काठमाडौँ । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण अफ्रिकाको राष्ट्रपतिमा ज्याकोब जुमा पुनः निर्वाचित हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति डा यादवले आज पठाउनुभएको सन्देशमा राष्ट्रपति जुमाको सबल नेतृत्वमा दक्षिण अफ्रिकाको शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपति डा यादवले नेपाल र दक्षिण अफ्रिकाबीच विद्यमान मैत्रीपूर्ण सम्बन्ध उहाँको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यसैगरी प्रधानमन्त्री कोइरालाले मंगलवार राष्ट्रपति जुमालाई पठाउनुभएको बधाई तथा शुभकामना सन्देशमा नेपाल र दक्षिण अफ्रिकाबीचको मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्ध पारस्परिक विश्वास, सद्भाव र समझदारीमा आधारित रहेको भन्दै भविष्यमा आपसी सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले राष्ट्रपति जुमाको सुस्वास्थ्य र सुखका साथै उहाँको कार्यकालको सफलताको कामना गर्दै दक्षिण अफ्रिकी जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।














प्रतिक्रिया