२८ आश्विन २०८३, बुधबार

उज्जन हत्याकाण्डका योजनाकार गौतम जेल चलान, बालकृष्ण ढुंगेलको खोजी तीव्र

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puskar-Gautam
पुष्कर

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याकाण्डमा एमाओवादी नेता बालकृष्ण ढुंगेलसँगै ओखलढुंगा जिल्ला अदालतबाट सजाय पाएका माओवादीका पूर्व कार्यकर्ता पुष्कर गौतमलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ।

जिल्ला अदालत काठमाडौंले मंगलवार साँझ ५.३० बजे कैदी पूर्जी बनाएर गौतमलाई कारागार चलान गरेको हो।

हत्याकाण्डका योजनाकार मानिएका पुष्कर गौतमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले मंगलबार दिउँसो काठमाडौंको बागबजारबाट पक्राउ गरेको हो । गौतमलाई पक्राउ गरी मंगलबार नै काठमाडौं जिल्ला अदालत लगिएको थियो।

अपराध अनुसन्धान विभागका एसपी सुरेशबिक्रम शाहले गौतमलाई बागबजारबाट ३ बजेर ३२ मिनेटमा पक्राउ गरिएको बताउनुभयो ।

ओखलढुंगाको पोकली गाविसका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते व्यक्तिगत रिसइबीका आधारमा गौतम र ढुंगेलको समूहले हत्या गरेको थियो ।

हत्याकाण्डमा मुछिएका ढुंगेललाई भने २०६१ सालमा नै ओखलढुंगा जिल्ला अदालतले दोषी ठहर गरेको थियो । जिल्ला अदालतको फैसलालाई २०६६ साल पुस १९ गते सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

तर, युद्धकालमै माओवादी छाडेर गौतम फरार भएका थिए । गौतमलाई ओखलढुंगा जिल्ला अदालतले २०६९ साल चैत १२ गते दोषी ठहर गरी सर्वश्वसहित जन्मकैदको फैसला गरेको थियो ।

पीडित परिवारका तर्फबाट केही दिन अघि उज्जनकुमारकी आमा र दिदी सावित्री श्रेष्ठले गृहमन्त्री बामदेव गौतमलाई भेटेर ढुंगेल र गौतमलाई तत्काल पक्राउ गर्न आग्रह गरेका थिए ।

गृहमन्त्री गौतमले उनीहरुलाई तत्काल नेपाल प्रहरीलाई आदेश दिनुभएको थियो । पीडित परिवारसँगको भेटमा काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले पनि बालकृष्ण ढुंगेल आफ्नो अग्निपरिक्षा भएको बताउनुभएको थियो ।

प्रहरीले ढुंगेलको पनि खोजी भइरहेको जनाएको छ ।  ढुंगेल केही दिन अघि एमाओवादीको राष्ट्रिय सम्मेलनमा भाग लिन विराटनगर पुगेपनि प्रहरीले पक्राउ गरेन । तर, उनी भूमिगत शैलीमा काठमाडौंमा हिँड्ने गरेकाले पक्रन नसकेको प्रहरीले जनाएको छ ।

गौतमलाई पक्राउ गरेपछि दैनिक नेपाललाई प्रतिक्रिया दिँदी उज्जनकुमारकी दिदी सावित्रीले आफूले राहतको महसुस गरेको बताउनुभयो । हत्याकाण्डका मुख्य योजनाकार ढुंगेललाई पनि तत्काल पक्राउ गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

Balkrishna-dhungel
ढुंगेल

‘१६ वर्षदेखि हामी न्यायको लडाईंमा छौं, न्याय माग्दामाग्दै मेरो दाजु गणेशकुमारको पनि हत्या भयो, आफ्नै आँखा अगाडि वुवाको हत्या सहन नसकेर भदै रचना श्रेष्ठले आत्महत्या गरिन् । न्याय माग्दामाग्दै हामीले परिवारका सदस्य र सम्पत्ति गुमाइसकेका छौं । अब चाँहि न्याय पाइन्छ कि भन्ने आशा जागेको छ ।’– श्रेष्ठले भन्नुभयो ।

पीडित परिवारलाई कानुनी सहायता प्रदान गर्दै आएको एड्भोकसी फोरमकी सल्लाहकार एवं चर्चित मानवअधिकारकर्मी मन्दिरा शर्माले गौतम पक्राउ परेको स्वागत गर्नुभयो ।

‘सरकारको यो कदमको स्वागत गर्नुपर्छ, तर ठूलो माछा –बालकृष्ण ढुंगेल) लाई उन्मुक्ति दिन खोजिएको हो भने हाम्रो गम्भीर हो । सरकारले अन्य दोषीलाई पनि पक्राउ गरोस ।’

एकीकृत माओवादीले भने द्वन्द्वकालिन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने भन्दै ढुंगेललाई नपक्रन दबाब दिँदै आएको छ ।

यसरी मारिएका थिए उज्जन 

२०५५ असार १० गते
टारकेराबारी– ७, ओखलढुंगा

बिहान तीन बजे । उज्जन मस्त निद्रामै थिए । रामेछापको धोबीडाँडामा प्रत्येक साताको बुधबार हाटबजार लाग्थ्यो । घरका अनाज बेच्ने र आवश्यक सामान खरिद गर्ने थलो हाट नै थियो । बिहानै किनमेल गरी बेलैमा फर्कने सल्लाहमा घरमै सुताएका दुई भरिया रामबहादुर श्रेष्ठ र थीरबहादुर खत्रीले उज्जनलाई उठ्न भने । तर, उठाउन एक घण्टा लाग्यो ।

‘अहिल्यै नहिँड्ने भए हामी जाँदैनौैं’ भरिया रामबहादुरले घुर्की लगायो ।

‘अलि उज्यालो होस्, पाँचबजेतिर जाउँला, अहिले सुत’ उज्जनको आग्रह भरियाले मानेनन ।

भरियाले अड्डी कसेपछि केही लागेन । उज्जन आँखा मिच्दै घरबाट निस्किए ।

साँढे चारबजेतिर टर्च बालेर तीनैजना लिखु खोलाको तिरैतिर धोबीडाँडातिर लागे । घरबाट २० मिनेट हिँडेपछि खहरे खोलाको दोभान आइपुग्यो । चम्किलो टर्चको प्रकाश एक्कासी आँखामा परेपछि उज्जन झस्किए । खेतको कुलोमा एउटा ठूलो ढुंगोमा केही मानिस लुकेर बसेको देखे । हुलमा थिए, बालकृष्ण ढुंगेल, पुष्कर गौतम, डोरबहादुर पौडेल, थलबहादुर पौडेल, पर्वत भट्टराई र अन्य सहयोगी ।

‘तिमीहरू भाग’ ढुंगापछाडिबाट आवाज आयो ।

उज्जनको हंसले ठाउँ छाड्यो । उज्जनसँग आएका दुई भरिया पछाडि सरे । केही सोच्न भ्याएकै थिएनन, पुष्कर गौतमले टर्च देखाउँदै गोली ठोक भन्यो । बालकृष्ण ढुंगेलले गोली बर्सायो ।

गोली लागेपछि उज्जन ‘आमा……..!’ भन्दै खेतको गह्रामा ढले । भाग्न खोज्दा घेरा हालेर सबैले खुकुरी प्रहार गरे । उज्जनको त्यहीं निर्मम हत्या भयो । सबै मिलेर उज्जनको शव लिखु खोलामा बगाइदिए । घटनास्थलमा ठाउँ–ठाउँमा रगत जमेकाले पनि हत्याको निर्ममता प्रष्टै झल्कन्थ्यो । हत्यापछि उनीहरूले उज्जनको रगतमा हात चोपल्दै नदी किनारको ढुंगामा त्यसको निशानी समेत छाडे । र, लाँकुरीभञ्ज्याङमा पुगेपछि ‘आज हाम्रो जित भयो’ भन्दै सबैले दही बाँड्दै खाएर रमाइलो मनाए ।

हत्यापछि भरिया थीरबहादुर खत्री र रामबहादुर श्रेष्ठ डोरबहादुर पौडेलको घरतिर लागे । थीरबहादुर हत्या योजनाका मतियार थियो । राति नै उठाएर लैजाने र खहरेखोलामा हत्या गर्ने सुपारी लिइसकेको थियो । त्यहीकारण राति नै नगए हाट नजाने अड्डी समेत लियो उसले । आºनै घरमा काम गर्ने भरियाको यो योजना भाई उज्जनलाई थाहै भएन, उल्टै आफ्नै घरमा सुतायो ।

हत्या योजनामा संलग्न डोरबहादुर ‘उज्जन कहाँ गयो ?’ भन्दै टारकेराबारीस्थित मिलघर आइपुग्यो । बुहारी लक्ष्मीले हाट गएको भनेपछि ‘ए….’ भन्दै फर्कियो ।
हत्या योजनामा संलग्न नरहेका भरिया रामबहादुरले भने ‘बालकृष्ण ढुंगेल, पुष्कर गौतम लगायतले मारेर खोलामा फालेको’ सन्देश लेती घरमा पुर्‍यायो । दाई गणेशकुमार श्रेष्ठ कुँद्दै घटनास्थल पुग्दा हत्या प्रमाणित भयो । नजिकैको प्रहरी चौकीमा जानकारी दिएपछि काठमाडौंबाट हेलिकप्टरमार्फत प्रहरी घटनास्थल पुग्यो । शव नभेटेपछि सर्जिमन र घटनास्थल मुचुल्का उठाएर प्रहरी फर्के ।

भाईको हत्याबाट छट्पटिएका माइला दाजु गणेशकुमार श्रेष्ठले तत्कालै गामनाङटार प्रहरी चौकीमा जानकारी दिनुभयो । २०५५ असार १४ गते जिल्ला प्रहरी कार्यालय ओलखढुंगामा पनि किटानी जाहेरी पर्‍यो । किटानी जाहेरीकै आधारमा बालकृष्ण ढुंगेल, पुष्कर गौतम, केशव ढुंगेल र पर्वत भट्टराईबाहेक सबै केही दिनको अन्तरमै पक्राउ परे ।

बालकृष्ण ढुंगेल भने लुकीछिपी बसेकै अवस्थामा घटना भएको केही महिनापछि पल्लो लेतीस्थित ससुरालीबाटै पक्राउ पर्‍यो । पुष्कर गौतम र केशव ढुंगेल भने फरार भए ।

Balkrishna-dhungel-Sabitri-Shrestha-momjpg
पीडित परिवार

यसकारण मारियो उज्ज्नलाई

धान कुट्ने मिलमा आउजाउ गर्दागर्दै देखभेट भएका उज्जन र रेनुका पौडेलको केही समयमै गहिरो प्रेम बस्यो । हँसिलो अनुहार, अग्लो –खँदिलो ज्यान र गाउँमै व्यापार व्यवसाय गरेका उज्जनसँग आफ्नो जीवन हाँसीखुसी बित्नेमा ढुक्क थिइन रेनुका ।

नमान्दा नमान्दै बिहे भएको भन्दै पहिलो श्रीमतीलाई उज्जनले स्वीकारेका थिएनन् । आफैले रोजेकी काठमाडौंकी महालक्ष्मी श्रेष्ठसँग पनि बालबच्चा नहुने भयो । घरमा पत्नी हुँदाहुँदै पनि रेनुकालाई भित्राउन चाहे उनले । माइतीको स्वीकृति बेगरै रेनुकाले उज्जनसँग बिहे गरिन । तर, रेनुकालाई उज्जनले घरमा चाँहि भित्राएको थिएन ।
बिहे भएको आठमहिनापछि प्रेम विवाहकै कारण माइती पक्षबाट यस्तो घटना भयो, जसले उज्जनको मात्र ज्यान लिएन । हाम्रो परिवारमा कहिल्यै नपरेको पीडाको बाढी ल्याइदियो ।

घटना भएको एकमहिनापछि दुई भरियाले अदालतमा बयान दिए: ‘रेनुकाका दाइ र बालकृष्ण ढुंगेलले उज्ज्नलाई मार्ने योजना अनुसार हामीलाई उज्यालो नहुँदै खोलाको तिरैतिर ल्याउनु भनेका थिए । हामीले त्यसै गरेका हौं, पुष्करले टर्च लाइट देखाए, बालकृष्णले गोली हाने । अनि हत्या गरेर लिखु नदीमा बगाइदिए ।’

Sabitri-Shrestha
उज्ज्नकी दिदी सावित्री

रेनुका दाजु डोरबहादुर पौडेल टारकेराबारी गाविसको तत्कालिन वडाध्यक्ष थिए । रेनुकाको बिहे लगत्तै उनका कान्छा दाई थलबहादुर र उज्जनबीच पटकपटक झगडा परेको थियो । ‘तल्लो जात’ले माथिल्लो ताक्ने भन्दै मार्ने धम्की पनि दिइरहन्थे । डोरबहादुरका आफन्त हुन, बालकृष्ण ढुंगेल । ढुंगेल तत्कालिन शाही नेपाली सेनाको जागिर छाडेर घरमै बस्थे । डोरबहादुरकै योजनामा बालकृष्ण पनि मिसिए । सेनाको तालिम प्राप्त बालकृष्ण गोली हान्न प्रयोग भए । उज्जनको हत्यापछि गाउँमा बस्ने अवस्था रहेन । आफुलाई जोगाउन बालकृष्ण माओवादीमा प्रवेश गरे । पुष्कर भने पुरानै माओवादी कार्यकर्ता थिए । बालकृष्ण जस्ता तालिम प्राप्त पूर्वसेना पाउँदा पुष्कर मख्ख पर्ने नै भए । उनले बालकृष्णलाई माओवादीको कार्यकर्ता बनाइदिए ।

जतिबेला उज्जनको हत्या भयो, त्यतिबेला पुष्कर गौतमबाहेक गाउँमा कोही माओवादी थिएनन । रेनुकाका दाजु डोरबहादुर भने एमालेबाट निर्वाचित वडाध्यक्ष थिए, उनका भाई थलबहादुर पौडेल पनि एमालेनै । अरू कुनैपनि पार्टीमा लागेका थिएनन् । तर, भाइको हत्यामा संलग्न डोरबहादुर र थलबहादुरबाहेक सबै आफुलाई जोगाउन माओवादीमा प्रवेश गरे ।

ओखलढुंगामा रहेकी आमाको छिनछिनमा होस गुम्न थाल्यो । घरको भान्साबाटै उज्जनलाई गोली हानेको ठाउँ देखिन्थ्यो । त्यही सहन नसकी आमा खाटमै बेहोस भइरहने । बालकृष्ण माओवादीमा प्रवेश गरेपछि तारन्तार आइरहेको धम्कीले गाउँमै बसिरहने अवस्था पनि रहेन । त्यसपछि बृद्ध आमाबा दुवै काठमाडौं झरे । यसअघि नै अरू सबै काठमाडौंमा बिस्थापित भइसकेका थिए । मानसिक र आर्थिक रूपमा झनै ठूलो तनाव सुरू भयो ।

उता घरको सबै सरसमान, पसल, मील, जग्गाजमीन भएभरका सबै माओवादीले कब्जा गरे । ओखलढुंगा पोकलीको घर माओवादीले कार्यालय खोलेर संचालन गरे, त्यसको केहीदिनमै तत्कालिन शाही नेपाली सेनाले बम पडकाएर घरै उडाइदियो ।

(उज्जनकुमार दिदी सावित्री श्रेष्ठको पुस्तक पीडाका ५००० दिनको अंश)