इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भारतीय प्रधानमन्त्री पदका लागि मनोनित नरेन्द्र मोदीले आफ्नो सपथग्रहण कार्यक्रममा सरिक हुन दिनुभएको निमन्त्रणा स्वीकार गर्नुभएको जानकारी उहाँको कार्यालयले शनिबार दिएको छ । यसलाई दुई मुलुकबीच तनावपूर्ण बनेको सम्बन्ध सुधार गर्न बलियो कूटनीतिक पाइलाको रूपमा लिइएको छ ।
पाकिस्तानसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० का अन्य सरकार प्रमुखहरुका साथमा सरिफलाई पनि भारतले यसै साता औपचारिक रूपमा निमन्त्रणा दिएको हो ।
प्रधानमन्त्री नवाज सरिफका प्रवक्ताले उहाँले मोदीको सपथग्रहण कार्यक्रममा भाग लिने निर्णय गर्नुभएको जानकारी दिए ।
हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीले आमनिर्वाचनमा अत्यधिक मतले विजय हासिल गरेको १० दिनपछि मोदीले सोमबार सपथग्रहण गर्नुहुनेछ । भारतमा कुनै एक दलले गत ३० वर्षमा बहुमत प्राप्त गरेको यो पहिलोपटक हो ।
सरिफ आफैँ मध्यमदक्षिणपन्थी नेता हुनुहुन्छ र उहाँले मोदीको प्रभावशाली विजयको प्रशंसा गर्नुभएको थियो । धेरै कुटनीतिज्ञहरुले उहाँहरुले पारमाणविक हतियारसम्पन्न छिमेकीहरुबीचको सम्बन्ध सुधार्नसक्नुहुने आशा व्यक्त गरेका छन् । रासस÷एएफपी














प्रतिक्रिया