लक्ष्मी काफ्ले
विर्तामोड । गत चैत २१ गते राति शंकास्पद तरिकाले मृत्यु भएका झापा अर्जुनधारा–८ का कुलराज प्रसाईका परिवारलाई स्थानीयले घर प्रवेश गर्नबाट रोक लगाएपछि दुई दिनयता यहाँको अवस्था तनावपूर्ण बन्दै गएको छ ।
काठमाडौंमा काजक्रिया सकी प्रसाईकी श्रीमती मैनादेवी, छोरा कृष्णराज र बुहारी मनिका आइतबार दिउँसो एम्बुलेन्समा घर फर्किएका थिए । आक्रोशित स्थानीयले प्रसाईको हत्यामा परिवारकै संलग्नता भएको भन्दै उनीहरुलाई लखेटेका थिए । स्थानीयले प्रसाईको घरमा तोडफोड र परालमा आगो लगाइदिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रु ग्यास छोड्नुका साथै लाठीचार्जसमेत गरेको थियो ।
आइतवार बेलुकी करिव ३ घण्टासम्म सो क्षेत्र तनावपूर्ण रहेको थियो । स्थानीयले लखेटेपछि प्रसाई परिवार सोहि दिन काठमाडौं फर्किएको बुझिएको छ भने प्रसाईको घरको सुरक्षा गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएकोसमेत स्थानीयले बताएका छन् ।
शंकास्पद तरिकाले मृत्यु भएका प्रसाईको उनकै श्रीमती, छोरा र बुहारी मिलेर हत्या गरेको भन्दै स्थानीयले सोही बेला पटक–पटक कारवाहीको माग गरेका थिए । तर, घटनामा परिवार निर्दोष भएको भन्दै प्रहरीले उनीहरुलाई रिहा गरेसँगै स्थानीय थप आक्रोसित बनेका हुन् ।
यही प्रकरणले सोमबार दिउँसो बिर्तामोड पनि तनावगस्त रह्यो । प्रहरीले आइतवार साँझ आफूहरुलाई लाठीचार्ज गरेको र प्रसाईका परिवारलाई उन्मुक्ति दिएको भन्दै स्थानीयले केहीबेर मुक्तिचोकमा यातायात अवरुद्ध पारे । आक्रोशित हुँदै सडक बन्द गर्दै गरेका उनीहरुलाई सोमबार पनि प्रहरीले लखेटेको थियो । न्यून संख्यामा मुक्तिचोकमा आएका उनीहरुलाई लखेट्न सयौंको संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
‘प्रसाईलाई मारेकै हो भनेर सिंगो गाउँ नै बोलिरहेको छ । त्यसैले हामीले उनीहरुलाई पस्न दिएनौं ।’ स्थानीय खुदराज भण्डारीले भने– ‘मैले जनताको विपक्षमा नलाग्न प्रहरीलाई पटक–पटक आग्रह गरें । तर प्रहरीले मानेनन् । हामी स्थानीयप्रति प्रहरीको यो गलत व्यवहार हो ।’
यता जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी हिमालय श्रेष्ठले डेढ घण्टासम्म सम्झाई–बुझाई गर्दा पनि नलागेपछि अन्तिम विकल्पको रुपमा वाध्यताले लाठीचार्ज गर्नुपरेको बताएका छन् । डीएसपी श्रेष्ठले भने– ‘लाठी चार्ज गर्नु, हवाई फायर गर्नु हाम्रो रहर होईन । प्रहरी पनि ८ जना घाइते भएका छन् । हाम्रो अन्तिम विकल्प त्यही नै थियो । हामीले पनि दर्शक भएर बस्न मिल्दैन ।’
डीएसपी श्रेष्ठले स्थानीयलाई प्रहरीप्रति विश्वास नभए माथिल्लो निकायबाट अनुसनधान समिति गठन गर्ने तयारी भइरहेको पनि बताएका छन् ।














प्रतिक्रिया