काठमाडौं । नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा धुव्रीकरण पनि तीव्र हुँदै गएको छ । सर्वसम्मत रुपमा मुख्य नेतृत्व चयन हुने बताइरहे पनि नेताहरु समूह बनाएरै महाधिवेशनमा होमिएका छन् ।
यसैक्रममा सोमबार राजधानीमा गरिएको कार्यक्रममा उपाध्यक्ष विद्यादेवी भण्डारीले अध्यक्षका आकांक्षी संसदीय दलका नेता केपी शर्मा ओली समूहको केही पदाधिकारीहरुको नाम सार्वजनिक गर्नुभयो । उपाध्यक्ष भण्डारीले यो समूहबाट अध्यक्षमा केपी, वरिष्ठ उपाध्यक्षमा बामदेव गौतम र महासचिवमा इश्वर पोखरेललाई प्रस्ताव गर्नुभयो ।
उपाध्यक्ष भण्डारीले नवौं महाधिवेशनबाट पार्टी अध्यक्षमा ओली सर्वसम्मत हुने दावी पनि गर्नुभयो । उहाँले पार्टीको मुल नेतृत्व सर्वसम्मत बनाउनुपर्ने र अन्यमा प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो । ओलीलाई अध्यक्ष बनाउन वर्तमान अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालको सर्मथन रहनुपर्ने भण्डारीले बताउनुभयो । त्यसो गर्न सकिए पार्टीको लोकतान्त्रिकरण, दीर्घजीवन र पुस्ता हस्तान्तरणमा सहयोग पुग्ने उहाँको कथन थियो ।
२०५६ सालपछि एमालेमा शक्तिशाली, सर्वैसर्वा र सर्वसम्मत महासचिव रहेर वरिष्ठ नेता नेपालले जंगबहादुरको शैलीमा आफ्नो शासन चलाइसकेको फेरि दाबी गरिनु उपयुक्त नहुने बताउनुभयो । नेता नेपालले योग्यता र क्षमता देखाइसकेकाले अब अर्काे नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो । नेता ओली एक कार्यकालका लागि अध्यक्ष हुने र एक पदमा एक जिम्मेवारीको नीतिमा अडिग रहने स्पष्ट पार्नुभयो ।
एमाले संसदीय दलको निर्वाचनमा नेता ओलीलाई सघाउने गठबन्धनको निरन्तरता दिँदै महाधिवेशनमा सोहीअनुसार नेतृत्व हस्तान्तरण गराउने उद्घोष पनि कार्यक्रममा गरियो ।
कार्यक्रममा पार्टी सचिव विष्णु पौडेल र पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेले पनि अबको पार्टी अध्यक्ष ओली हुनुको विकल्प नभएको दावी गर्नुभयो ।
सचिव पौडेलले पार्टी विधानमा दुई कार्यकाल प्रमुख नेतृत्वमा रहने वैधानिक व्यवस्था भएको जनाउँदै माधव नेपाललाई लक्षित गर्दै भने, ‘१५ बर्षसम्म गर्न नसकेको कुन काम बाँकी छ र उहाँले नेतृत्वको दाबी गर्नुहुन्छ ?’
मदन भण्डारीको अवसानपछि ओलीले नै माधवलाई महासचिव बनाउन प्रस्ताव गरेकाले यसपटक नेपालले ओलीलाई सघाउनुपर्ने उहाँले बताउनुभयो ।
सचिव पौडेलले अहिले मेचीदेखि महाकाली र देशविदेशका सबै कार्यकर्ताले नेता ओलीलाई अध्यक्ष देख्न चाहेको भन्दै उहाँले महाधिवेशन अब असार १९ देखि २४ मै हुनेमा पनि ढुक्क हुन आग्रह गनुैभयो । नेता ओली केही दिनमै स्वस्थ्य भएर स्वदेश फर्कने पौडेलले बताउनुभयो ।
अर्का सचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको सिद्धान्तको जगमा मुलुकलाई आर्थिक सामाजिक रुपान्तरणका लागि नेता ओली अध्यक्ष हुनुपर्ने जिकिर गर्नुभयो ।
पोलिटब्युरो सदस्य न्यौपानेले ओलीलाई अध्यक्ष बनाएर नेता माधव नेपाल अभिभावकको भूमिकामा जानुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा एमालेका नेताहरु रामनाथ ढकाल, किरण गुरुङ, थममाया थापालगायतको उपस्थिति थियो । पार्टीका महासचिव ईश्वर पोखरेल भने अस्वस्थताका कारण अनुपस्थित हुनुहुन्थयो ।














प्रतिक्रिया