२८ आश्विन २०८३, बुधबार

बुद्धलाई पूर्णे लाग्थ्यो, के होला रहस्य ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

buddha-purne5

– डा. कविताराम श्रेष्ठ 

गौतम बुद्धलाई औँशी- पूर्णे लाग्थ्यो भन्दा तपाईलाई कस्तो लाग्छ कुन्नि । यस लेखमा उनलाई पूर्णे लाग्थ्यो भन्ने कुरा पुष्टि गर्न खोज्दैछु । यस्तो सुन्दा तपाईलाई अलि किलकिलो लाग्ने हो कि ! तर मैले भने यो उत्तिकै बोलेको होइन । केही त्यस्तै बलिया लाग्ने प्रमाणको आधारहरूमा भन्दैछु । बुद्धले भनेका छन्- अप्पदेवो भव । अर्थात आफ्नो ज्योति आफै बन ! अर्थात बुद्धि खियाउने काम गर ! तपाई बुद्ध र उनका मान्यताहरूलाई मान्नुहुन्छ भने म विश्वस्त छु- मैले यसो भन्नुमा के आधार छन् । त्यसलाई विचलित नभई बुद्धकै शीक्षाअनुरुप केलाएर बुझ्न चाहनु हुनेछ ।

म भन्दैछु- गौतम बुद्धलाई औँशीपूर्णे लाग्थ्यो । यसको आधार हो – उनी जति पनि महत्वपूर्ण काम गर्दथे, ती पूर्णिमाकै दिन हुने गर्दथे । अझ उनले गर्ने काम मात्र होइन उनीसम्बद्ध महत्वपूर्ण घटनाहरू, जस्तै गर्भाधारण, जन्म र परिनिर्वाण जस्ता स्वइच्छाले नहुने कुरासमेत पूर्णेकै दिन पर्ने गरेको छ । तल हेर्नुहोस् आषाढ, कार्तिक, माघ र वैशाखका पूर्णेहरूमा उनका जीवनमा १३ वटासम्म केके भए र उनले केके गरे ।

पुर्नेका दिन भएका गतिबिधि र घटनाहरू:

आषाढ पूर्णिमा:

१. गौतमको गर्भाधारण भएको दिन ।

२. आठौँ वर्ष लागेकै दिन पहिलोपल्ट ध्यानस्थ भएको दिन ।

३. गौतमको महाभिनिष्क्रमण भएको दिन ।

४. बुद्धत्व प्राप्त भएपछि बुद्धले सर्वप्रथम सारनाथमा धर्मचक्र प्रवर्तन गरेको दिन ।

५. बुद्धले भिक्षुहरूलाई वर्षावासको अधिष्ठान गर्ने नियम बसाएको दिन ।

आश्विन पूर्णिमा :

६. बुद्धले वर्षाबास समाप्तिको घोषणा गरेको दिन ।

७. बुद्धले कठिन चीवरदानको नियम बसाएको दिन ।

कार्तिक पूर्णिमा :

८. बुद्धले कठिन चीवर दानको अन्तिम दिन बनाएर घोषणा गरेको दिन ।

९. सकृय धर्मोपदेशमा लाग्नुपर्ने नियम राखेको दिन ।

माघ पूर्णिमा :

१०. वैशालीमा आयुसंस्कारलाई त्यागी तीन महिना पछि आफ्नो परिनिर्वाण हुने घोषणा गरेको दिन ।

बैशाख पूर्णिमा :

११. गौतमको जन्म भएको दिन ।

१२. गौतमले बुद्धत्व प्राप्त गरेको दिन ।

१३. बुद्धको माहापरिनिर्वाण भएको दिन ।

(सम्यक् संस्कार अनु. सं. भिक्षु सम्यक् सम्बोधि प्राणपुत्र; सुखी होतु नेपाल काठमाडौँ २००४ पृ. ११)
अब सोच्नुहोस् यी सब महत्वपूर्ण कार्यहरू के पूर्णिमाको साइतै हेरेर गरेका थिए त बुद्धले ? तर कमसेकम गर्भमा आउने, जन्म लिने, आठ वर्षको उमेरमा ध्यानस्थ हुन पुग्ने, महाभिनिष्क्रमण लिने, ज्ञान प्राप्त गर्ने र महापरिनिर्वाण लिनेजस्ता कुरा कुनै हालतमा साइत हेरेर गरिने कुरा होइनन् । के यीनलाई काकताली मान्न सकिन्छ ? एकादुई कुरासम्म काकतालीमा हुन्थ्यो होला, तर यत्तिका कुराहरू काकतालीमा हुनै सक्दैन । त के होला रहस्य ?

यसलाई अलौकिक आँखाले हेर्ने हो भने कुरा सिद्धिहाल्छ । उनलाई देउता मान्न पर्ने हुन्छ र देउताको कुरा बुझिनसक्नु हुन्छ । अनि बुझिराख्नै पनि परेन । पूजै मात्र गरे पुग्छ । म परेँ लौकिक आँखाले हेर्ने मान्छे । बुद्धले जे गरे ती सबका जस दैवीशक्तिमा दिन म चाहन्न । अर्थात् उनका उपलव्धी मान्छेजातीकै उपलव्धी मान्दै मान्छेजातिको लागि गर्वको विषय मान्ने मान्छे परेँ । उनले जो जीए वा जो पुरुषार्थ गरे यही पृथ्वीकै घाम पानी र माटोमा भिड्दै गरे । ती सबैलाई केलाएर हेर्न सकिन्छ र हेर्नकालागि अधारहरू यसै पृथ्वीका उपलव्ध हुनैपर्छ । उनी इतिहास पुरुष हुन कल्पानका देवता होइनन् ।

आजसम्म कहीँ कसैले नभनेको कुरा भन्दा अपजस आउने सम्भावना पनि होला । तर, नयाँ कुरा नभन्ने नै हो भने दुनियाँमा प्रगति नै कसरी हुन्छ । त्यही प्रगतिशीलताको दुहाइ दिँदै पैले मैले “बुद्धलाई पूर्णे लाग्थ्यो” भन्ने एउटा लेख लेखें र २००८ मा aswikrit.com मा प्रकाशित गरेँ । पछि यही सोँच मैले बुद्धको जीवनीमा आधारित अनुसन्धानमूलक उपन्यास “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” मा प्रयोग गरें । यसमा मैले प्रश्न हुनसक्ने सबै बुँदाहरूको लागि प्रमाणहरू पादटिप्पणीमा राखें । पहिले यो वेबसाइटमा २००९ मा प्रकाशित भयो र पछि २०१० मा किताबको रूपमा २०१० मा । पाँच वर्ष भयो आजसम्म कुनै आपत्तिजनक प्रश्न आएको छैन ।

त्यसो त मलाई पनि यो विचार आएको धेरै पूरानो होइन । उपन्यास लेख्दा लेख्दै ठेस लागे सरह यो प्रश्न उभियो । बुद्धका बारेमा अनुसन्धानमूलक उपन्यास लेख्छु नै भनेर सोच्दै झण्डै २५ वर्षदेखि छिटपुट तर होशपूर्ण अध्ययन गर्दै आएको हुँ । त्यत्तिका लामो समयसम्म उनै तथ्यांकहरू हातमा आउँदा पनि मलाई कहिल्यै यस विचारको होसै भएन । ज्ञानप्राप्तिको बारेमा लेख्ने समयमा भने मलाई झल्यास्स होस आयो र पहिलोपल्ट आफूमा यो प्रश्न उब्जियो- किन यो पूर्णिमा मात्र जहिलेपनि देखा पर्ने ? कतै बुद्धलाई देउता बनाउन चाहने हातहरूको यो अतिशयोक्ति त थिएन ? मैले उपन्यास लेख्न छाडेरै आफ्नो बुतोले भ्याएसम्म स्रोतहरूको थप अध्ययन गरेँ । ती सबै स्रोतहरू त्यत्ति नै पुराना थिए जत्ति बुद्ध । उनीबारेका यी तथ्यहरू उनैका समयदेखि संगठित र अभिलिखित हुँदै आएका हुन् । कपोलपल्पनाको कुनै गुन्नजाइस देखिन्न । अनि विश्वस्त भएँ यो पक्कै बुद्धलाई पूर्णे लाग्ने गरॆकै प्रघटना हो ।

Buddha-Purne1

हाम्रा समाजमा पूर्णे लाग्ने गरेका धेरै घटनाहरू सुन्दै र देख्दै आएको हुँ । तर, तिनका लक्षणहरू सदा बौलाउने मूर्छा पर्ने, मौन बस्ने र अनेकन विचित्र व्यवहारसम्मत नकारात्मक पाइन्छन् । यसै सम्बन्धमा पैंतीस चालिस वर्ष पहिले स्कूले जीवनमा कतैबाट सुनेथेँ- औशी र पूर्णेको दिन चन्द्र. सूर्य र पृथ्वीको आगमन एकै लाइनमा हुन पुग्छ र उनीहरूका गुरुत्वाकर्षण बढेर समुन्द्रमा ज्वारको उच्चता बढन जान्छ ।

त्यही गुरुत्वाकर्षणको नियमले दुइतिहाइ द्रव भएको मानवशरीरमा पनि असर परी यस्तो हुन पुग्दछ । मैले ऊ बेलैदेखि यसमा विश्वास गर्दै आएथेँ र सन् २००१ मा प्रकाशित बुद्धिबंगाराको फोन भन्ने स्वास्थ्यविज्ञान सम्बन्धीको बालकथा संग्रहमा एउटा कथा यही कार्य र कारणको नियमसाथ औशीपूर्णे लगानको कथा समावेश गरेको थिएँ । योकथा यसमा हेर्न सकिन्छ http://aswikrit.com/index.php?action=library । मैले यहाँ नै किन त्यही नियमको उपयोग नगर्ने ?

Buddha-Purne2
समस्या यो थियो, ती सबै त मैले यसै सुनेकै भरमा लेखेको थिएँ । यत्तिका महत्वपूर्ण कृतिलाई सुनेकै तथ्यहरूको आधारमा पूरा गर्न सही जवाफदेहिता थिएन र प्रमाण खोजीको लागि अरु समय दिएँ नै । मैले पाएँ कि यसको बारेमा वैज्ञानिकहरूले लामो समयदेखि अनेकन अध्ययन गरेका रहेछन् र आफ्ना प्रयोगात्मक अध्ययनहरूको आधारमा यो कुरा सही भएको प्रमाणित गरेका रहेछन्।

Studies on the influence of Celestial bodies have shown imbalance of hormones that play a important role in altering psychological behaviour. The abnormalities observed on the functioning of glands and hormones aggravate the psychic diseases. Source : Ananda Marga Ra’ja’dhira’ja Yoga – http://www.speakingtree.in/spiritual-blogs/masters/wellness/benefits-of-ekadashii-fasting&sort=new

पुग्दो प्रमाण संकलन गरेँ र उपन्यासलाई अघाडि बढाएँ । अघाडि बढाएँ मात्र होइन यीनै उपलव्धीको कारणले पछाडि लेखिएका कति अंशहरूलाई फर्केर पुनर्लेखन नै गर्न परेथ्यो ।

एउटै समस्या मलाई थियो कि जनमानसले दिएका ती सबै लक्षणहरू पूर्णतः नकारात्मक देखिन्छन्, बुद्धजस्तो मानवजातीको उपलव्धीको कोशेढुंगानै बनेका सकारात्मक महामानवमा पूर्णे लाग्दा हुने ती नकारात्मक लक्षणहरूले कसरी मेल खान्छ ? अनि सम्झेँ – आगो कतै प्राणदाता छन् कतै प्राणहर्ता । पानी त्यस्तै । वायु त्यस्तै । सूर्य त्यस्तै । अनि किन एउटै कुरो व्यक्तिविशेषमा फरक नहुने ? धान्न सके सकारात्मक नसके नकारात्मक । मैले यही निर्क्यौल लिएँ र उत्साहित भएँ । यीनै लक्षणहरूमध्ये मौन रहने प्रकृति नकारात्मक हिसाबमा अर्थ्याइए पनि त्यो हीँसाहीन र उपद्रवहीन हुनुले यसलाई सकारात्मक मान्न नसकिने मलाई लागेन । बुद्ध बढीमा मौन नै त रहन्थे । पूर्णेको दिन बढी सचेत बढी उत्पादनशील ध्यानमग्न हुन्थे- त्यसो किन हुन सक्दैन ?

सँगै बुद्धजस्तो संयमका शीखरपुरुषलाई पूर्णे लाग्दा कमजोर वर्गमा हुने, बौलाउने छटाउने लक्षण हुनुपर्छ भन्ने मलाई लागेन ।

There are instance that on these tidal days when the moon comes closest to the earth; people having weak mind or a week body specially suffer more. I know many people with weak bowel always complain of acute suffering on these days. (ibid.)

हामी मझ्यौला खालेहरू त त्यस लगानको मारमा त्यसरी परेका छैनौँ भने महामानव बुद्ध त्यसरी नै के परे होलान् ? तर आफैमा अर्को प्रतिप्रश्न उब्जियो- हामी मझ्यौला भएकाहरूमा त त्यो लगानको असर देखिन्न भने ती शीखरपुरुषमा झनै नदेखिनु पर्ने होइन र ? अर्थात् बलियो मानसिकता भएकालाई यो लगान लाग्नै सक्तैन भन्ने नियम लागु हुन्न र ? तर हेर्नुहोस् बुद्धका गतिवीधिले त त्यही देखाइ रहेका छन् र प्रश्नहरू ज्यूका त्यू त्यहीँ अझै छन् कि बुद्ध पूर्णैकै दिन त्यत्तिका गतिशील हुन पुगेकै हुन् । अनि त निर्क्यौलमा पुगेँ- अति समवेदनशील मष्तिष्कमा मात्र त्यस लगानको असर पर्दछ । अति भन्नाले अति कमजोर र अति शक्तिशाली दुवै । अर्थात् हामीजस्ता मझ्यौला खाले न पागलै हुन सक्छौँ न बुद्ध नै । बस् यही मान्यतालाई मैले आफूमा धारण गरेँ र उपन्यासमा त्यसलाई उठान गरेँ । मैले ठाडै भनेको छु-

… हे पाठकगण ! गौतमलाई मात नै लाग्दथ्यो अथवा भनौँ शरीरमा अर्कै थप शक्तिको प्रवेश हुन्थ्यो । परिणामतः उनको मानसमै तनाउ उत्पन्न हुन जान्थ्यो र सोच्ने मन्थन गर्ने मनन गर्ने निर्क्यौल गर्ने आदि हरेक कृयाकलापमा तीव्रता स्थापित हुन्थ्यो । अनि त अनेकन नयाँनयाँ उनी पूर्णिमाकै दिन ……

अनि त बुद्धले गरेका वा उनी सम्बन्धित घटेका घटनाहरूको फेहरिस्त नै उपन्यासको पादटिप्पणीमा प्रमाण स्वरुप एकएक पेश गरेको छु । अर्को ठाउँमा कार्य र कारणको नियम नै पेश गर्दै भनेको छु –

……… हे पाठकगण ! पूर्नेको दिन चन्द्र पृथ्वी र सूर्य एकै रेखामा आइपुगेका हुँदा यो दिन ती तीनै ग्रहको गुरुत्वाकर्षणका तानातानको कारणले जसरी समुन्द्रमा बढी ज्वार उत्पन्न हुन्छ त्यसरी नै प्राणीमात्रका शरीरका द्रवहरूमा पनि बढी उछाल उत्पन्न भई व्यक्तिको मनमस्तिष्कमा उत्तेजना बढन जान्छ र व्यक्तिको उत्तेजित व्यवहारमा त्यो अभिव्यक्त हुन पुग्दछ … (पूर्ण अंश प्रकाशित पुस्तक “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” मा हेर्नुहोला ।)
Buddha-Purne3

यसरी लेख्दा मलाई प्रमाण दिनपर्ने सजगता पनि जाग्रत भयो र पादटिप्पणीमा प्रमाणहरू पेश गरेको छु । प्रमाण स्वरुप मैले अमेरिकाका प्रशिद्ध मनोरोग चिकित्सक आर्नोल्ड लीबरको जुलाई 2, 1996 मा अमेरिकामा प्रकाशित एउटा लेखको उक्तिलाई जस्ताको तस्तै अंग्रेजीमै पादटिप्पणीमा पेश गरेको छु । यसले भन्दछ पूर्णेको दिन चन्द्रमाको गुरुत्वाकर्षण बढेको हुन्छ र त्यसले उच्च ज्वार पैदा गर्दछ । मायमी बीचका मनोरोग चिकित्सक आरनोल्ड लीबर भन्दछन् कि त्यो आकर्षणले समुद्र र मान्छेमा उस्तै खाले असर गर्दछ किनभने मान्छेको शरीर बढीमा द्रव नै हो ।

“During the full moon, the moon has a higher gravitational pull, creating a higher tide. The Miami Beach psychiatrist Arnold Lieber says that pull affects oceans and people in a similar way, since the human body is mostly water.” The Miami Herald on tides in a human body; The Miami Herald, July 2, 1996.

पूर्णेको दिन सूर्यको आकर्षणले गुरुत्वाकर्णमा अरु बढोत्तरी हुन गई ज्वार बढी हुन्छ भन्ने कुरा पुष्टि गर्न भौतिकशास्त्री मिकोलाजी सावीकीको अमेरिकामा 1999 अक्टोबरमा प्रकाशित Myths about Gravity and Tides का उद्धरण पनि पादटिप्पणीमा जस्ताको तस्तै पेश गरेको छु । यसमा उनले ज्वार चन्द्रको कारणबाट मात्र होइन कि सूर्यको कारणबाट पनि हुन्छ र सूर्यको यसमा ३० प्रतिशत देन छ भनेका छन् ।

“One should realize that the tidal effect is caused not only by the Moon, but also by the Sun. If the Moon had not existed, there still would have been ocean tides, but not as high, since the Sun contributes only about 30% of the tidal effect.” Myths about Gravity and Tides; “The Physics Teacher” pp. 438 – 441. December 31, 2005.

Buddha-Purne4

आर्नोल्ड लीबरकै शव्दमा चन्द्रमाको गुरुत्वाकर्षणले मान्छेभित्रका द्रवको सन्तुलनमा गडबडी पैदा हुन्छ र मान्छेकै व्यवहारमा उत्तेजना आउँदछ- भल्ले उक्तिलाई पनि मैले पादटिप्पणीमै त्यही भाषामा जस्ताको तस्तै प्रस्तुत गरेको छु । आर्नोल्ड लीबरको यो निष्कर्ष उनकै आफ्नै अध्ययनबाट स्थापित भएको हो । उनले पूर्णिमाका दिन हुने धेरै घटनाहरू र त्यसका सम्बन्धित व्यक्तिहरूको मनोदशाको वैज्ञानिक अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् ।

“When the Moon’s gravitational pull upsets our fluid balance, the result makes us tense and liable to emotional outbursts.” The Lunar Effect. Biological Tides and Human Emotions.

तथापि यहाँनिर म यो भन्न चाहन्छु कि साँच्चै नै चन्द्र र पृथ्वीको बढ्दो तानातानको कारणले मान्छेमा उत्तेजना कति हुन्छ भन्ने कुरा अझै टुंगो लागि सकेको छैन । वैज्ञानिक मिकोलाज सावीक्की त यसले असर पार्न सक्छ भन्ने कुरालाई नै स्वीकार्दैनन् । जव की अर्नाल्ड लीवरले त्यस्तै घटनाहरूको अध्ययन गरेरै यसो भनेका हुन् । विद्वानहरूको तर्कवितर्क जे भए पनि म आफूले पनि औँशी र पूर्णेहरूमा मान्छे र जनावरहरूलाई लगान लागी थरीथरीका विचित्र व्यवहार गरेका देख्दै आएको छु । अनि मैले मात्र किन यो कुरालाई नमान्ने ? यसैलाई बल दिन उपन्यासमा ठाडै यस्तो लेखेको छु –

… यस्तो लगान हरप्राणीलाई हुन्छ । तपाई हामीमा पनि हुन्छ । सहनशीलताका कारणले अनुभूति नभएको मात्र हो । गौतम बढीनै सम्वेदनशील व्यक्ति भएको हुँदा उनमा वढी नै यसको ज्वर थियो । त्यसलाई समायोजन गर्नसक्ने उनका असीम क्षमताको कारणले गौतममा यो आफै थप उर्जामा परिणत हुन्थ्यो । नत्र तथ्य यो पनि हो कि त्यसलाई झेल्न नसक्नेहरू कोही मूर्छै पर्छन् वा पागलै बन्छन् वा कोही ता प्राण नै गुमाउने पनि हुन्छन् ………

अनि ज्ञान प्राप्त गर्ने दिनको विवरण नै यसरी शुरु गरेको छु :

… यस वैशाख पूर्णिमाको दिन उनलाई यही असर भइरहेथ्यो । बिहानदेखि नै उनमा स्वभावतः त्यसैत्यसै के के गरुँ भन्ने भइरहेको थियो । मन चङ्गा मुटु चङ्गा दिमागै चङ्गा उनको मानसिक संवेदनशीलता यस हदमा उर्लिरहेथ्यो मानौँ उनी आकाशै छुन लागिरहेछन् । एक हदमा उनको व्यवहार पागलसरी हुँदै थियो । ………

अर्को प्रश्न मभित्र यो जीवितै थियो कि माताको गर्भमा पूर्णेकै दिन पारेर कोही कसरी आउन सक्दछन् ? बुद्धको अपार समवेदनशीलता यसको कारक हुन सक्ने कुरा हो र ? यसै भन्न लागियो भने यो लौकिक कारक मानिन्छ र ? के होला त यसका लौकिक कारण ? मलाई झट्ट सोँच आयो यो गुण प्रथमतः माता मायादेवीमै थियो र गर्भको बुद्धमा विकसित भयो । अर्थात पूर्णेको दिन गर्भाधान हुनु र जन्म पनि त्यसै दिन हुनुको कारकतत्व बुद्धमा होइन तर माता मायादेवीमा थियो । त्यही विरासत माताबाट बुद्धलाई प्राप्त भयो । यसै निर्क्यौलसाथ उपन्यासमा फर्केर मैले पूनर्लेखन गरेँ यी हरफहरू साथ –

……हे पाठकगण ! तिनको डिम्बाशयमा एउटा डिम्ब परिपक्व भएर गर्भाशयमा आइसकेको थियो । गर्भाशयमा आएको डिम्ब शुक्रकीटसँगको मिलनको ताकमा रहने हुँदा सामान्य स्थितिमा समेत यस परिस्थितिले व्यक्तिलाई उत्तेजना दिइरहेको हुन्छ अनि शरीर आफैनै मूल प्रवृत्तिवश भाले खोज्ने रोमान्चनमा हुन्छ । त्यसमा पनि तिनलाई हुने पूर्णेको लगानले त झनै उक्साहट दिइरहेथ्यो । ……………… मायादेवीले लट्ठ स्वरमा बोलिन्- दिदी ! आज के भयो मलाई वास्तवमा हरेक पूर्नेको दिन यस्तै उत्तेजना हुने गर्दछ । तर आज त कहिल्यै नभएको पो भयो र सन्तुष्टि पनि उस्तै कहिल्यै नभएको भयो । यसलाई म शब्दहरूमा बताउनै सक्दिनँ ।

…………मायादेबीलाई पूर्णेको दिन त्यसै पनि असामान्य मानसिकताको चाप बढ्दथ्यो । त्यसमाथि यो सकस ! बच्चा पनि समय नाघेर बल गर्नपर्ने स्थितिमा त त्यसै पनि थिए नै त्यसमा पनि उनको चलमल ज्यादै नै बढी थियो । मानौ पूर्णे आमालाई मात्र होइन गर्भैको बच्चालाई पनि लाग्दैथ्यो । (पूर्ण अंश प्रकाशित पुस्तक “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” मा हेर्नुहोला ।)
Buddha-Purne6

केही प्रश्नहरू उठ्न सक्छन् कि औँशीका दिनमा पनि त तीनै ग्रह एकै लाइनमा आइपुग्छन् र गुरुत्त्वाकर्षणको तानातान उस्तै हुन पर्ने हो । त्यसै हो भने औँशीका दिनमा बुद्धले किन केही गरेनन् ? मेरो लाटो सुझ यो भो कि बुद्धलाई त्यो उत्तेजना पक्कै औँशीहरूमा पनि भए । तर अँधेरी रातको अन्ध वातावरणमा उनका आवेग खुल्ने दिशामा होइन कि बन्द हुने दिशामा प्रवृत भए होलान् । मैले नियमको कुरा गरेको हुँ । स्वाभाविक नियमले त्यस्तो हुनुपर्छ भन्ने मेरो प्राक्कल्पना मात्र हो । तथापि त्यसैलाई बुनेर उपन्यास लेखेँ । विद्वानहरूले अर्को मत दिन सक्छन् । मैले त यो यसरी लेखि नै सकेँ ।

यो पुस्तक बजारमा आइनै सकेको छ । तपाईलाई लाग्ला उपन्यासभित्र अनुसन्धानमूलक प्रकरणहरू घुस्न मिल्छ र त्यसमा पनि २६०० वर्ष पुराना घटनाहरूमा एक्काइसौँ शताव्दीका अर्थ र मूल्यांकन साथ तर मिल्दैन भने पनि मैले लेखेँ नै । नमिल्ने तर मिलाउन पर्ने कुराहरू नै मेरो विषय हुने गर्छन् । प्रचलित मान्यताले माने पनि नमाने पनि । त्यसैले त मेरो आन्दोलन छ- अस्वीकृत विचार साहित्य आन्दोलन । सबैबाट स्वीकृति हुन्छ र हुनैपर्छ भन्ने मेरो आशय छँदैछैन । लेखन नै मेरो स्वीकृत विषयमा कमै हुन्छ । स्वीकृत विषयमा त लेख्नेहरू कैयूँ छन् । म त्यस जमातमा उभिन्न । नकारात्मक हाँक लिएर होइन अग्रगामी परिवर्तनको लागि संघर्षमा । एउटा संवादको लागि विषयलाई अघि सार्दछु । सही भए स्थापित होला । नभए त्यागौँला । ट्रयाल एण्ड एरर मेथड (प्रयत्न र भूलको विधि) बाटै त मान्छे जाति अगाडि बढेका छन् । यही मान्यतासाथ मैले यो कृति तपाईहरूसामुन्ने धृष्टतापूर्वक राखेको छु कसैका आग्रहलाई नपर्खिकनै ।

Buddha-Purne

हेर्नोस् न यो उपन्यास छाप्न साझा प्रकाशनलाई पठाएथेँ । त्यसले एउटा धार्मिक पडिण्तलाई दिएछन् मूल्यांकन गर्न । अब सोच्नोस् बुद्धलाई मान्छेबाट देउता बनाउने पण्डितले यसलाई स्वीकार्ला दुइ वर्ष लगाएर अन्त्यमा अस्वीकृत गरेरै छाडॆ । अस्वीकृत जमातभित्रका हुनुको अर्को प्रमाण मिलेको छ सत्ताबाट मलाई । यस्ता अस्वीकृतीबाट मलाई दुःख हुन्न र भएन नै । बरु उत्सुकता यो छ कि नयाँ नेपालले स्थापना गरेका साझाका यी मठाधीशहरूले अब नयाँ नेपाल निर्माणमा कस्ताखाले विचारलाई प्रोत्साहन दिने हुन् । जेहोस, हाल अर्को प्रकाशनबाट यो पुस्तक “महाभिनिष्क्रमणका अस्वीकृत पाइला” शीर्षकसाथ उपन्यासको रूपमा बजारमा आइपुगेको छ र धेरै सकारात्मक स्याबासी पनि पाएको छु। तपाईंको स्याबासी पाउने आशामा म छु नै । नेपालका ठूला पुस्तक पसलमा यो पाइन्छ । अस्तु ।

(बुद्धको जीवनीसम्बन्धी अप्रकाशित उपन्यास महाभिनिष्क्रमणका अस्वीकृत पाइलाका एक अध्याय सहित यसका अनुसंधानात्मक पृष्ठमूमि)