
काठमाडौं । जिन्दगीको के भरोसा…. साँच्चै नै कर्ण दासको गीतले भने जस्तै जिन्दगीको केही भरोसा छैन । धेरैको जीवनमा नसोचेका दिनहरु आउछँन ।
अहिले त्यस्तै भएको छ खोटाङ बाम्रााङका १४ बर्षीय तोकबहादुर थापाको ।
कक्षामा सँधै पहिला हुने तोकबहादुर बाँचे एसएलसी टप गर्ने योजनामा छन् । आफू गरिब भएकाले पढेर गरिबहरुको सेवा गर्न डाक्टर बन्ने चाहना बोकेका तोकबहादुर अस्पतालको शैयाबाट भगवानसँग यही पुकार गरिरहेका छन् ।
तर, कसैले देखेका ती भगवानले त के सुन्छन र ? तर, सुने ती भगवान आत्मरुपीहरु नेपालीहरुले । जो प्रवासमा रहेर पनि नेपाल र नेपालीप्रति उत्तिकै माया गर्छन् ।
तोकबहादुरलाई ब्लड क्यान्सर भएर काठमाडौंको सिभिल अस्पतालमा छटपटाइरहेको समाचार दैनिक नेपाल डटकममा प्रकाशित भएपछि अमेरिकास्थित नेपाली पत्रकार विकासराज न्यौपानेले अभियान नै चलाए । लमजुङको दुराडाँडामा स्थायी घर भई बाबुको पालादेखि नै चितवन रत्ननगर- ९ टाँडी झरेका न्यौपाने अमेरिकाको टेक्सासबाट संचालित नमस्ते युएस डटकमका प्रधान सम्पादक तथा नेपाल–अमेरिका पत्रकार संघका उपाध्यक्ष समेत छन् ।
दैनिक नेपालमा समाचार पढ्नासाथ तोकबहादुरलाई बचाउने अभियानमा लागेका न्यौपानेले अहिलेसम्म ६५०० सय डलर (६ लाख रुपैंया भन्दा बढी) संकलन गरिसकेका छन् । पत्रकार न्यौपानको अनुसार, रकम संकलन हुने क्रम अहिले पनि जारी छ ।
तोकबहादुरको समाचार पढेर दुखित बनेकी डालस टेक्सास निवासी अम्बिका राउत, योगेन्द्र राउत, युबिन राउत एकै परिवारले ५ हजार अमेरिकी डलर न्यौपाने मार्फत सहयोग उपलब्ध गराएका छन् ।
कहिल्यै नभेटे पनि थापाको कथाले आफ्नो मन दुखेको भन्दै अम्बिकाले परेको बेलामा मान्छेले नै मान्छेलाई सहयोग गर्नुपर्ने बताइन् । यस्तो सहयोग गर्दा आफूलाई साह्रै खुशी लाग्ने बताउँदै अम्बिकाले थापाको स्वास्थमा सुधार आए आफ्नो माया र सहयोगलाई निरन्तरता दिन आफ्नो परिवार तयार रहेको बताइन् ।
यस अभियानमा संलग्न नेपाली समाज टेक्सासका अध्यक्ष भुवन आचार्यले अरुले पनि यसरी नै सहयोग गरे एउटा जोशिलो बालकको सपना पूरा गर्न सकिने बताए । उनले सहयोगका लागि नेपाली समुदायलाई अपिल समेत गरे ।
यसअघि दैनिक नेपाल डटकमले युकेबाट झापा सुरुंगाका नारायण कटुवालले संकलन गरी पठाइदिएको एक लाख २३ हजार रुपैंया स्वास्थ्य मन्त्री खगराज अधिकारीमार्फत हस्तान्तरण गरिसकेको छ ।
अहिले संकलित रकम पनि छिट्टै औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिने दैनिक नेपाल डटकमका सम्पादक गणेश पाण्डेले बताए ।
खोटाङ बाम्राङ घरभइ अहिले झापाको सुरुंगा सरेका तोपबहादुरको परिवार यतिबेला शोकमा डुबेको छ । तोकबहादुरको उपचार गरिरहेको काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालले उनको उपचारका लागि २० लाख रुपैंया लाग्ने बताएको थियो । अहिलेसम्म करिब १० लाख रुपैंया परिवारले जुटाइसकेको छ । अमेरिकाबाट थप ६ लाख रुपैंया संकलन भएपछि तोकबहादुरलाई बचाउन सकिने सम्भावना बढेको छ ।
अहिलेसम्म अमेरिकाबाट डेभलभमेन्ट फर पिस संस्थाका डा मुरली अधिकारी, नेपाली समाज टेक्सासका अध्यक्ष भुवन आचार्य, बिनय अर्याल, डा मोहन अधिकारी, केदार केसी, सुमन कार्की (काजी), हरि थापा, सबिता न्यौपाने, बाला घिमिरे, तुलसा शर्मा, सुलोचना घिमिरे, गोकर्ण दाहाल, माला महत, अरुणा बस्नेत, नेपाल अमेरिका पत्रकार संघका केन्द्रीय सदस्य शैलेश पोखरेल, गौरीराज जोशी, बबी बस्नेत, बाल जोशी, आशिष भण्डारी, भवानी पाण्डे, महेन्द्र पौडेल, डा गुरु शेखर पण्डित, छबि चापागाईं, निक्की पाण्डे, अप्सरा थापा, भीम कार्की, उत्तम लामिछाने, दिल श्रेष्ठ, गोकुल पौड्याल, गोकुल ढकाल, दिप्सन पोखरेल, केदार पौडेल, बेविशा भण्डारी, बुद्धि घिमिरे, सुरेस बस्याल लगायतले सहयोग गरिसकेका छन् ।
यस्तो थियो समाचार
मृत्युशैयामा छटपटिएका बालकको एसएलसी टप्ने धोको
काठमाडौं । जीवनमा सबैका आफ्नै सपना हुन्छ । एसएसलसी टप गर्ने अनि डाक्टर बन्ने धोको छ, खोटाङ बाम्राङका १४ बर्षीय तोकबहादुर थापाको । अहिले उनी नौ कक्षामा पढ्छन् । कक्षामा सँधै पहिलो हुन्छन् । अहिले उनलाई ब्लड क्यान्सर भएको छ । तर, काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालको शैयामा छटपटिँदा पनि उनले हिम्मत हारेका छैनन । भन्छन्, ‘बाँचे भने एसएलसी टप गर्ने योजना छ । गरिब मान्छे, निको भएपछि मेहनत गर्छु र गरिबकै सेवामा काम गर्छु ।’
केही महिना उनी एकाएक बिरामी परे । घरमा सामान्य पढ्न जान्ने आमा छिन्, बाबु वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । उनलाई के रोग लाग्यो ? अस्पताल चाहर्दाचाहर्दै एक लाख रुपैंया सकियो ।
काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएपछि थाहा भयो, उनलाई ब्लड क्यान्सर भएको । थापा परिवारमा एकाएक विस्मात आइलाग्यो । झन् अस्पतालले २० लाख रुपैंया जुटाउन भनेपछि त उनीहरुको होसह्वास नै उड्यो । तैपनि थापा परिवारले हिम्मत हारेनन् । सुरु भयो, सहयोगी हातहरुको खोजी ।
बालकलाई ब्लड क्यान्सर भएको थाहा पाएका झापा सुरुंगाका नारायण कटुवालले बेलायतमा अभियान नै चलाए । लण्डनको ग्लीण्डर विश्वविद्यालयका विद्यार्थी नारायणको अभियानबाट प्रभावित भएर उनको विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु खाजा खर्च कटाएर १ लाख २३ हजार ६५ रुपैंया सहयोग गरे ।
नारायणले बेलायतबाट काठमाडौंमा दैनिक नेपाल डटकमलाई पठाइदिएको उक्त रकम बिहीबार स्वास्थ्यमन्त्री खगराज अधिकारी र दैनिक नेपालका सम्पादक गणेश पाण्डेले अस्पतालमै पुगेर हस्तान्तरण गरे ।
कार्यक्रममा मन्त्री अधिकारीले पैसाभन्दा भावना ठुलो कुरो रहेको बताएका छन् । ‘यति सहयोगले उपचार खर्च नपुग्ला तर यो लोककल्याणकारी सेवा हो,’ मन्त्री अधिकारीले भने, ‘विदेश बस्ने र स्वदेशका नेपालीबीच भावना साटासाट भएको छ ।’ गरीब परिवारमा जन्म भयो भने उपचार नपाएर मर्नुपर्ने अवस्था रहेको मन्त्री अधिकारीको भनाई छ । ‘उपचार सेवा सबै नेपालीले समानरुपमा पाउनुपर्छ’ मन्त्री अधिकारीले भने ।
सिभिल अस्पतालका निर्देशक डा. विमल थापाका अनुसार, अहिले दोस्रो चरणमा उनको उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकहरुले समयमै आवश्यक खर्च जुटाउन सके तोकबहादुरलाई बचाउन सकिने बताउँदै आएका छन । तर, त्यति ठूलो रकम आफै जुटाउन नसक्ने भएपछि थापा परिवार मुटुको टुक्रा समान आफ्नोे छोरालाई कतैबाट जिवनदान हुन्छ कि भनेर बाटो हेरेर बसिरहेको छ ।
तोकबहादुरको उपचारका क्रममा उनीसंगै उनकी दिदी, काका लगायतका केही आफन्तले उनको हेरचाह गरिरहेका छन । आफनो नाबालक भाइको क्यान्सरसंगको लडाईँकी सुरुदेखिकै साक्षी उनकी दिदी रेखाले भनिन, ‘अहिले केमोथेरापी चलिरहेको छ, त्यसपछि बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्नेछ । तर, त्यसका लागि आवश्यक रकम कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ ।’
अहिलेसम्म उपचारका लागि सात लाख रुपियाँ खर्च भइसकेको उनले बताइन ।
उनको परिवारमा बाबुआमासंगै एक दाई र एक दिदी छिन । थापाकी आमा देबिमाया पनि विगत केहिवर्षदेखि मुटु र फोक्सोसम्बन्धी व्यथाले गम्भीर रुपमा थलिएकी छिन ।
मुटु र फोक्सोको रोगी श्रीमतिको खर्चिलो उपचार र पाँच जनाको परिवारको हातमुख जोडनुपर्ने दायित्व । तोकबहादुरका बाबु खड्गबहादुरको केहि जोर चलेन र केहि वर्ष पहिले मजदुरीका लागि कतार हानिएका थिए । उनले कतारमा गर्ने न्यूनतम कमाइबाट बचत गरेर पठाउने सानो रकमबाट जसोतसो देवीमायाको उपचार र परिवारको गुजारा चलाउन समेत हम्मेहम्मे थियो । त्यसमाथि तोकबहादुरको क्यान्सरको उपचारका लागि बीस लाख लाग्ने भएपछि त त्यति ठूलो रकमका लागि उनीहरुको सार्मथ्यले नभेटेको हो ।
यसैबीच, तोकबहादुरको जीवन बचाउका लागि परिवारले गरेको आग्रहमा केहि आर्थिक सहयोग समेत प्राप्त हुन थालेको छ । साउदी र कतारमा उनका बाबुसँगसँगै काम गर्ने नेपालीहरुको सहयोगमा जम्मा भएको ६ लाख रुपियाँ थापा परिवारलाई प्राप्त भएको छ । त्यस्तै, उनलाई बचाउन अझै ठूलो रकम जम्मा गर्न बाँकी रहेपनि आर्थिक सहयोग आउन थालेपछि थापा परिवारलाई तोकबहादुरको अमुल्य जीवनमाथिको आशा पलाएकोे छ ।















प्रतिक्रिया