कञ्चनपुर । बाघ गणनाका लागि राखिएका क्यामेरा तोडफोड गरिएको आरोपमा भीमदत्तनगरपालिका–८ तिलाचौरका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भीमदत्तनगरपालिका तिलकपुरस्थित सहिद स्मृति सामुदायिक वनमा बाघ गणनाका लागि जडान गरिएका क्यामेरा तोडफोड गरिएको पाइएपछि तिलाचौरका विनोद महरा र लक्ष्मण बराललाई पक्राउ गरिएको हो ।
वन क्षेत्रको खन्नेखोलामा फोडिएको क्यामेरानजिक जडान गरिएको अर्को क्यामेरामा ट्र्याप गरिएको आधारमा दुईजना पक्राउ परेका हुन् । सामुदायिक वनका अध्यक्ष कर्णबहादुर विष्टको उजुरीका आधारमा पक्राउ परेका दुवै जनामाथि सार्वजनिक मुद्दा चलाइने प्रहरीले बताएको छ ।
क्यामेरानजिकको अर्को क्यामेरामा दुवै जनाले काठ र औजार बोकेको तस्बिर भेटिएकाले पक्राउ परेका दुवै जनाविरुद्ध उजुरी गरिएको अध्यक्ष विष्टले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले सार्वजनिक अपराधमा दुईजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।
पश्चिम तराई भूपरिधि विकास कार्यक्रम (ताल), वन कार्यालय कञ्चनपुर र सामुदायिक वनको संयुक्त रुपमा गत वैशाख २६ गतेदेखि ब्रह्मदेव जैविक मार्गमा पर्ने सहिद स्मृति सामुदायिक वनसहित ब्रह्मदेव, माथिल्लो गौजी र बगुन क्षेत्रमा क्यामरा ट्र्यापिङ्ग विधिबाट बाघको गणना थालिएको थियो ।
बाघ गणनाका लागि सहिद स्मृति वनमा ६ क्यामेरा जडान गरिएका थिए । क्यामेरा फुटाएपछि अर्को जडान गरिएको छैन । जेठ १२ गतेसम्म चल्ने गणनामा ताल र वन कार्यालयका १६ जना प्राविधिक खटिएका छन् । बाघ गणना हुने सबै क्षेत्रमा २६ जोडी क्यामेरा जडान गरिएको छ ।













प्रतिक्रिया