भक्तपुर । नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारिता क्षेत्रमा काम नगर्ने पत्रकार महासंघको प्रमाणपत्रधारीको सदस्यता खारेज गर्ने बताउनुभयो ।
महासंघ भक्तपुरले गरेको बधाई कार्यक्रममा उहाँले कम्तीमा पनि महिनामा एक साता पत्रकारिता क्षेत्रमा काम नगरेकालाई पत्रकारको मान्यता नदिइने बताउनुभयो ।
महासंघमा शुद्धताका लागि जिल्ला शाखाले नै छानबिन गरेर गैरपत्रकार खारेज गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि जिल्ला शाखालाई महासंघ केन्द्रले अधिकार दिन तयार रहेको बताउनुभयो ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा सरकारले ढिलाइ गरिरहेको छ भन्दै उहाँले यसका लागि पत्रकार आन्दोलनमा उत्रनु जरुरी रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले जिल्लामा शान्ति कायम गर्ने सन्दर्भमा पत्रकारसँग सहकार्य गर्ने बताउनुभयो भने स्थानीय विकास अधिकारी अर्जुनकुमार थापाले पत्रकारिता क्षेत्रको विकासका लागि स्थानीय निकाय प्रतिबद्ध छ भन्नुभयो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष अनिता विन्दु, महासंघ काठमाडाँैका अध्यक्ष गोविन्द चौलागाईं, भक्तपुर उपाध्यक्ष सोम शर्मा बजगाईंलगायतले श्रमजीवी पत्रकार ऐन लागू गर्न दबाब दिनुपर्ने बेला आएको बताउनुभयो ।
महासंघ भक्तपुरका अध्यक्ष अमर भुजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो । रासस













प्रतिक्रिया