२८ आश्विन २०८३, बुधबार

मोदीले आँशु झार्दै के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री पदमा निर्वाचित व्यक्तित्व नरेन्द्र मोदीले मंगलबार आफ्नो आँसु दबाउँदै आफूले जगाएको जनताको अपेक्षा पूरा गर्न प्रयास गर्ने बचन दिनुभएको छ ।

उहाँले भारतको आमनिर्वाचनमा अत्यधिक मतले विजय हासिल गरी पहिलोपटक संसदमा प्रवेश गरेपछि मोदी निकै भावुक देखिनुभयो ।

त्रिसट्ठी वर्षीय नेताले संसदभवन प्रवेश गर्नुपूर्व त्यसका खुट्किलामा चुम्बन गर्नुभयो र ढोग्नुभयो । यसपछि उहाँ हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टीको बैठकमा पुग्नुभयो । यसपछि पार्टीका सहयोगी दलहरूले उहाँले मे २६ मा प्रधानमन्त्री पदको सपथग्रहण गर्ने निर्णय गरे ।

उहाँलाई संसदमा भावपूर्ण स्वागत गरिएको थियो । मोदीले संसदको मूल सभाकक्षमा सम्बोधन गर्नुभयो । उहाँको रुवाइका साथमा भारतीय जनता पार्टीका प्रमुख व्यक्तिहरूको पनि आँसु देखिएको थियो ।

उहाँले संसदलाई प्रजातन्त्रको मन्दिर बताउँदै यसमा एक अर्ब २५ करोड जनताको आशा र अपेक्षा कायम भएको बताउनुभयो । उहाँले आफू एक चिया पसलेको छोराको रूपमा जन्मेको पनि उल्लेख गर्नुभयो ।

शुक्रबार भारतीय जनता पार्टीले सन् १९८४ पछि पहिलोपटक बहुमत प्राप्त गरेपछि उहाँले एउटा सामान्य मानिसमा आत्मविश्वास र प्रजातन्त्रप्रति आशा फेरि जागेको बताउनुभयो ।

उहाँले ग्रामीण क्षेत्र, किसान, दलित, कमजोर तथा पीडित व्यक्तिका लागि आफ्नो सरकार भएको, उनीहरूको आशा तथा आकांक्षा पुरा गर्नु आफूहरूको जिम्मेवारी भएको र गरिब व्यक्तिहरूले आफूलाई यहाँ पठाएको बताउनुभयो ।

उहाँले आफ्ना गुरु एल.के. आडवाणीको भनाइलाई उद्धरण गर्दै आँसु खसाउनुभयो, पानी पिउनुभयो र भारतीय जनता पार्टी आफ्नो आमा भएको बताउँदै यसको सेवा गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले आफूले जनताको अपेक्षा पुरा गर्ने र उनीहरूको आशा खेर जान नदिने बताउनुभयो । यसअघि उहाँ दक्षिणपन्थी नेसनल डेमोक्र्याटिक एलायन्सको नेतामा निर्वाचित हुनुभएको थियो ।

सन् २००१ देखि गुजरातका मुख्यमन्त्री रहनुभएका मोदी आइतबारदेखि सरकार गठन गर्ने विषयमा वार्तामा रहनुभएको छ र उहाँले आउँदो सोमबार राष्ट्रपति प्रणव मुखर्जीसँग सपथग्रहण गर्नुहुनेछ । यसपछि उहाँ मंगलबार गुजरात जाने अपेक्षा गरिएको छ ।

मोदीले मंगलबारै राष्ट्रपति मुखर्जीसँग पनि भेट गर्नुभयो । रासस÷एएफपी