२८ आश्विन २०८३, बुधबार

भट्टराईले बहिष्कार गर्दा दाहाल आश्चर्यचकित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Press-meet

काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेता डा. बाबुराम भट्टराईले केन्द्रीय समितिमा नबस्ने घोषणा गर्दा आफू आश्चर्यमा परेको बताउनुभएको छ ।

विराटनगरमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनको विषयमा जानकारी दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भट्टराईलाई पनि समेटेर लैजाने बताउनुभयो । दाहालले भन्नुभयो, “उहाँले त्यस्तो निर्णय गर्नुहोला भन्ने लागेको थिएन, तर त्यस्तो भइहाल्यो, आगामी दिनमा उहाँको भावनालाई समेटेर केन्द्रीय समिति विस्तार गर्ने र समेटेर लैजान प्रतिबद्ध छु ।”

नेता डा भट्टराई यतिबेला चीन भ्रमणमा रहनुभएको भन्दै दाहालले उहाँ फर्केपछि सांगठनिक समस्या समाधान गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताउनुभयो ।

गत साल सम्पन्न साताँै महाधिवेशनको कार्यादेशअनुसार पार्टीको केन्द्रीय समिति १५१ नै बनाउन लागिएको भन्दै सबै पक्ष, क्षेत्रलाई समेट्न सम्भव रहेको उहाँको धारणा थियो ।

सञ्चारकर्मीले राखेको एक जिज्ञासामा उहाँले नेता भट्टराईसँगको सम्बन्ध एकता, रुपान्तरण र संघर्षको प्रक्रियाबाट अगाडि बढेको छ भन्नुभयो ।

आफ्नै पार्टीबाट विभक्त भएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग पार्टी एकताको प्रक्रिया अगाडि बढेको भन्दै उहाँले राजनीतिक एजेन्डा र समयको मागले पनि दुई पार्टीलाई एक ठाउँमा उभ्याउने वातावरण बनेको हो, भन्नुभयो ।

“तत्कालै पार्टी एकता त नहोला तर विस्तारै एकताको प्रक्रिया अगाडि बढ्ला भन्नेमा म विश्वस्त छु, त्यसका लागि राजनीतिक विचार र सिद्धान्तसमेत मिल्नुपर्छ ।” अध्यक्ष दाहालले भन्नुभयो, “दुई पार्टीका बीचमा एकता प्रक्रिया अगाडि बढेपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले शान्ति र संविधान निर्माण प्रक्रियाबाट बाहिर जाला की भन्ने आशंका पालेर नकारात्मक प्रचार गरेको उहाँको टिप्पणी थियो ।

उहाँले शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्साका रुपमा रहेको आफ्नो पार्टी र नेकपा–माओवादीलाई माइनस गरेर अगाडि बढ्न खोजिए त्यो आफूहरुका लागि कुनै पनि हालतमा स्वीकार्य नरहेको बताउनुभयो ।

राष्ट्रिय सम्मेलनले पूर्व केन्द्रीय सदस्य र अन्य आवश्यक साथीसमेत अटाउने गरी राष्ट्रिय परिषद् बनाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाको एउटा पक्षका हैसियतले संविधान निर्माण प्रक्रिया आफ्नो पार्टीको महत्वपूर्ण एजेन्डा भएको बताउनुभयो ।

एमाओवादीलाई संविधान निर्माण प्रक्रियाको अवरोधका रुपमा चित्रण गर्न खोजिएकामा आपत्ति प्रकट गर्दै उहाँले त्यस्तो प्रचार गर्नेहरुले मुलुकको आवश्यकता र चाहनालाई आत्मसाथ गर्न नसकेको धारणा राख्नुभयो ।

आफ्नो पार्टीमा कुनै पनि वैचारिक तथा सैद्धान्तिक विवाद नरहेको जिकिर गर्दै उहाँले राष्ट्रिय सम्मेलनले अगाडि सारेको नीति तथा कार्यक्रम सबैको सहमतिमा एकमतले पारित गरेको दाबी गर्नुभयो ।

राजनीतिक तथा सैद्धान्तिक रुपमा पार्टीमा विवाद नभएका कारण पछिल्लो दिनमा देखिएको विवाद समाधान हुनेमा आफू आशावादी रहेको भन्दै उहाँले मुलुकको आवश्यकता र जनताको चाहना पनि कम्युनिस्ट पार्टी र घटकको बीचमा एकताको जरुरी रहेको छ, भन्नुभयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनले पारित गरेका विभिन्न राजनीतिक एजेन्डासमेत वाचन गरेर सुनाइएको थियो ।