ताइवान। अमेरिकी स्मार्टफोन निर्माता एप्पलले नयाँ आईफोन अपेक्षा गरिएभन्दा १ महीनाअगावै बजारमा ल्याउने योजना बनाएको बुझिएको छ ।
ताइवानको एक प्रमुख आर्थिक पत्रिका द इकोनोमिक डेली न्यूजले स्मार्टफोनका आपूर्ति शृङ्खला सम्बन्धित स्रोतहरूलाई उद्धृत गर्दै लेखेको एक समाचारअनुसार आईफोन सिक्स अगष्टमा लञ्च हुने सम्भावना बलियो छ । समाचारमा एप्पलले नयाँ उत्पादन बजारमा छिटो ल्याउन ताइवानी कम्पनीहरू भिजुअल फोटोनिक्स इपिट्याक्सी र लार्गन प्रिसिशनसँग पार्टपूर्जाहरू किनिसकेको उल्लेख छ ।
भिजुअल फोटोनिक्सले स्मार्टफोनमा प्रयोग हुने ‘वेफर’ उत्पादन गर्ने गर्दछ भने लार्गन प्रिसिशन मोबाइल फोनको क्यामरा लेन्स निर्माण गर्ने प्रमुख कम्पनीमध्येको एक हो । त्यसैगरी स्मार्टफोन निर्माण गर्ने ताइवानकै दुई कम्पनी फक्सकोन र पेगाट्रोनलाई पनि एप्पलले जुनको अन्त्यदेखि आईफोन सिक्सको एसेम्ब्ली शुरू गर्न सूचित गरिसकेको बताइएको छ । नयाँ स्मार्टफोन अघिल्ला उत्पादनहरूभन्दा ठूलो हुने बुझिएको छ ।
यसअघिका उत्पादनहरूको डिस्प्लेको आकार ४ इञ्चसम्म मात्रै भए पनि नयाँ आईफोन ४ दशमलव ७ इञ्चको स्क्रिनका साथ आउने छ । समाचारअनुसार कोरियाली प्रतिद्वन्द्वी सामसुङ र ताइवानी प्रतिस्पर्धी एचटीसीले एकपछि अर्को गर्दै ठूला आकारका फ्ल्यागशीप उत्पादनहरू बजारमा ल्याएपछि एप्पलले पनि आईफोन सिक्स चाँडै बजारमा ल्याउन लागेको हो । यसका साथै एप्पलले नयाँ आईफोनकै साढे ५ अथवा ५ दशमलव ६ स्क्रिन आकारको संस्करण यसअघि गरिएकै योजना मुताबिक सेप्टेम्बरमा ल्याउने पनि पत्रिकाले लेखेको छ । एएफपी/रासस












प्रतिक्रिया