काठमाडौ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्रले आफू योग्य भए मात्र सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्न आग्रह गर्नुभएको छ ।
संसदीय सुनुवाइ विशेष समितिमा सभासद्लाई आफ्नाबारे सोधिएका प्रश्नको जवाफ दिँदै उहाँले आफ्नो योग्यता र क्षमता जाँचेर मात्र सिफारिस गर्न आग्रह गर्नुभएको हो ।
प्रस्तावित न्यायाधीशविरुद्ध दुई उजुरी परेका छन् । पुनरावेदन अदालत राजविराजमा रहँदा आफ्ना पेट वकिलमार्फत झगडियाबाट रकम लिई अकुत सम्पत्ति आर्जन गरेको र उहाँ तथा उहाँको परिवारका नाममा विभिन्न बैंकमा रहेका बैंक खाता छानबिन गर्नुपर्ने उजुरीकर्ताले माग गरेका थिए ।
“मैले काम गरेका अदालतमा आजसम्म कुनै पनि गुनासो आएको छैन तर यहाँ भने किन उजुरी परेको हो, उजुरीकर्तासँग सोधपुछ गर्नुहोस्” उहाँले सभासद्सँग आग्रह गर्नुभयो ।
बाबुको मृत्युपछि सगोलमा रहेको १५ बिघा जमिन बेच्न बाध्य भएको र बैंकमा आफ्ना नाममा आरोप गरेजस्तो सम्पत्ति नभएको भन्दै उहाँले आवश्यक परे जाँचबुझ गरिदिन प्रस्तावित न्यायाधीश मिश्रले सुझाव दिनुभयो । न्याय दिन ढिलो हुनुमा न्यायाधीश, कर्मचारी र आवश्यक स्रोत साधनको कमी हुनु मुख्य कारण भएको र विद्युत्भार कटौतीले पनि धेरै असर पारेको छ भन्दै न्यायाधीश मिश्रले यस्तो समस्या सुल्झाउन सभासद्सँग आग्रह गर्नुभयो ।
न्यायपालिका र व्यवस्थापिकाबीच बढेको द्वन्द्वका सम्बन्धमा दुवै निकायले संवैधानिक दायराभित्र रहेर काम गर्नुपर्ने औँल्याउँदै उहाँले न्यायालयलाई कस्तो बनाउने भन्ने विषयमा विधायिकाले नै नीति बनाउनुपर्छ भन्नुभयो ।
ज्येष्ठ सदस्य कुलबहादुर गुरुङको अध्यक्षतामा बसेको सो बैठकमा अधिकांश सभासद्ले उहाँविरुद्धको उजुरीभन्दा पनि न्याय क्षेत्रमा समानुपातिक प्रतिनिधित्व, संसदीय सुनुवाइको प्रभावकारिता, न्यायपरिषद्को भूमिका, न्यायपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध, पहिल्यै आफूअनुकूल मिलाएर काम गर्ने तरिका, बिचौलियाको भूमिका, दुर्गमका झगडियाले साधारण तारिख लिनका लागि पनि हजारौं खर्चेर अदालत नै धाउन नपर्ने अवस्थाका विषयमा जिज्ञासा राख्नुभएको थियो ।














प्रतिक्रिया