काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाका कारण राजदूत नियुक्तिको प्रक्रिया लम्बिएको छ । गत बिहिबारको मन्त्रीपरिषद् बैठकमा राजदुत नियुक्तिको प्रस्ताव परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले राखे पनि प्रधानमन्त्री कोइरालाले पछि निर्णय गर्ने भन्दै आँट गर्न सकेनन् ।
उच्च स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री पाण्डेले परराष्ट्र सेवाका ६ सहसचिवलाई राजदूत नियुक्तिको प्रस्ताव राखेका थिए । तर प्रधानमन्त्री कोइरालाले त्यस विषयमा पछि निर्णय गरौंला भन्दै मन्त्रीपरिषद्मै छलफल नै हुन दिएनन् ।
मन्त्री पाण्डेले बरिष्ठता र कार्यक्षमताको आधारमा परराष्ट्रका सहसचिवहरू खगराज अधिकारी, दीपक धिताल, अम्बिका लुइँटेल, अर्जुनकान्त मैनाली, कालिप्रसाद पोखरेल र अमृत राईलाई राजदूत नियुक्तिको सिफारिस लगेका थिए । तर चलखेल गर्नका लागि कोइरालाले प्रक्रिया लम्बाएका छन् । राजदूत नियुक्तिसम्बन्धी मापदण्ड समेत मन्त्री पाण्डेले बनाइसकेका छन् । तर मापदण्ड मन्त्रिपरिषद्बाटै पारीत हुनुपर्ने भन्दै कांग्रेसनिकट मन्त्रीहरूले प्रधानमन्त्री कोइरालालाई उक्साएको स्रोत बताउँछ । प्रत्येक देशमा नियुक्तिका लागि परराष्ट्रले छुट्टाछुट्टै मापदण्ड बनाएको छ ।
विभिन्न १६ देशमा राजदुतका पद खाली छन् । त्यसमध्ये १० जना राजनीतिन नियुक्ति तथा ६ जना परराष्ट्र सेवाबाट नियुक्त गर्ने परराष्ट्र मन्त्रालयको तयारी छ । दुई देशमा हाल परराष्ट्र सेवाकै राजदुत भएकाले १६ मध्ये ६ जना मात्र परराष्ट्र सेवाबाट नियुक्त गर्न लागिएको हो । परराष्ट्र सेवा बाहिरबाट हुने नियुक्तिको लागि समय लाग्ने भएकाले परराष्ट्रमन्त्री पाण्डेले परराष्ट्रका सहसचिवलाई भने तत्काल नियुक्त गर्नुपर्ने अडान प्रधानमन्त्री कोइरालासँग लिएका छन् । तर पार्टीमा छलफल गर्नुपर्ने भन्दै उनले बिहिबारको बैठकमा त्यससम्बन्धि प्रस्तावमा छलफल नै नगरेको स्रोत बताउछ । वर्षाैदेखि विभिन्न देशमा राजदुत पद रिक्त भएपनि सरकारको अर्कमन्यताका कारण नियुक्ति हुन सकेको छैन । समयमा राजदुत नियुक्ति हुन नसक्दा परराष्ट्र सहसचिवहरू समेत निराश भइसकेका छन् ।














प्रतिक्रिया