२८ आश्विन २०८३, बुधबार

दोलखाको खारे खोला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BIJULI_electricity

काठमाडौ । सरकारले दोलखा जिल्लाको खारे खोलामा निर्माण हुन लागेको खारे खोला जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरेको छ ।

कन्सोर्टियम पावर डेभलेपमेन्टले निर्माण गर्न लागेको सो आयोजनालाई ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले उत्पादन अनुमति प्रदान गरेको हो ।

विभागले दोलखा जिल्लाको खारे र चङ्कु गाविसमा आयोजना स्थल रहेको सो आयोजनालाई एक वर्षभित्र वित्तीय व्यवस्थापन गरी निर्माण सुरु गर्नसमेत निर्देशन दिएको छ ।

कूल २४ दशमलब १ मेगावाट क्षमता रहेको सो आयोजनाको लागत रु तीन अर्ब ५० करोड रहेको छ । आगामी तीन वर्ष छ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजना दोलखा जिल्लामा निजी क्षेत्रबाट निर्माण गर्न लागिएको महत्वपूर्ण आयोजना हो ।

आयोजनाबाट उत्पादित विजुली नौ किलोमिटर लामो १३२ केभीको प्रसारण लाइनमार्फत सिङ्गटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जोडिनेछ ।

सो आयोजनाबाट उत्पादन हुने विद्युत् प्राधिकरणलाई वर्षाकालमा रु ४.८० र हिउँदमा रु ८.८० पैसामा बिक्री गरिने बताइएको छ । आयोजनाको प्रवद्र्धकले प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) समेत गरिसकेको अवस्थामा तोकिएकै समयमा निर्माण सम्पन्न हुने विश्वासका साथ उत्पादन अनुमति प्रदान गरिएको विभागका सूचना अधिकृत गोकर्णराज पन्थले जानकारी दिनुभयो ।

आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा निर्माण गरिनेछ । आगामी २५ वर्षपछि सो आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । आयोजनाले वार्षिक रुपमा १३९.२१८ गिगावाट घण्टा उत्पादन गर्नेछ भने हिउँदमा २३.२७ गिगावाट घन्टा र वर्षाकालमा ११५.९७ गिगावाट घन्टा विद्युत् उत्पादन गर्नेछ । आयोजनाको ग्रसहेड ३४३ मिटर रहेको छ ।

सरकारले हालसम्म कूल ९२ वटा आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । यसरी अनुमतिपत्र दिइएका आयोजनाबाट दुई हजार ४०७ मेगावाट विद्युत् उत्पादन हुने विभागले जनाएको छ ।