काठमाडौं । डा. बाबुराम भट्टराई पक्षका तीस जनालाई केन्द्रीय सदस्य बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपछि एमाओवादी भित्रको विवाद तत्कालका लागि मत्थर भएको छ ।
५० जना केन्द्रीय सदस्य दाबी गरेपनि ३० जना केन्द्रीय सदस्यमै भट्टराईले चित्त बुझाएका छन् । तर, भट्टराईकै कोटामा केही विवादास्पद छविका व्यक्तिले समेत केन्द्रीय सदस्य बन्ने मौका पाएका छन् ।
सर्वोच्च अदालतबाट दोषी ठहरिएका ओखलढुंगाका बालकृष्ण ढुंगेल समेत भट्टराईकै दबाबमा केन्द्रीय सदस्य बनेका हुन् ।
एमाओवादीबाट सार्वजनिक गरिएको नयाँ केन्द्रीय सदस्यको सूचीमा नेपाल प्रहरीले मोस्टवान्टेड सूचीमा राखेको ढुंगेलको पनि नाम छ । ढुंगेललाई २०५५ साल असार १० गते ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतले दोषी ठहर गरि सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । ढुंगेलसँगै जन्मकैदको फैसला सुनाइएका तत्कालिन माओवादी कार्यकर्ता पुष्कर गौतमलाई भने गत साता प्रहरीले काठमाडौंको बागबजारबाट पक्राउ गरी जेल चलान गरिसकेको छ । तर, ढुंगेललाई भने एमाओवादीले राजनीतिक रुपमा पश्रय दिइरहेको छ । जेल चलान गरेर राज्यलाई सहयोग गर्नुको सट्टा केन्द्रीय सदस्य बनाएर एमाओवादीले विधिको शासन र द्वन्द्वपीडितको आँशुको उपहास गरेको पीडित सावित्री श्रेष्ठले बताउनुभयो ।
सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएपनि डा. बाबुराम भट्टराईले नै प्रधानमन्त्री भएका बेला आममाफीका लागि सिफारिस गरेका थिए । तर, ढुंगेललाई माफी दिन नमिल्ने सर्वोच्चले अन्तरिम आदेश सुनाइसकेको छ ।
उपप्रधानमन्त्री बामदेव गौतमले ढुंगेलको खोजी भइरहेको बताएपनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
एमाओवादीबाट केन्द्रीय सदस्य बनाइएका सूर्यमान दोङमा पनि ज्यान मुद्दामा मुछिएका विवाद्ति व्यक्ति हुन् । व्यक्ति हत्याको विषयमा उनीमाथि काभ्रे जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।














प्रतिक्रिया