२८ आश्विन २०८३, बुधबार

टेलिभिजन छाडेर अमेरिका पुग्दा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anuj-Thapa1

एउटा नयाँ उमँग र उत्साहका साथ यो पंक्तिकार अमेरिकाको यात्रामा सन् २०१४ अप्रिल २४ तारिखका दिन गएको थियो । निकै नै रोमाञ्चक यात्राको साथ ऊ त्यहाँ पुग्यो र त्यहाँ पनि रोमाञ्चक यात्रा जारी छ ….. अब एकछिन् pause गरौं र rewind गरौं… (टेलिभिजनमा काम गर्ने भएर त्यही भाषा प्रयोग गर्न मन लाग्यो )

शुरुवात

न्यूज २४ टेलिभिजनमा २०६६ साल कार्तिक १८ गते यो पंंक्तिकारको प्रवेश भएको थियो । यो पाँच वर्षको अन्तरालमा निकै धेरै उतारचढाव आयो पंक्तिकारको करिअरमा पनि । तर, समग्रमा निकै नै रोमाञ्चक रह्यो त्यहाँको यात्रा । विशेषगरी युवापुस्ता केन्दि«त कार्यक्रमका कारण यो पंक्तिकारको कार्यक्रमलाई रुचाइएको थियो । हरेक शनिबार Issue of the day नामका कार्यक्रममा सधैं नयाँ–नयाँ र रोचक कार्यक्रम बनाउन दर्शकहरुबाट पनि प्रतिक्रिया पाउँथें । त्यस्तै, खेलकुदसम्बन्धी कार्यक्रमहरुले पनि युवा पुस्तामा एउटा क्रेज बन्यो । फुटबल, क्रिकेट, तेक्वान्दो जस्ता खेलकुदका खेलाडीहरुलाई कार्यक्रममा निम्त्याएर नेपाली खेलकुदको प्रवर्दनमा पनि केहि थोरै मात्र भुमिका निभाउन पाउँदा पनि उत्तिकै मन आनन्दित हुन्थ्यो । त्यसको अलावा अनौपचारिक हिसाबले कार्यक्रम सञ्चालन गर्ने खुबीको प्रशंसा र आलोचना दुबै भयो ।

यस मामलामा यो पंक्तिकारलाई के लाग्छ भने अब जमाना औपचारिकताको रहेन । मानिसहरु औपचारिक कार्यक्रमहरुबाट बोर भइसके । धेरै टाढा जानै पर्दैन, नेपालमै प्रशारण भइरहेको सीएनएन र अल जजिरा हेरे पुग्छ, त्यहाँ समाचार प्रस्तुत गर्दा यति अनौपचारिक शैली अपनाइन्छ कि त्यसले दर्शकलाई मज्जाले बाँध्न सफल हुन्छ । अब न्यूजमा परम्परागत शैलीलाई तोड्न जरुरी छ । तर खैर अरु कुनै बेला यो कुरामा चर्चा गर्नेछु ।

Anuj-Thapa

न्यूज २४ टेलिभिजनमा करिब ५ वर्ष टेलिभिजनमा काम गरेपश्चात भन्न मन लागेको कुरा यस प्रकार छ । उक्त टेलिभिजनमा यदि तपाईँ सिर्जनशील हुनुहुुन्छ भने तपाईँलाई पूरै आफ्नो सिर्जनशीलता देखाउने मौका दिइन्छ र यसका लागि यो पँक्तिकार सदैव उक्त संस्थाप्रति आभारी छ ।

यो पंक्तिकारले टेलिभिजनको कखरा नै त्यहीँ सिकेको होे । यसबीचमा अरु टेलिभिजनहरुबाट पनि अवसरहरु आउँदा यो मन विचलित नभएको भने पक्कै होइन । तर, त्यो स्थानमा सिर्जनशीलता देखाउने जुन मौका छ, त्यो अरुमा नहुने भएर गइएन ।

साँच्चै नै रिपोर्टिङ, एकंरिङ, प्रोड्युसिङ आदि सबै विधामा आफूलाई पारंगत बनाउन सकियो, त्यसमा एकदमै खुशी लागेको छ । (यसबीचमा टेलिभिजन पत्रकारितमा आउन चाहने सबैलाई सन्देश चाँहि के दिन मन छ भने तपाईँ पनि रिपोर्टिङ देखि लिएर प्रोड्युसिङसम्म सबै विधामा हात हाल्नुहोला किनभने यसले तपाईँलाई टेलिभिजन करिअरमा अगाडि बढाउनका लािग निकै नै सहयोग गर्छ )

मध्य

यसरी टेलिभिजनको करियर राम्रो गतिमा अगाडि बढ्दै जाँदा अकस्मात अमेरिका जाने मौका जु¥यो । यो मौका प्राप्त गर्दा एक हिसाबले अलमलमा पनि परियो । एउटा राम्रो रफ्तारमा अगाडि बढिरहेको करिअरलाई नै अगाडि लाने कि अब फेरि शुन्यबाट यात्रा शुरु गर्ने । घर सल्लाह, साथी र जीवनसाथीसँगको सल्लाह पश्चात अन्ततः देश छोडेर विदेश जाने निर्णय गरियोे । यो निर्णय लिनुको पछाडि एउटै कारण थियो – देश त देखियो अब संसार देख्नुछ । त्यहँ गएर आफ्नै विधामा थप अध्ययन गरेर केहि समय त्यही नै काम गरेर देश फर्किने सोचका साथ विदेश जाने भइयो । यसबीचमा २०७१ साल वैशाख ८ गते राती ८ बजेको अन्तिम न्यूज बुलेटिन पढेर न्युज २४ टेलिभिजनबाट पनि बिदा मागियो यसरी ।

सन् २०१४ अप्रिल २४ तारिखका दिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नका लागि त्रिभुवन विमानस्थल पुगियो । विमानस्थलमा पुग्दा त्यहाँभित्र कार्यरत कर्मचारीहरुले यो पंक्तिकारलाई चिनेर अमेरिका जानुको पछाडिको कारण सोध्दै – ‘ल है गएपनि तपाईँहरु फर्किनु चाँहि पर्छ है’ भन्दा साँच्चै नै खुशी लाग्दो रहेछ । अझ अर्काे रोचक कुरा त के रह्यो भने न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलमा समेत एक नेपाली महिलाले यो पंक्तिकारलाई चिनेर कुरा गर्न आउँदा एकदम खुशी लाग्यो । र उनले पनि त्यही सल्लाह दिइन् जुन् अधिकांशले दिएका थिए – ‘नेपाल चाँहि फर्कनु है !’

Anuj-Thapa2

यसरी अप्रिल २५ तारिखका दिन न्युयोर्क पुगियो र शुरु भयो न्युयोर्कमा यात्रा । निकै नै रमाइलो भइरहेको छ यो यात्रा । हरेक कुरा सिस्टममा चलेको देश रहेछ अमेरिका । यहां आएर केही समय घुमघाम पश्चात शुरु भयो कामको खोजी । यहाँ आफ्नो योग्यता अनुसारकै काम खोज्न शुरु भयो । तरm शुरुमै टेलिभिजनसम्बन्धी नै काम पाउन चाहि गाह्रो रहेछ । त्यसैले शुरु भयो अन्य विकल्प । सबभन्दा पहिला काम गरियो, एउटा स्टोरमा । तर, त्यहाँ एक रात काम गर्ने बित्तिकै थाहा भयो यो काम गर्न सकिन्न भनेर । अनि अर्काे दिन नै छोडियो । त्यस्तै, दुई दिन पनि एउटा एनजीओमा काम गर्न थालियो । तर त्यहाँ पनि २ दिन गरेपछि थाहा भयो, यो काम गर्न सकिन्न रहेछ भनेर । त्यहाँका म्यानेजरले यो पंक्तिकारको बारेमा भनेको यो विचार चाँहि मज्जाको थियो –Anuz, you are not fit for this job, you deserve tv अर्थात अनुज, तिमी यो काम गर्नका लागि योग्य छैनौं, तिमी टिभीका लागि योग्य छौं । त्यहाँको म्यानेजरले त उल्टै यो पंक्तिकारको बारेमा फेसबुक र यु ट्युबमा रिसर्च गरेर भन्यो – you deserve lot better अर्थात तिमी यो भन्दा राम्रो काम पाउनका लागि योग्य छौ । यसले एक किसिमको सन्तुष्टि चाँहि मिल्यो किनभने उक्त म्यानेजरले यो पंक्तिकारको कार्यक्रमको भाषा नबुझेपनि प्रस्तुतिको प्रशंसा गर्‍यो ।

अन्त्य

यसरी न्युयोर्कमा यो पंक्तिकारको यात्रा जारी छ । नेपालमा एक हिसाबले स्थापित यो नामलाई यहाँ पनि स्थापित बनाउनु छ । केही समयको लागि यहाँ आफूले खोजे अनुसार काम नपाएपनि यहाँ अन्ततः काम पाउने निश्चित नै छ । किनभने क्षमता भयो भने यहाँ हरेक कुरा सम्भव छ भन्छन् । केहि समयको काम (अहिले खोजेजस्तो नपाएपनि), अनि पढाइ शुरु गरिनेछ (पत्रकारिता सम्बन्धी नै) र यहाँकै मिडियामा काम गर्ने सोच छ । यहाँ केहि समयको काम पश्चात अन्ततः नेपाल फर्किनै नै सोच छ किनभने यहां सिकिएको शीपलाई स्वदेशमा नै उपयोग गर्नु मन छ । युवा पुस्ताले नेपालको मिडियामा धेरै गर्नुछ । विदेश जाने कुराको यो पंक्तिकार कहिले विरोधी भएन । उ चाहन्छ जो कोही विदेश गएपनि पछि विदेशमा सिकेको शीपलाई चाँहि स्वदेशमा सदुपयोग गरोस् ।

अन्त्यमा फेरि पनि यो पंक्तिकारलाई के आत्मविश्वास छ भने ऊ यहाँको सीप सिकेर पक्कै पनि स्वदेश फर्कनेछ । किनभने यो वाक्यले उसको दिमागमा अझै डेरा जमाइरहेको छ – Anuz, you are not fit for this job, you deserve tv.