चितवन । प्रहरीको व्यवहारप्रति समुदायमा टीकाटिप्पणी र आलोचना भइरहेका बेला वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरुका लागि मुस्कानसहितको प्रहरी सेवा अनुशिक्षण तालिम बुधबारदेखि भरतपुरमा सुरु भएको छ ।
मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा अनुशिक्षण तालिम सञ्चालन गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले तालिमको उद्घाटन गर्नुभयो ।
नेपाल प्रहरीको त्रिवर्षीय कार्य योजनाअनुरुप नेपाल प्रहरीका कर्मचारीबाट सेवाग्राहीलाई मुस्कानसहितको प्रहरी सेवा दिने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिमपश्चात दक्ष प्रशिक्षक उत्पादन भई आफ्नो कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीलाई मुस्कानसहितको प्रहरी सेवा प्रदान गर्ने विश्वास प्रहरी कार्यालयको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले प्रहरीको आचरण र व्यवहारमा सुधार गरी जनमुखी सेवा दिन तालिम महत्वपूर्ण हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले सामाजिक सेवामा खटिने प्रहरीले सभ्य र शिष्ट व्यवहार प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी तिलक पौडेल, नेपाल बार एसोसियसनका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका सहसमादेशक योगेन्द्र सिंह थापा, पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि पोख्रेललगायतले बोल्नुभएको थियो । दुई दिनसम्म चल्ने सो तालिममा ६३ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
धुन्चे ९रसुवा० – प्रहरी सेवालाई अझ बढी नागरिकमैत्री बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय रसुवाले जिल्लामा पहिलो पटक मुस्कानसहितको प्रहरी सेवा विषयक अनुशिक्षण कार्यक्रम सुरु गरेको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईद्वारा उद्घाटित सो अनुशिक्षण कार्यक्रमअन्तर्गत पहिलो चरणमा जिप्रका तथा प्रहरी चौकी टिमुरे र स्याफ्रुवेसी कालिकास्थानलगायतका स्थानमा सो कार्यक्रम सञ्चालन गरिएको छ भने यही जेठ महिनाभरमा जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानलाई सो प्रशिक्षण दिइने जिल्ला प्रहरी कार्यालयका प्रमुख अनुरागकुमार द्विवेदीले बताउनुभयो ।














प्रतिक्रिया