२८ आश्विन २०८३, बुधबार

पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FNJ-New-Team

काठमाडौँ। नेपाल पत्रकार महासंघको हालै सम्पन्न २४ औँ महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले आइतबार एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेको छ ।

पदभार ग्रहण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले संविधान निर्माणको अहिलेको अवस्थामा पु¥याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेकोले अब निर्माणको प्रक्रियालाई टुङ्गोमा पु¥याउन पनि सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो ।

समयमै संविधान निर्माणका लागि यसपटक कार्यतालिका फेरबदल नगर्ने अठोटका साथ लागि परेको बताउँदै उहाँले एकवर्षभित्रै संविधान बनाउने कामलाई सार्थकता दिन सञ्चारकर्मीले राजनीतिक नेतृत्वलाई घच्घच्याउनु पर्ने जिम्मेवारी रहेको बताउनुभयो ।

पटकपटकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अध्यक्ष नेम्बाङले महासंघको निर्वाचित नेतृत्व सबै पत्रकारको जित भएकाले देश तथा राजनीतिक दललाई लोकतान्त्रिक प्रक्रिया कसरी अपनाइन्छ भनेर व्यवहारमा बुझाउन सक्नुपर्ने खाँचो औँल्याउनुभयो ।

एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुनले नेपाली सञ्चार जगतको व्यवसायिक विकास तथा मोफसलमा मिडियाको व्यवसायिक दक्षता र सुरक्षाको सुनिश्चितता गर्न महासंघको नयाँ नेतृत्वको चुनौती रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले महासंघलाई समावेशी र सामूहिक सङ्गठनका रुपमा विकास गर्दै एकताबद्ध ढङ्गले जुझारु सङ्गठन बनाउन लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षालगायतका समस्याको समाधानका लागि तत्कालै सुधारका काम सुरु गर्ने बताउँदै महासङ्घले विगतका आन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न र समयमै प्रेसमैत्री संविधान निर्माण गर्न लागिपर्ने बताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष शिव गाउँलेले नयाँ नेतृत्वले श्रमजीवी पत्रकारको समस्या र उनीहरुको हितमा काम गर्नका लागि सम्झौतारहित भूमिका निर्वाह गर्दै राम्रो पत्रकारितालाई अघि बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

निवर्तमान उपाध्यक्ष यशोदा तिमल्सिनाले डा विष्ट नेतृत्वको महासङ्घको नयाँ टिम समावेशी र सक्षम रहेको भन्दै यसले आफ्नो कार्य कौशलतालाई व्यवहारमा पुष्टि गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।

महासंघको २४औँ महाधिवेशन, निर्वाचन समितिका संयोजक पत्रकार राजेन्द्रदेव आचार्यले निर्वाचनमा उम्मेदवारले प्रदर्शन गरेको कौशलताप्रति आभार प्रकट गर्दै स्वतन्त्र, निष्पक्ष र पारदर्शी पत्रकारिताका लागि महासंघले आफ्नो भूमिकालाई फराकिलो बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शिव गाउँलेले नवनिर्वाचित अध्यक्ष डा महेन्द्र विष्टलाई माइन्यूट (निर्णय पुस्तिका) हस्तान्तरण गर्नुभएको थियो भने नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा महासंघको भवन निर्माणमा सहयोग पु¥याएबापत पूर्व अर्थमन्त्रीसमेत रहनुभएका एमाओवादी नेता वर्षमान पुनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यही वैशाख २१ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न महासंघको २४औँ महाधिवेशनबाट ४५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो ।