पर्सा । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफू चोरहरुको नभई इमान्दारहरुको मन्त्री बन्ने प्रयास गरिरहेको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी संगठनको भवन शिलान्यास कार्यक्रममा आफ्ना धारणा राख्दै मन्त्री पण्डितले नेपालको समग्र निजामती सेवालाई सुधार गर्न आफू लागिपरिरहेको बताउनुभयो ।
विभिन्न समस्या, दबाब तथा धम्कीका बाबजुद आफू निजामती प्रशासन सुधार्ने दृढसंकल्प लिएर अगाडि बढिरहेको बताउनुभयो ।
नारायणी अञ्चलकै एकजना सांसदले आफूलाई एकजना कर्मचारीलाई तेल चोरी गर्ने ठाउँमा सरुवा गराइदिन आग्रह गरेको भन्दै आफू कुनैपनि हालतमा गलत काम नगर्ने र गलत गर्नेहरुसँग कहिल्यै सम्झौता नगर्ने बताउनुभयो ।
उहाँले डिभी, पिआर तथा ग्रिनकार्ड लिने कर्मचारीहरुलाई कुनैपनि हालतमा कारबाही गरी छाड्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले कर्मचारीहरुलाई जनताको पक्षमा काम गर्न निर्देशन दिँदै कर्तब्य पूरा गरेर मात्रै अधिकार खोज्न आग्रह गर्नुभयो ।
मन्त्री पण्डितले वीरगन्ज चिनीमिल तथा कृषि औजार कारखाना सञ्चालनको मनस्थितिमा सरकार रहेको जानकारी दिनुभयो ।
कर्मचारी संगठन पर्साका अध्यक्ष सुवेदारप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री पण्डितले ४० लाखको लागतमा निर्माण हुन लागेको निजामती कर्मचारी भवनको समेत शिलान्यास गर्नुभएको छ ।














प्रतिक्रिया