२८ आश्विन २०८३, बुधबार

माधव र केपीको टिमबाट को–को चुनाव लड्दैछन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oli-Madhav-Nepalराजेन्द्र श्रेष्ठ

काठमाडौं । नेकपा एमाले नवौं महाधिवेशनमा होमिएको छ । देशभर प्रतिनिधि चयन क्रम सुरु भएको छ । राजधानीमा गुटगत भेलाहरु जारी रहँदा महाधिवेशनमा भिड्न नेताहरु टिम बनाउन व्यस्त हुन थालेका छन् ।

आसन्न नवौं महाधिवेशनमा अध्यक्षमा संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल भिड्ने पक्कापक्की छ । ओलीको उम्मेदवारी केही दिन अघि घोषणा भइसकेको छ । ओली समूहका तर्फबाट वरिष्ठ उपाध्यक्षमा वामदेव गौतम र महासचिवमा इश्वर पोखरेल उठ्ने तय भइसकेको छ । अन्य पदमा भने छलफल जारी छ । तर, अहिलेसम्मको छलफलमा विधानमा वरिष्ठ उपाध्यक्षको व्यवस्था नहुने देखिएकाले वरिष्ठ उपाध्यक्ष बन्ने गौतमको सपना पूरा नहुने भएको छ ।

यसैगरी, उपाध्यक्षमा विद्यादेवी भण्डारी, प्रदीप नेपाल र विष्णु पौडेलको सम्भावना छ । तर, उपाध्यक्षमा जनजाति पृष्ठभूमिका पृथ्बीसुब्बा गुरुङलाई अगाडि बढाइए पौडेल सचिवमा दोहोरिनेछन् । विधान संशोधन गरेर पौडेललाई उपमहासचिव बनाउने विषयमा पनि छलफल चलिरहेको छ ।

ओली समूहबाट सचिवमा शंकर पोखरेल, पृथ्बीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, धर्मनाथ साह र रघुवीर महासेठ लगायतको सम्भावना छ ।

यता, माधव नेपाल टिमबाट भने उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्य लड्दैछन् ।

यसैगरी, महासचिवमा सुरेन्द्र पाण्डे इश्वर पोखेरलसँग भिड्दै छन् ।

सचिवमा प्रकाश ज्वाला, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुसाल, परशुराम मेघी गुरुङ, भीम आचार्य, श्रीमाया थकाली र  रामचन्द्र यादवको सम्भावना छ ।

उपाध्यक्ष बढाउने कि सचिव ?

आठौं महाधिवेशनबाट बहुपदीय प्रणालीमा गएको एमाले भित्र समावेशितालाई पनि ध्यानमा राख्दै उपाध्यक्ष वा सचिवको संख्या थप्ने बताइएको छ । आकांक्षीहरु धेरै रहेकाले पनि उपाध्यक्ष तीनबाट पाँच पुराउने या सचिव तीनबाट पाँच पुराउने भन्ने विषयमा छलफल जारी छ । ‘अहिले सामान्य छलफल भइरहेको छ, समावेशितालाई ध्यानमा राखेर उपाध्यक्ष या सचिवमा संख्या बढाउन सकिन्छ ।’– सचिव शंकर पोखरेलले दैनिक नेपाललाई भने ।

माधव टिमको घोषणा १७ गते

ओली टिमले मुख्य पदाधिकारीको घोषणा गरेपछि दबाबमा परेको माधव नेपाल टिमले जेठ १७ गते टिम घोषणा गर्दैछ ।

काठमाडौंको प्रज्ञा भवनमा विशेष कार्यक्रम गरी घोषणापत्र, नीति तथा कार्यक्रम र टिमको घोषणा गर्न लागिएको युवा नेता तथा केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिए ।

टिममा पर्न मारामार

महाधिवेशनसँगै चर्को गुटबन्दीमा लागेका एमाले नेताहरुबीच आफ्नै समूहमा पनि समस्या देखिन थालेको छ । आधिकारिक टिममा पर्ने विषयमा ओली र नेपाल दुवै टिममा समस्या छ । पदाधिकारीमा बढुवा हुन नेपाल टिममा झनै बढी समस्या देखिएको एक केन्द्रीय सदस्यले बताए ।

ओली टिममा ‘हेभीवेट’ नेताहरु छन् । नेपाल टिममा युवाहरुको जमात बढी छ । ओली टिममा उपाध्यक्षमा को उठ्ने भन्नेमा समस्या देखिएको छ भने नेपाल टिममा सचिवका आकांक्षी धेरै भएकाले व्यवस्थापनको समस्या देखिएको छ ।

विष्णु पौडेल ओलीतिरै

महाधिवेशन घोषणा भएपछि पनि मौन रहेका सचिव विष्णु पौडेल ओलीतिरै देखिएका छन् ।

केही दिन अघि काठमाडौंमा भएको एक भेलामा पौडेलले विद्या भण्डारी र शंकर पोखरेल भन्दा पनि अगाडि बढेर ओलीको बखान गरेका थिए । ओलीले पटकपटक नेपाललाई ‘बोकेको’ भन्दै पौडेलले यसपटक माधव नेपालले ओलीलाई सहयोग गर्नुपर्ने तर्क गर्न थालेका छन् । केही दिन नेपालसँगको गोप्य भेटमा पनि पौडेलले यही जबाफ दिएको बताइएको छ । पौडेलको मौनता देखेर आफ्नो टिममा आउने आशमा बसेको माधव नेपाल टिम अहिले  हच्चिएको मात्र छैन, पौडेललाई महासचिव उठाउने माधव नेपाल टिमका केही युवा नेताहरुको अभियानमा पनि तुषारापात भएको छ ।