काठमाडौं । उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय निकायको निर्वाचन विधि र प्रक्रियाअनुसार छिटो निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस जोरपाटीले गणतन्त्र दिवसको उपलक्ष्यमा शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।
“स्थानीय निकायमा महिला प्रतिनिधित्व बढाउनका लागि मन्त्रिपरिषद्ले स्थानीय स्वायत्त शासन ऐन, २०५५ संशोधन गरी संसद्मा पेस गर्ने तयारी गरेको छ”, मन्त्री सिंहले भन्नुभयो ।
अब यथाशीघ्र स्थानीय निकायको निर्वाचन नगरे ५–६ वर्ष अझै हुन नसक्ने भएकाले सबै दल एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ७२ वटा नगरपालिका घोषणा हुनु पनि सरकारको उपलब्धि भएकाले उपत्यकाभित्र पनि डेढ महिनाभित्र नगरपालिका घोषणा हुने उपप्रधान मन्त्री सिंहले बताउनुभयो ।
काँग्रेस महामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री सिंहले जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट नेपालको विकासलाई गति दिने काँग्रेसको नीति रहेको बताउनुभयो ।
पूर्व सभासद् एवम् काँग्रेस ३ नं क्षेत्रीय सभापति चक्रबहादुर ठकुरीले काठमाडौँकै ग्रामीण भेग दुर्गमभन्दा पनि दुर्गम रहेकाले यसको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
गाउँ समिति सभापति लालबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका महासचिव कुमार सुवेदी र नेपाल महिला संघ काठमाडौँकी अध्यक्ष विष्णुदेवी पुडासैनीलगायतका वक्ताले स्थानीयस्तरको समुचित विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।













प्रतिक्रिया