काठमाडौं । । केही महिनादेखि बन्द अवस्थामा रहेको पशुपतिनाथको पूजा आराधना यथाशिघ्र सुचारु गर्न कलाकारहरुले जोडदार माग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गर्दै कलाकार अमित ढुंगानाले नेपालको संस्कृति, धरोहर, धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ लामो समयदेखि विवादमा परेकोले चिन्ता व्यक्त गर्दै यथाशिघ्र धार्मिक कार्य तथा पूजा–आराधना सुचारु गर्नुपर्ने बताए ।
उनले भने– ‘के कति कारणले यस्तो पवित्र ठाउँमा राजनीति भएको हो या विवाद भएको यसको बारेमा छानविन गर्नुपर्छ । सत्य–तथ्य कुरा बाहिर आउनुपर्छ । सुन्नमा यो पनि आएको छ कि, दक्षिणाको वादविवाद पनि छ भन्छन्, के हो त ? यसको बारेमा यथार्थ जानकारी हामीले पाउनुपर्छ । अनन्य भक्तजनहरुले पूजा गर्न पाउनुपर्छ । यसरी बन्द हँुदा पशुतिनाथबाट उठ्ने ठूलो मात्राको आर्थिक आम्दानी नै बन्द भएको छ । यसले राष्ट्रलाई नै ठूलो क्षति पुगेको छ ।’
कार्यक्रममा नायकद्वय रमित ढुंगाना र रामेश्वर बुर्लाकोटीले पनि पशुपतिनाथको पूजा रोकिएकोमा चिन्ता व्यक्त गर्दै चाँडो भन्दा चाँडो पूजा आराधना सञ्चालन गर्न आग्रह गरेका छन् । रमितले भने–‘पवित्र ठाउँमा यस्तो विवाद किन भएको हो ? यो सवैको लागि चिन्ता र चासो हुनु स्वभाविक हो । तर कलाकार भएको नाताले हाम्रो धर्म, संस्कृति तथा धरोहरहरुको संरक्षण तथा प्रर्वद्धन गर्नु पनि हाम्रो दायित्व हो । हाम्रो देशको गौरव भनेको नै सगरमाथा, भगवान पशुपतिनाथ, भगवान गौतम बुद्ध र जानकी मन्दिर हुन । यिनै सांस्कृतिक सम्पदालाई जोगाउन पनि हामी सवै सजग हुनुपर्दछ ।’
त्यस्तै सबिता राणाले पनि पशुपतिनाथ जस्तो पवित्र ठाउँमा लाखौँ भक्तजनहरुले पूजा गर्न नपाउनु भनेको विडम्बना भएको भन्दै यसमा सवै सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको बताइन । बन्द भएको पवित्र धार्मिक पाशुपत मन्दिर चाँडो भन्दा चाँडो सुचारु गर्नुपर्छ ।
उनले भनिन्– ‘हामी कसैको प्रतिनिधित्व गरेर यहाँ आएको होइन् । विशुद्ध एउटा भक्तजनको हिसावले चासो व्यक्त गरेका हौं । अब चाँडो भन्दा चाँडो पूजा आराधना गर्ने वातावरण सिर्जना गर्न समेत उनले आग्रह गरिन् ।’














प्रतिक्रिया