काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि डिस्चार्ज घर फर्कनु भएको छ ।
वरिष्ठ नेता नेपाल अस्वास्थ्य भएपछि वैशाख ३१ गतेदेखि वीर अस्पतालमा भर्ना हुनुभएको थियो । अहिले उहाँको स्वास्थ्यस्थिति अत्यन्त राम्रो भएको अस्पतालका निर्देशक प्राडा बुलन्द थापाले जानकारी दिनुभयो ।
नेता नेपालले अस्पतालको आइसीयु बार्डमा उपचाररत मेनुका थापाको उपचारका लागि पाँच हजार आर्थिक सहयोग समेत गर्नुभएको छ ।
ओखलढुंगाकी थापा विगत चार महिनादेखि वीर अस्पतालमा उपचाररत हुनुहुन्छ । वरिष्ठ नेता नेपाल आफ्नो उपचारपछि बुधबार घर फर्किने क्रममा थापालाई सो सहयोग प्रदान गर्नुभएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
उहाँले एक विज्ञप्ति प्रकाशित गरी आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, प्राविधिक तथा अस्पतालका परिवारलाई धन्यवाद दिँदै स्वास्थ्यस्थितिका बारेमा जानकारी लिन अस्पताल पुग्नुभएका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, राजनीतिक दलका नेता तथा पार्टी कार्यकर्ता सबैलाई धन्यवाद दिनुभएको छ ।
वरिष्ठ नेता नेपालले स्वास्थ्य उपचारका नाममा विदेशिने पुँजीलाई रोक्न उच्च तहका व्यक्तित्वलाई वीर अस्पतालमा नै उपचार गर्न आग्रहसमेत गर्नुभएको छ । उपचारका क्रममा उहाँले वीर अस्पतालका वर्तमान अवस्था तथा आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा अस्पतालमा कार्यरत चिकित्सक तथा व्यवस्थापनपक्षसँग छलफलसमेत गर्नुभएको गौतमले जानकारी दिनुभयो ।
यसैबीच, एमाले महासचिव इश्वर पोखरेल भने मंगलबार राति अस्पताल भर्ना हुनुभएको छ ।
केही दिनदेखि अस्वस्थ रहनुभएका पोखरेल रोगले च्यापेपछि मंगलबार राति काठमाडौंको टोखा रोडस्थित ग्रान्डी अस्पतालमा भर्ना हुनुभएको हो । उहाँलाई पिशाब सम्बन्धी रोग देखिएको उहाँका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
महाधिवेशनको दौडधुपमा व्यस्त भएका महासचिव पोखरेल अस्वस्थ भएपछि केही दिन यता घरमै बसेर आराम गर्दै आउनुभएको थियो ।
(फाइल फोटो: इबुधबार)














प्रतिक्रिया