२८ आश्विन २०८३, बुधबार

विदेशबाट एड्स उपहार…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HIV-Aids

काठमाडौं। आफू जस्तै एचआइभी/एड्स पीडित महिलाहरूसँगै भएकाले पनि होला ३६ वर्षीया चमेली भण्डारीलाई रोग लागेर केही हुँदैन बाँच्नका लागि आत्मविश्वास हुनु ठूलो कुरा हो जस्तो लाग्छ । दुई वर्षअघिसम्म पनि आफ्नो जीन्दगी कसरी बिताउने, एउटी छोरी कसरी हुर्काउने भन्ने एउटै चिन्ताले उनलाई सताउने गर्दथ्यो । उनले आफूलाई एड्स लागेको दुई वर्षअघि मात्र थाहा पाइन् । तनहुँकी चमेलीका परिवारलाई अझैसम्म उनी एड्सपीडित हुन् भन्ने कुरा थाहा छैन ।

उनी आफूलाई एड्स लाग्नुको कारणबारे भनिन्– “मेरो १७ वर्षकै उमेरमा विवाह भएको थियो । श्रीमान् सानैमा भागेर बम्बै गएका रहेछन् । विवाहका लागि माग्न आउँदा मेरो परिवारले केटा जागिरदार रहेछ, पक्कै पनि छोरीलाई राम्ररी पाल्न सक्छ भन्ने सोचेर विवाह गरिदिए ।” विवाहपछि श्रीमान् श्रीमतीबीचको सम्बन्ध राम्रै थियो । तर चार वर्षअघि श्रीमान्को मृत्यु भएपछि परिवारको सिम्पूर्ण जम्मेवारी उनको काँधमा थपियो । अब कसरी परिवारलाई अगाडि बढाउने भन्ने चिन्ताले मलाई सतायो । त्यसैले म दुईवर्षअघि काम गरेर पैसा कमाउने र परिवारलाई राम्ररी पाल्ने आसमा काठमाडौँ आएँ, आफू सहर छिर्नुको कारण उनले सुनाइन् ।

विस्तारै उनलाई खोकीले सताउन थाल्यो । पछि जचाउँदा क्षयरोग देखिएपछि औषधि खान थालिन् । तर औषधिले केही असर नगरेपछि चिकित्सककै सल्लाहमा उनले एचआइभी / एड्स परीक्षण गराउँदा ‘पोजेटिभ’ देखेपछि उनले एन्टी भाइरल औषधि लिन थालेकी छिन् । आफूलाई एड्स लागेको थाहा पाएपछि उनले आफ्नी २० वर्षीया छोरीलाई पनि कतै एड्स छ कि भनेर परीक्षण गराइन् तर उनकी छोरीलाई भने लागेको रहेनछ । उनी यसैमा खुसी छिन् कि आफ्नो जीवन अनिश्चित भए पनि छोरीले आफ्नो जीवन आफ्नै ढङ्गले जीउन सक्छे ।

यो व्यथा चमेलीको मात्र होइन, असङ्ख्य नेपाली महिलाको नियति नै बन्ने गरेको छ । जीवनको आधाभन्दा बढी उमेर जिइसकेकी ४२ वर्षीया सीमा भुजेल आफूले गर्दै नगरेको गल्तीको सजाय भोग्नुपरेको बताउँछिन् । पैसा कमाउने आशामा विदेशिन पुगेकी सीमालाई पाठेघरको समस्याले सताएपछि छ महिना नपुग्दै नेपाल फर्कनुप-यो ।

विदेश जानुअघि उनले तीन महिनाको गर्भपतन गरेर गएकी थिइन् । उनी भन्छिन्, “तीन महिनाको गर्भपतन गराएकाले त्यति बेला धेरै रगत बग्यो । जसको कारण मेरो शरीर असाध्यै कमजोर भएको थियो । गर्भपतन गर्नेबित्तिकै विदेशिनु र शारीरिक श्रम धेरै गर्नुपरेकाले होला धेरै पेट दुख्ने समस्या देखियो ।”

पछि नेपाल फर्केर उपचार गराउँदा पाठेघर त काम नलाग्ने भइसकेछ, जसको कारण मैले पाठेघर नै फाल्नुप-यो । श्रीमान्ले पनि उपचार गराउन सहयोग गर्नुभयो, उनले भनिन्, “तर केही समयपछि नै विभिन्न शारीरिक समस्याले सताउन थाल्यो । निरन्तर उपचार गराउँदा पनि निको भएन । पछि विदेश गएको मान्छे भन्दै एड्सको परीक्षण गराउन लगाइयो । नभन्दै परीक्षण गर्दा मलाई एड्स लागेको निश्चय भयो ।”

उनलाई एड्स लागेपछि पक्कै पनि श्रीमानलाई लागेको हुनुपर्छ भन्ने शङ्कामा उनका श्रीमानले पनि एड्सको परीक्षण गराए । तर उनको रगतमा भने एड्स देखिएन । त्यसपछि सबैले उनलाई नकारात्मक दृष्टिले हेर्न थाले । “मैले विदेशमा गएर अरूसँग अनुचित सम्बन्ध राखेँ भन्ने प-यो, तर मैले श्रीमान बाहेक  कसैसँग पनि शारीरिक सम्बन्ध राखेको थिइनँ । त्यसैले कसरी यो रोग लाग्यो भन्ने सोच्न थालेँ । अनि एउटा निष्कर्षमा पुगेँ की मलाई पाठेघरको शल्यक्रिया गर्ने बेलामा उपकरणहरू निर्मलीकरण नगरिएका हुनुपर्छ”, उनले भनिन् ।

मेरो उपचारमा संलग्न चिकित्सकहरूसँग गएर झगडा पनि गरेकी थिएँ, तर त्यो व्यर्थ भयो चिकित्सकहरूले आफ्नो गल्ती हुँदै नभएको भन्न छाडेनन्, उनी भन्छिन्, “मेरो श्रीमानले पनि मेरै गल्ती हो भन्दै मलाई छाडिदिए । अहिले मेरो आँखामा पनि समस्या देखिएको छ । एउटा आँखाले देख्न छाडेकी छु । ‘इन्फेक्सन’ भएको रे डाक्टरले भनेका ।”

उनको जीवन अहिले गोदावरी, टौखेलस्थित आसा नेपालको आश्रयमा बितेको छ । निःसन्तान उनी त्यहाँ रहेका अन्य महिलाका सन्तानलाई खेलाएर मातृत्व सुख महसुस गर्ने गर्छिन् ।

धादिङकी ४१ वर्षीया राममाया तामाङको श्रीमान्को मृत्यु भएको १२/१३ वर्ष भइसकेको छ । उनलाई त श्रीमानलाई एड्स रहेको पनि थाहा थिएन । वास्तवमा उनलाई एड्स भनेको के हो भन्ने पनि जानकारी थिएन । उनलाई अहिले पनि एड्सको बारेमा जानकारी छैन । यो रोग लागेपछि मान्छे धेरै बाँच्दैन भन्नेचाहिँ उनलाई थाहा छ ।

उनको विवाह १९ वर्षकै उमेरमा भएको थियो । एकछिन विगततर्फ सम्झँदै उनले भनिन्, “‘गाउँघरमा विवाह गराइदिने होड नै चल्थ्यो । मलाई पनि आफन्तले नै उनीसँग भेट गराई विवाह गराइदिएका थिए । सन्तानमा एउटी छोरी मात्र छे । श्रीमान् भारतको एउटा कम्पनीमा काम गर्न जान्थे । तर पछि सन्चो नभएर उनी फर्किए । नेपाल फर्केपछि श्रीमान् निरन्तर बिरामी भइरहन्थे । मेडिकलमा गएर औषधि खाइरहने भए पनि अन्ततः उनको मृत्यु भयो ।

श्रीमान् बितेको ५/६ वर्षसम्म पनि उनको मृत्यु के कारणले भयो भन्ने थाह थिएन । पछि विस्तारै उनलाई पनि दम, निमोनियाजस्ता रोगले सताएपछि उपचार गराउनतर्फ लागिन् । अनि थाहा पाइन् की उनलाई एड्स लागेको रहेछ भनेर । श्रीमान्बाट एड्सजस्तो रोगको ‘उपहार’ पाएकी राममायाका अन्य दौँतरीको पनि हालत उस्तै थियो । उनीहरूको श्रीमान्लाई पनि एड्स लागेको कतिको त मृत्यु पनि भइसकेको थियो । त्यसपछि उनले थाहा पाइन् आफूलाई पनि श्रीमान्का कारण यो रोग लागेको रहेछ भन्ने ।

उनकी २० वर्षीया छोरीलाई भने एड्स छैन । उनले पनि विवाह गरिसकेकी छिन् । आसा नेपालमा बस्ने राममायालाई भेट्न छोरी ज्वाइँ कहिलेकाहीँ आउने गर्दछन् ।

सो संस्थामा उनीहरूजस्तै एचआइभी/एड्स पीडित, असहाय १७ महिला आश्रित छन् । १८ वर्षअघि स्थापना भएको सो संस्थामा ती महिलाका तथा अन्य असहाय गरी २१ बालबालिका यही बस्छन् ।

एचआइभी/एड्स पीडित यी महिलालाई परिवार तथा समाजले हेला गरी बेवास्ता गर्न थालेपछि असहाय बनेका उनीहरूको लागि आसा नेपाल साँच्चै नै आसाको केन्द्र बन्न पुगेको छ । संस्थाकी निर्देशक विमला थापाले उनीहरूलाई बाँचुन्जेलसम्म बस्न र दुई छाक खानाको व्यवस्था मिलाइएको बताउनुभयो । आफ्नै वा श्रीमान्को कारण एड्स रोग लागेर मत्युसँग सङ्घर्ष गरिरहेका असहाय महिलालाई जीउने आत्मविश्वास जगाउन सफल भएकामा उहाँ खुसी हुनुहुन्छ । रासस