२८ आश्विन २०८३, बुधबार

गिद्धको जन्मले ल्यायो खुसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती । निःसन्तान जोडीलाई बच्चा जन्मदा कम्तीको खुसी हुँदैन । खुसीको सीमा नाघेको हुन्छ ।

त्यस्तै खुसी भएका छन् गिद्ध प्रजनन केन्द्र कसराका कर्मचारी । पाँच वर्षदेखि गिद्ध हुर्काएका यहाँका कर्मचारी गिद्धले चल्ला कोरलेपछि खुसीले रमाएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्ज कसराका कर्मचारीमा अरु दिनभन्दा गिद्धले अन्डाबाट बच्चा कोरल्दा बढी खुसी देखिन्थ्यो । पछिल्लो समय गिद्धको सङ्ख्या घटेर लोप हुने अवस्थामा रहेकाबेला पहिलोपटक अघिल्लो महिना प्रजनन केन्द्रमा बच्चा कोरल्दा उनीहरुमा खुसी ल्याएको हो ।

घरपालुवा पशुमा उपचारका लागि प्रयोग गरिने ‘डाइक्लोफेनक’ नामक औषधि खुवाएका पशुको मृत्युपछि त्यस्तो प्रकारको सिनो खाएका गिद्धको मिर्गाैलाले काम गर्न छाड्दा गिद्धको मृत्यु भएको अध्ययनबाट देखिएपछि यो प्रजातिको रक्षाका लागि निकुञ्ज, कसरामा प्रजनन केन्द्र स्थापना गरेको सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले बताउनुभयो ।

सन् २००८ मा १४ वटा डङ्गर गिद्धका बच्चा कास्कीको हेम्जाबाट ल्याइएको थियो । दोस्रो चरणमा रुपेन्देही, कपिलवस्तु र दाङबाट ३० वटा र तेस्रो चरणमा २० वटा गिद्धका बच्चा ल्याएर पालिएको छ । हाल ५७ वटा गिद्ध यो प्रजनन केन्द्रमा छन् । केही गिद्ध जुकाका कारण मरे । त्यसपछि नियमित स्वास्थ्य जाँच थालिएको पशु चिकित्सक नवरत्न प्रधानले बताउनुभयो ।

dangar giddha

यसरी पालिएका गिद्धको जोडीमध्ये एक जोडीले अन्डाबाट बच्चा कोरल्न सफल भएको हो । यो नेपालको पहिलो गिद्ध प्रजनन केन्द्र हो । अन्डा पारेको ६१ दिनमा यो जोडीले बच्चा कोरलेको थियो । यिनीहरुलाई राँगाको मासु खुवाएर पालिने गरिएको छ ।

बजारबाट ल्याएको राँगा एक महिनासम्म निगरानीमा राख्ने अनि काटेर टुक्रा बनाएर खुवाउने गरेका छौँ सूचना अधिकारी पौडेलले भन्नुभयो, “औषधिको प्रभाव घटाउन एक महिनापछि पाठो खुवाउँछौँ ।”

पाँच वर्ष पूरा गरेको यो प्रजनन केन्द्रमा गत वर्षदेखि गिद्धले अन्डा पार्न थालेका छन् । सुरुको वर्ष अन्डा भुइँमा पा¥यो ओथारो बसेन ।

यस वर्ष ‘मचिया’ बनाउने काम भएकाले एक जोडीले बच्चा कोरल्यो । गत वर्ष पाँच गिद्धले अन्डा पारेका थिए भने यसपटक नौ गिद्धले अन्डा पारेका छन् । वर्षको एकपटक नोभेम्बरदेखि जनवरीसम्ममा गिद्धले अन्डा पार्ने गरेको छ ।

गुँड भरपर्दो नहँुदा चल्ला कोरल्नमा समस्या देखिएको हो । माथिबाट गिद्धले छोपे पनि तलबाट तापक्रम नमिल्दा सबै अन्डाबाट चल्ला कोरल्न सकेन ।

गिद्धको हेरचाहमा एक जना पशु चिकित्सकसहित चार जना सहयोगी रहेका छन् । सहयोगीले आहार र सरसफाइका काम गर्दछन् ।

चिकित्सकको पनि दैनिक निगरानी हुने गरेको छ । रञ्जन चौधरी गिद्धले खाए नखाएको अवस्थाको निगरानीमा दैनिकी बिताउने गरेका छन् । गिद्धको निगरानी ‘सिसिटिभी’बाट गरिन्छ । एउटा सिङ्गो राँगालाई चार भाग बनाएर गिद्धलाई दिने गरिन्छ । त्यो एक घन्टामा उनीहरुले सक्ने गरेका छन् ।

मान्छे बाँच्न गिद्ध संरक्षण हो प्रकृतिको संरक्षण नहँुदा मानव संरक्षणमा चुनौती बढेकाले मान्छेकै लागि गिद्धको सङ्ख्या बढाउनुपर्छ सहायक संरक्षण अधिकृत वेद खड्काले भन्नुभयो, “गिद्धको सङ्ख्या वृद्धि गर्नु अपरिहार्य छ त्यसका लागि पहल भएको हो ।”

नेपाल पक्षी सङ्घ, प्रकृति संरक्षण कोष, निकुञ्जको प्राविधिक पक्ष र दातृ निकायको सहयोगमा गिद्ध प्रजनन केन्द्र सञ्चालनमा रहेको छ । ठूलो लगानी भए पनि सफलता कमजोर रहेको छ । स्याहारसुसारसँगै गिद्धको भावना बुझ्न कठिन छ चौधरीले भन्नुभयो, “अरु पक्षीजस्तो यिनीहरु मान्छेसँग रत्तिँदैनन् ।” रासस