२८ आश्विन २०८३, बुधबार

नेपाल र ओली पक्षका छुट्टाछुट्टै सम्पर्क कार्यालय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-KP

काठमाडौं । एमालेको नवौं महाधिवेशन डेढ महिना नजिक हुँदा अध्यक्षको दाबी गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली पक्षले आफूलाई सुदृढ बनाउन क्रियाशीलता बढाएका छन्। दुवै पक्षले नयाँबानेश्वरमा अलगअलग सम्पर्क कार्यालय खोलेर ‘गुट’ को कार्यक्रम सञ्चालन गरिरहेका छन्।

नेपाललाई अध्यक्ष बनाउन चाहने पक्षले नयाँबानेश्वरबाट शंखमुल जाने बाटोमा सम्पर्क कार्यालय खोलेको छ। कार्यालयको संयोजन युवानेता योगेश भट्टराईले गर्ने गरेका छन्। कार्यालय सञ्चालन राजेन्द्र राई, यादव शर्मा, मोहन गौतमले गरेका छन्। नेपालका स्वकीय सचिव मोहन गौतमले चाहिँ शंखमूल मार्गमा सम्पर्क कार्यालय नभई सहकारीको कार्यालय खुलेको बताए।

बिजुलीबजारस्थित किस्ट बैंकको पुरानो कार्यालय नजिक रहेको माधव नेपालका भाइ सरोजको ‘कन्सल्ट्यान्सी’ कार्यालय पनि अहिले सो पक्षको अर्को कार्यालय बनेको छ। युवा नेता भुसाल नेतृत्वको शंकरदेव क्याम्पसअगाडिको ‘सेन्टर’ मा पनि सो पक्षका नेताकार्यकर्ता पुग्ने गरेका अन्नपूर्ण पोष्टमा खबर छ ।

ओली पक्षले भने नयाँबानेश्वरकै मूल सडकमा रहेको अल्फाबिटा कम्प्लेक्ससँग जोडिएको घरमा सम्पर्क कार्यालय खोलेको छ। यसको संयोजन युवानेता राजन भट्टराईले गरेका छन्। कार्यालय सचिव कल्याण रोका छन्। ओली पक्षले मदन भण्डारी फाउन्डेसनको कार्यालय, गौशाला र बुद्धनगरस्थित क्याम्पसलाई पनि बैठक र कार्यक्रमस्थलका रूपमा प्रयोग गर्ने गरेको छ।

संविधानसभा भवन नयाँ बानेश्वरमा रहेकाले सभासद्लाई पायक पार्न दुवै पक्षले कार्यालय बानेश्वरमा खोलेका हुन्। ‘पार्टीका औपचारिक काम बल्खुबाट हुन्छन्, देशका विभिन्न भागबाट आएका नेताकार्यकर्ता र सभासद्लाई सम्पर्क र गोलबन्द गर्न कार्यालय खोलिएको हो’, ओली पक्षका कार्यालय संयोजक भट्टराईले भने।

नेपाल पक्षका कार्यक्रममा ओली पक्षधर नेताकार्यकर्तालाई निम्ता गरिँदैन भने ओली पक्षको कार्यक्रममा नेपाल पक्ष सहभागी हुने गरेको छैन। केही दिनअघि नेपालसहित सो पक्षको टोली सुर्खेत पुगेर कार्यक्रम गर्दा आफूलाई नबोलाएको भन्दै पूर्वसभासद् यमलाल कँडेलले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका थिए। ओली पक्षका नेता शंकर पोखरेलसहितले सोही ठाउँमा गरेको कार्यक्रममा भने कँडेलसहित सहभागी भएको सो पक्षका एक कार्यकर्ताले बताए।

नेपाल पक्षले सम्पर्क कार्यालयनजिकै रहेको होटेल अर्यालमा भेटघाट र बैठक गर्ने गरेको छ। ठूला कार्यक्रमहरू इन्द्रेणी कम्प्लेक्समा हुने गरेका छन्। त्यसबाहेक पश्चिम, मध्यपश्चिम, सुदूरपश्चिमाञ्चल स्तरीय भेलाचाहिँ क्वालिटी पार्टी प्यालेसमा भएका छन्।

 ओली पक्षले भने अल्फाबिटा कम्प्लेक्समा सबैभन्दा बढी कार्यक्रम गर्ने गरेको छ। त्यसबाहेक मदन भण्डारी फाउन्डेसन, तीनकुनेस्थित एभरेस्ट पार्टी प्यालेस र रोयल पार्टी प्यालेसमा पनि कार्यक्रम हुने गरेका छन्। महाधिवेशनको संघारमा पनि बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय भने सुनसानप्राय: हुन्छ।

नेपाल पक्षको वैचारिक बहसको नेतृत्व घनश्याम भुसालले गर्दै आएका छन्। पाँच वर्षअघिको बुटवल महाधिवेशनमै पूरक दस्ताबेजका रूपमा भुसालले प्रस्तुत गरेको मत एमालेको आधिकारिक दस्ताबेजका रूपमा महाधिवेशनमा पेस हुनेछ।

ओली पक्षको वैचारिक नेतृत्व पार्टी सचिव शंकर पोखरेलले गर्दै आएका छन्। अर्का नेता प्रदीप ज्ञवालीको पनि खास सहयोग रहँदै आएको छ। पोखरेल राजनीतिक प्रतिवेदन सहमतिमै तयार हुने भएकाले ‘अमूक’ व्यक्तिको विचारले जितेको भनी अनर्गल प्रचारबाजी भइरहेको बताउँछन्।

नेपाललाई अध्यक्ष बनाउने अभियानमा दोस्रो पुस्ताका प्रभावशाली नेताहरूमा भुसाल र भट्टराईबाहेक सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, गंगालाल तुलाधर, गोकर्ण बिष्ट, धर्मनाथ साह, अरुण नेपाल, विजय पौडेल, राजेन्द्र राईलगायत क्रियाशील छन्। उनीहरू आलोपालो गरी सम्पर्क कार्यालयमा बस्ने गरेको अखिलका पूर्वअध्यक्ष राईले जानकारी दिए।

ओलीलाई अध्यक्ष बनाउने पक्ष पछिल्लो समयमा बढी क्रियाशील देखिएको छ। नेपाल बिरामी परेपछि उनी पक्षधरको कार्यक्रम भने केही दिनदेखि सुस्त देखिएको छ। ओली पक्ष पार्टी स्थायी समितिमा दुई उपाध्यक्ष, महासचिव, दुई सचिवसहित बहुमतमा छ। ओली पक्षको महाधिवेशन लक्षित कार्यक्रम व्यवस्थापन गर्ने काममा युवानेताहरू राजन, भानुभक्त ढकाल, महेश बस्नेत, किरण गुरुङ, रामनाथ ढकाल, रवीन्द्र अधिकारी, हिक्मत कार्की, थममाया थापा, बलराम बास्कोटालगायत छन्।

दुवै समूहका अध्यक्षका प्रत्यासी बिरामी छन्। ओली बैंककमा स्वास्थ्यलाभ गरिरहेका छन् भने नेपालचाहिँ वीर अस्पतालबाट बुधबार घर फर्केका छन्।