेर एउटै पार्टी निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । त्यसका लागि प्रचण्ड नेतृत्वको एमाओवादी, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलगायतका पार्टीसँग छलफल र बहसका गर्न आफूले पहल गर्ने उहाँले दाबीसमेत गर्नुभयो ।

उहाँले पार्टीको महाधिवेशन व्यवस्थित रुपमा तोकिएको मितिमै सम्पन्न गर्नका लागि सम्पूर्ण कार्यकर्तालाई लाग्नका लागि आग्रह समेत गर्नुभयो ।

नेकपा एमालेका सचिव युवराज ज्ञवालीले वरिष्ठ नेता नेपाल नै पार्टीका सर्वमान्य नेता भएको र संगठन निर्माण, पार्टीलाई समावेशी चरित्रको र वैचारिक हिसावले राम्रो नेतृत्व हुने दाबी गर्नुभयो ।

भेलामा एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे, पशुपति चौलागाई, राजेन्द्र पाण्डेलगायतले पार्टीको आगामी नेतृत्वका लागि वैचारिक र संगठन दुवै हिसावले नेता नेपाललाई अध्यक्ष बनाएर जानुपर्नेमा जोड दिनुभएको थियो ।

नेकपा एमालेको महाधिवेशन आगामी असार १९ देखि २४ गतेसम्म राजधानीमा हुने तय भएको छ ।