२८ आश्विन २०८३, बुधबार

जस्ले सुने मृत्युशैयाका बालकको पुकार….

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tok-Bahadur-Thapa

काठमाडौं । दैनिक नेपाल डटकमले बिहीबार १ लाख २३ हजार रुपैंया हस्तान्तरण गरेको समाचार प्रकाशित भएपछि खोटाङका ब्लड क्यान्सर पीडित १५ वर्षीय तोकबहादुर थापालाई बचाउन सकिने सम्भावना बलियो हुँदै गएको छ ।

समाचार पढेपछि मित्रहरुले अमेरिकामा रहेका नेपालीहरुले करिब २ लाख रुपैंया सहयोग गर्ने वाचा गरेका छन् ।

अमेरिकामा यस अभियानको संयोजन गरिरहेका नेपाल-अमेरिका पत्रकार संघका क्षेत्रीय उपाध्यक्ष विकासराज न्यौपानेलाई विभिन्न व्यक्तिहरुले सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

अहिलेसम्म टेक्सासका अम्बिका राउत, डा. मुरली अधिकारी, डा. मोहन अधिकारी, विनय अर्याल, दीपक कोइराला, बन्दना हमाल, सिकागोका सुरेश बस्याल, नेपाली समाज टेक्सासका अध्यक्ष भुवन आचार्य, गोकर्ण दाहाल, बाला घिमिरे, हरि थापा, तुलसा शर्मा, सुलोचना घिमिरे, टिकाराम ज्ञवाली, सविता न्यौपाने, छवि चापागाईं, निकिता गौतम, माला महत, अरु बस्नेत, केदार केसी, गौरी जोशी लगायतले सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।

सहयोग गर्न चाहनुहुने महानुभावले [email protected], [email protected] र [email protected] मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।

काठमाडौंको सिभिल अस्पतालमा उपचाररत थापाका लागि अहिलेसम्म आठ लाख रुपैंया संकलन भइसकेको छ । बाँकी १२ लाख रुपैंया उपचार खर्च जुटाउन सके उनले नयाँ जीवन पाउन सक्ने चिकित्सकहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्:

मृत्युशैयामा छटपटिएका बालकको एसएलसी टप्ने धोको

Child-health-cancer-victim

काठमाडौं । जीवनमा सबैका आफ्नै सपना हुन्छ । एसएसलसी टप गर्ने अनि डाक्टर बन्ने धोको छ, खोटाङ बाम्राङका १४ बर्षीय तोकबहादुर थापाको । अहिले उनी नौ कक्षामा पढ्छन् । कक्षामा सँधै पहिलो हुन्छन् । अहिले उनलाई ब्लड क्यान्सर भएको छ । तर, काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालको शैयामा छटपटिँदा पनि उनले हिम्मत हारेका छैनन । भन्छन्, ‘बाँचे भने एसएलसी टप गर्ने योजना छ । गरिब मान्छे, निको भएपछि मेहनत गर्छु र गरिबकै सेवामा काम गर्छु ।’

केही महिना उनी एकाएक बिरामी परे । घरमा सामान्य पढ्न जान्ने आमा छिन्, बाबु वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । उनलाई के रोग लाग्यो ? अस्पताल चाहर्दाचाहर्दै एक लाख रुपैंया सकियो ।

काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएपछि थाहा भयो, उनलाई ब्लड क्यान्सर भएको । थापा परिवारमा एकाएक विस्मात आइलाग्यो । झन् अस्पतालले २० लाख रुपैंया जुटाउन भनेपछि त उनीहरुको होसह्वास नै उड्यो । तैपनि थापा परिवारले हिम्मत हारेनन् । सुरु भयो, सहयोगी हातहरुको खोजी ।

बालकलाई ब्लड क्यान्सर भएको थाहा पाएका झापा सुरुंगाका नारायण कटुवालले बेलायतमा अभियान नै चलाए । लण्डनको ग्लीण्डर विश्वविद्यालयका विद्यार्थी नारायणको अभियानबाट प्रभावित भएर उनको विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु खाजा खर्च कटाएर १ लाख २३ हजार ६५ रुपैंया सहयोग गरे ।

नारायणले बेलायतबाट काठमाडौंमा दैनिक नेपाल डटकमलाई पठाइदिएको उक्त रकम बिहीबार स्वास्थ्यमन्त्री खगराज अधिकारी र दैनिक नेपालका सम्पादक गणेश पाण्डेले अस्पतालमै पुगेर हस्तान्तरण गरे ।

Swasthyakhabar

कार्यक्रममा मन्त्री अधिकारीले पैसाभन्दा भावना ठुलो कुरो रहेको बताएका छन् । ‘यति सहयोगले उपचार खर्च नपुग्ला तर यो लोककल्याणकारी सेवा हो,’ मन्त्री अधिकारीले भने, ‘विदेश बस्ने र स्वदेशका नेपालीबीच भावना साटासाट भएको छ ।’ गरीब परिवारमा जन्म भयो भने उपचार नपाएर मर्नुपर्ने अवस्था रहेको मन्त्री अधिकारीको भनाई छ । ‘उपचार सेवा सबै नेपालीले समानरुपमा पाउनुपर्छ’ मन्त्री अधिकारीले भने । 

सिभिल अस्पतालका निर्देशक डा. विमल थापाका अनुसार, अहिले दोस्रो चरणमा उनको उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरुले समयमै आवश्यक खर्च जुटाउन सके तोकबहादुरलाई बचाउन सकिने बताउँदै आएका छन । तर, त्यति ठूलो रकम आफै जुटाउन नसक्ने भएपछि थापा परिवार मुटुको टुक्रा समान आफ्नोे छोरालाई कतैबाट जिवनदान हुन्छ कि भनेर बाटो हेरेर बसिरहेको छ ।

तोकबहादुरको उपचारका क्रममा उनीसंगै उनकी दिदी, काका लगायतका केही आफन्तले उनको हेरचाह गरिरहेका छन । आफनो नाबालक भाइको क्यान्सरसंगको लडाईँकी सुरुदेखिकै साक्षी उनकी दिदी रेखाले भनिन, ‘अहिले केमोथेरापी चलिरहेको छ, त्यसपछि बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्नेछ । तर, त्यसका लागि आवश्यक रकम कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ ।’

अहिलेसम्म उपचारका लागि सात लाख रुपियाँ खर्च भइसकेको उनले बताइन ।

उनको परिवारमा बाबुआमासंगै एक दाई र एक दिदी छिन । थापाकी आमा देबिमाया पनि विगत केहिवर्षदेखि मुटु र फोक्सोसम्बन्धी व्यथाले गम्भीर रुपमा थलिएकी छिन ।

मुटु र फोक्सोको रोगी श्रीमतिको खर्चिलो उपचार र पाँच जनाको परिवारको हातमुख जोडनुपर्ने दायित्व । तोकबहादुरका बाबु खड्गबहादुरको केहि जोर चलेन र केहि वर्ष पहिले मजदुरीका लागि कतार हानिएका थिए । उनले कतारमा गर्ने न्यूनतम कमाइबाट बचत गरेर पठाउने सानो रकमबाट जसोतसो देवीमायाको उपचार र परिवारको गुजारा चलाउन समेत हम्मेहम्मे थियो । त्यसमाथि तोकबहादुरको क्यान्सरको उपचारका लागि बीस लाख लाग्ने भएपछि त त्यति ठूलो रकमका लागि उनीहरुको सार्मथ्यले नभेटेको हो ।

यसैबीच, तोकबहादुरको जीवन बचाउका लागि परिवारले गरेको आग्रहमा केहि आर्थिक सहयोग समेत प्राप्त हुन थालेको छ । साउदी र कतारमा उनका बाबुसँगसँगै काम गर्ने नेपालीहरुको सहयोगमा जम्मा भएको ६ लाख रुपियाँ थापा परिवारलाई प्राप्त भएको छ । त्यस्तै, उनलाई बचाउन अझै ठूलो रकम जम्मा गर्न बाँकी रहेपनि आर्थिक सहयोग आउन थालेपछि थापा परिवारलाई तोकबहादुरको अमुल्य जीवनमाथिको आशा पलाएकोे छ ।