सल्यान । श्रीमान्ले घर निकाला गरेपछि हिवल्चा गाविस वडा नं ५ स्यालाकी ४९ वर्षीया भीमकुमारी कवर दुई छोरासहित अलपत्र परेकी छन् ।
गएको वैशाख ३० गते राति श्रीमान् धनबहादुर कवरले दुई जना छोरासँगै घरबाट निकालिदिएपछि उनीहरु अलपत्र परेका हुन् ।
नौ दिनदेखि उनीहरु न्याय माग्दै सदरमुकाममा भौँतारिरहेका छन् । गएको वैशाखमा न्यायका लागि प्रहरी कार्यालयमा पुगेपछि कुटपिट नगर्ने गरी उनीहरुको मिलापत्र भएको थियो ।
घर परिवारमा शान्ति आउँछ की भनेर मिलापत्र गरेको भए पनि मिलापत्रपछि कुटपिट गर्न नपाउँदा पीडा दिने शैली बदलेको र मानसिक तनाव, ज्यान मार्ने धम्की दिएर घरबाट निकालिदिएको पीडित महिलाले बताउनुभयो ।
उहाँको साथमा सुस्त मनःस्थितिको १६ वर्षका छोरा चन्द्रबहादुर कवर र १२ वर्षका मेघबहादुर कवर छन् । घरमा दिनहुँ झगडा भएपछि छोराहरुले पनि राम्रोसँग पढ्न नपाएको उहाँले बताउनुभयो ।
श्रीमान्ले घरबाट निकाल्न पटकपटक चोरीको आरोप लगाएर कुटपिट गरेको समेत उहाँले बताउनुभयो । छिमेकीले पनि धेरै सम्झाए, पिट्ने बेलामा छुटाउन आएकाहरुले पनि पिटाइ खाए उहाँले भन्नुभयो, ‘हातमा चुरा लगाएको देखेमा सधै फोरिदिन्थे ।’
घटनाका बारेमा अहिलेसम्म कहीँ कतै उजुरी तथा मुद्दामामिला नगरेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया