रौतहट । पेट्रोल भन्दै रङ मिसाएको पानी बिक्री गर्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । पानीमा रङ मिसाएर बिक्रीका लागि राखिएको अवस्थामा १२ वटा बोतलसहित चन्द्रनिगाहपुर बजारका नवदुर्गा जनरल स्टोर्सका संचालक लक्ष्मी साह शनिबार पक्राउ परेका हुन् ।
उनको यो धन्दाबाट ठगिएका उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुरका महासचिव उदयनारायण सापकोटाले उजुरी गरेका थिए । साहसँग किनेको पेट्रोल हाल्दा सापकोटाको ना १८ प ८२१२ नम्बरको स्कुटर चल्नै छोडेपछि यसको रहस्य खुलासा भएको हो । साहले एक लिटरको एकसय ४५ रूपैयाँमा रङ मिसाएको पानी बिक्री गरेका थिए ।
उपभोक्तलाई ठगी गर्ने व्यापारीलाई कारबाहीको माग उपभोक्ता हकहित संरक्षण मञ्च रौतहटका सचिव टिका घिमिरले बताए । पक्राउ परेका साहले ग्राहकलाई देखाउनका लागि आफुले रङ मिसाएको पानी पेट्रोल जस्तै गराएर पसलमा राखेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
हिरासतमा रहेका साहलाई कालाबजारी अभियोग अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले बताएका छन् । स्थानीय होटल, किराना पसल , पान पसलमा पनि अवैधानिक रुपले पेट्रोलियम पदार्थ खुलेआम बिक्रीका लागि राख्ने गरिएको छ ।












प्रतिक्रिया